घण्टेश्वर अनलाईन
ड्यालस, टेक्सास
टेक्सासको ड्यालस अर्भिङ क्षेत्रमा सकृय नेपालीहरुको सँस्था अरभिङ्ग एभरेष्ट सेण्टेनियल लायन्स क्लबले नेपालका दुई जना क्यान्सर पीडित बालबालिकालाई आर्थिक सहयोग गरेको छ ।
नेपालमा क्यान्सर भएको पत्ता लागेका दुई जना बालबालिकालाई जम्मा एकलाख रुपयाँ सहयोग गरिएको क्लबले जनाएको छ । केही समय देखि बोन म्यारो क्यान्सर पीडित काठमाण्डौं निवासी साढे दुई बर्षिय बालक रेव्यान खड्गीलाई रु ५० हजार र ब्लड क्यान्सरसँग लडिरहेका सिन्धुपाल्चोक निवासी १० वर्षिय बालिका दृष्टि बोहरालाई रु ५० हजार सहयोग रकम हस्तान्तरण गरिएको क्लबका अध्यक्ष राजेन्द्र कुँवरले बताउनु भयो । दुबै जना बालबालिकाहरुको अहिले काठमाण्डौंमा उपचार भईरहेको छ ।
क्लबका अनुसार लायन्स क्लब इन्टरनेशनलले कार्य गर्ने प्रमुख आठ क्षेत्रहरु मध्ये बच्चाहरुमा हुने क्यान्सर उपचार तथा सचेतना कार्यक्रम पनि रहेकाले क्यान्सर पीडित बालबालिकाहरुलाई आर्थिक सहयोग गरिएको हो । क्लबका लायन जेन श्रेष्ठले सहयोगका लागि नेपालमा पीडितहरूसँग समन्वय गरेका थिए ।
क्लबले गत मार्चमा कोलेरेक्टर क्यान्सर सचेतना महिनाको अवसरमा कमल शर्मा फाउन्डेसन समेतको सहयोग र सहभागितामा उक्त रकम सँकलन गरेको थियो । क्यान्सर अहिले प्रमुख स्वास्थ्य समस्याको रुपमा देखा पर्दै गएकाले आगामी दिनमा क्यान्सर पीडितलाई सहयोग र सचेतना कार्यक्रमलाई क्लबले प्राथमिकता दिने क्लबका प्रथम उपाध्यक्ष तथा आर्थिक बर्ष २०२४–२०२५ का अध्यक्ष रबिन पाठकले जानकारी दिनु भयो ।