घण्टेश्वर अनलाईन
अर्भिङ, टेक्सास
नेपाली समाज टेक्सासको आयोजनामा टेक्सासको अर्भिङमा फुटबल खेल सम्बन्धि एक महिना लामो किड्स समर क्याम्प शुरु भएको छ । नेपाली समुदायका बालबालिकाहरुलाई फुटबल सिकाउने उद्देश्यले आयोजना गरिएको एनएसटी किड्स समर क्याम्पमा ४ देखि १५ बर्ष उमेर समुहका १६ जना बालबालिकाहरु सहभागि रहेको छ ।
नेपाली समुदायका बालबालिकाहरुलाई फुटबल खेल प्रति आकर्षित र प्रोत्साहित गर्न किड्स समर क्याम्प सन्चालन गरिएको नेपाली समाज टेक्ससका खेलकुद संयोजक निलेश श्रेष्ठले बताए । खेलकुद संयोजक श्रेष्ठका अनुसार एनएसटी किड्स समर क्याम्प रुम्बा एकेडेमी र डीएफडब्ल्यू हिमालयससंगको सहकार्यमा सन्चालन गरिएको हो ।
किड्स समर क्याम्पमा पाँच बर्ष भन्दा लामो फुटवल प्रशिक्षकमा अनुभवी सञ्जय रुम्बा तामाङ प्रमुख प्रशिक्षक रहेका छन । तामाङसंग यूएसएस नेशनल डी लाइसेन्स (२०२३) र यूएसएस ग्रासरूट्स लाइसेन्सका साथै सेमी–प्रोफेसनल खेल अनुभव रहेको नेपाली समाज टेक्सासले जनाएको छ ।
किड्स समर क्याम्प हरेक साताको आईतबार र मंगलबार बेलुकी ५ः३० देखि ६ः३० सम्म संचालन हुने छ । क्याम्पमा फुटबलको आधारभूत जानकारी, खेलका अनुशासन तथा अभ्यास खेल खेलाइने गरि पाठ्यक्रम निर्माण गरिएको छ ।
हाल नेपाली समुदायका १६ जना बालबालिकाहरु प्रशिक्षणमा सहभागि भएको र प्रशिक्षणमा बालबालिकाहरु थपिने क्रम जारी रहेको खेलकुद सँयोजक श्रेष्ठले जानकारी दिए । नेपाली समाज टेक्सासले अमेरिकामा जन्मेका र हुर्केका बालबालिकाहरुलाई केन्द्रीत गरेर बिभिन्न शिक्षामूलक क्याम्पहरु सन्चालन गर्दै आएको छ ।