लोकतन्त्रको स्थायित्वका लागी राष्ट्रिय एकता र मेलमिलाप आवश्यक

All time tax

घण्टेश्वर अनलाईन
टेक्सास, अमेरिका
अमेरिकाको टेक्सासमा रहेका नेपाली समुदायका अगुवाहरुले राष्ट्रिय एकता र मेलमिलापको माध्यमबाट लोकतन्त्रको स्थायित्व हुने धारणा व्यक्त गरेका छन ।
४२ औं बीपी स्मृति दिवसको अवसर पारि नेपाली जनसम्पर्क समिति अमेरिका ड्यालस फोर्टवर्थ च्याप्टरद्वारा आईतबार युलेशमा आयोजना गरिएको बीपीको मेलमिलाप नीति र यसको सान्दर्भिकता विषयक अन्तरक्रिया कार्यक्रममा सहभागिहरुले नेपालमा राजनैतिक अस्थिरता भएको बेला बीपीको राष्ट्रिय एकता र मेलमिलापको नीति अनुसार अघि बढ्न आबश्यक भएको धारणा व्यक्त गरे ।

उक्त अवसरमा बोल्ने बक्ताहरुले बीपीको राष्ट्रिय एकता र मेलमिलापको नीति केवल कांग्रेसको लागि नभई राष्ट्रका लागि भएको समेत जिकिर गरे । व्यक्ति, परिवार र पार्टी भन्दा माथी राष्ट्र रहेकाले राष्ट्रियता, प्रजातन्त्र र जनताका सवालमा राष्ट्रिय शक्तिहरु एकताबद्ध भएर उभिनु पर्नेमा सहभागिहरुको जोड थियो ।
कार्यक्रममा बोल्दै नेपाली काँग्रेस महोत्तरीका सभापति तथा पूर्ब साँसद सीताराम भण्डारीले जननायक बीपी कोईरालाको बहुआयामिक व्यक्तित्वको बारेमा चर्चा गर्दै राष्ट्रिय एकता र मेलमिलापको नीति नयाँ पुस्ताले अनुशरण गर्नु पर्ने बिचार व्यक्त गर्नु भयो ।  नेपाली काँग्रेस र नेकपा (एमाले) बीचको सहकार्य राष्ट्रिय आबश्यकता रहेको बताउँदै नेता भण्डारीले राष्ट्रिय एकता र मेलमिलापको नीति अनुसार मुलुकमा राजनैतिक स्थिरता दिनु पर्ने बिचार व्यक्त गर्नु भयो ।
नेपाल ट्रेड युनियन कांग्रेसका पूर्ब महासचिब तथा पूर्ब साँसद अच्युत पाण्डेले मुलुकमा संकट आएको बेला जहिले पनि बीपीको राष्ट्रिय एकता र मेलमिलापको नीतिको आबश्यकता खड्किने बताउँदै बर्तमानमा पनि यसको सान्दर्भिकता रहेको बताउनु भयो । राष्ट्रिय एकता र मेलमिलापको अभावमा ब्यवस्था परिबर्तन भएपनि जनताको अवस्थामा परिबर्तन हुन नसकेको कांग्रेस नेता पाण्डेको भनाई थियो ।
यसै गरि नेपाल प्राध्यापक संघका पूर्ब अध्यक्ष तथा लुम्बिनी प्रदेश सरकारका पूर्ब महान्यायाधिबक्ता बुद्धबहादुर थापाले बीपी कोईराला दूरदर्शी राजनेता भएको र ब्यक्ति, परिवार र पार्टी भन्दा माथी देश र जनतालाई राख्नु नै बीपीको राष्ट्रिय एकता र मेलमिलापको नीतिको मुख्य सन्देश भएको बताउनु भयो ।
नेपाली काँग्रेसका नेता हरिवोल भण्डारीले बीपीको एकता र मेलमिलापको नीतिलाई प्रवासमा पनि सदुपयोग गर्न सकिने धारणा व्यक्त गर्नु भयो । टेक्सासको ड्यालसमा नेपाल सरकारको कन्सुलर अफिस स्थापनाको लागि लामो समय देखि पहल भएको बताउँदै टेक्सासमा रहेका नेपाली समुदायका सबै सँस्थाहरुले एकताबद्ध भएर पहल गर्ने हो भने कन्सुलर अफिस स्थापना गर्न सकिने भण्डारीको जोड थियो ।
गैरआवासीय नेपाली संघ अमेरिकाका बरिष्ठ उपाध्यक्ष बिकास उप्रेती र उपाध्यक्ष भानु खरेलले बीपी कोईराला व्यक्ति एक ब्यक्तित्व अनेक भएको बताउँदै प्रवासी नेपालीहरुको हितको लागि गरिने सबै कामको लागि गैरआवासीय नेपाली संघ अमेरिका नेतृत्व गर्न तयार रहेको बताउनु भयो ।
प्रवासी नेपाली मन्च अमेरिकाका संस्थापक जनक रानाले योजना बनाउँदा बीपी कोईराला नेपाली कांग्रेका लागि मात्र नभएर सबैका प्रेरणादायी नेता भएको धारणा ब्यक्त गर्नु भयो ।
नेपाली समाज टेक्सासका अध्यक्ष राजेन्द्र वाग्लेले बीपीको मेलमिलाप नीतिलाई नेपाली जनताको पक्षमा उपयोग गर्न सकिने धारणा व्यक्त गर्दै ड्यालसमा नेपाल सरकारको कन्सुलर अफिस स्थापनाको लागि साझा पहलको खाँचो रहेको बताउनु भयो ।
नेपाली जनसम्पर्क समिति ड्यालस फोर्टवर्थ च्याप्टरका अध्यक्ष ज्ञानेन्द्रराज कार्कीको अध्यक्षता तथा श्रद्धा अधिकारीको सन्चालनमा सम्पन्न उक्त कार्यक्रममा नेपाली जनसम्पर्क समितिका नेता भरत अर्याल, सुन्दर कर्माचार्य, राजेन्द्र सेन्चुरी, पुष्पलता भण्डारी, सुदूरपश्चिम नेपाली समाजका अध्यक्ष गगन केसी, समाजसेवी थलराज पन्त, डा. भोजबहादुर बलायर, नेपाल शिक्षक संघका नेता कृष्ण प्रसाई लगायतका बक्ताहरुले बीपी कोईरालाको राष्ट्रिय एकता र मेलमिलापको नीतिको बिशेषता र बर्तमानमा यसको सान्दर्भिताका वारेमा आफ्नो बिचार व्यक्त गर्नु भएको थियो ।

 

Leave A Reply

Your email address will not be published.