Prem

टेक्सासको ड्यालस र अस्टिनमा जनै पूर्णिमा उल्लासपूर्ण रूपमा मनाइयो

घण्टेश्वर अनलाईन
ड्यालस टेक्सास
अमेरिकाको टेक्सासमा यस बर्षको जनैपूर्णिमा निकै उल्लासपूर्ण रुपमा मनाईएको छ । टेक्सासको ड्यालस र अस्टिनमा रहेका पशुपतिनाथ मन्दिरमा बिहान ८ बजे देखि नै रक्षाबन्धन (डोरो) बाँध्ने, जनै फेर्नेहरुको भीड लागेको थियोे ।
टेक्सासको ड्यालस स्थित पशुपतिनाथ मन्दिरमा दर्शन गर्न तथा रक्षाबन्धन ग्रहणको लागि भक्तजनहरु बिहान ७ बजे देखि नै लाईनमा बसेका थिए । सोमबार बेलुकी ८ बजेसम्म करिब ६ हजार बढीले मन्दिरमा दर्शन तथा रक्षाबन्धन ग्रहण गरेको पशुपतिनाथ मन्दिरका मूल पुजारी मेघनाथ निरौलाले जानकारी दिनु भयो ।
दर्शनार्थीहरुको भिड व्यवस्थापन गर्न स्वयंसेवकको रुपमा नेपाली समाज टेक्सासका पदाधिकारी सदस्यहरु बिहानै देखि खटिएका थिए । मन्दिर दर्शन, जनै फेर्ने र रक्षाबन्धन ग्रहणको लागि नेपाली साँस्कृतिक तथा अध्यात्मिक केन्द्रले १० जना पुरोहित (पण्डित) हरुको व्यवस्था मिलाएको थियो ।
बिगतका बर्षभन्दा व्यवस्थापन पूर्ब तयारी राम्रो भएको कारण भक्तजनहरुलाई मन्दिर दर्शन तथा रक्षाबन्धन ग्रहण गर्न निकै सहज भएको दर्शनार्थी हरिष उपाध्यायले बताए ।
जनैपूर्णिमाको अवसरमा नेपाली साँस्कृतिक तथा अध्यात्मिक केन्द्रले सबै भक्तजनहरुलाई प्रसादको रुपमा खिर र क्वाँटीको व्यवस्था मिलाएको थियो ।
यसैगरि टेक्सास राज्यको राजधानी (केन्द्र) अस्टिनमा पनि जनैपूर्णिमा तथा रक्षाबन्धन मनाईएको छ । अस्टिन स्थित पशुपतिनाथ मन्दिरमा सोमबार ५ सय बढी दर्शनार्थीहरुले दर्शन गर्नुका साथै जनै तथा रक्षाबन्धन ग्रहण गरेको ग्रेटर अस्टिन नेपाली समाज अस्टिनका उपाध्यक्ष अशोक शाहीले जानकारी दिनु भयो ।
टेक्सासको ड्यालसमा बिगत एक दशक अघि देखि पशुपतिनाथ मन्दिरमा श्रावण शुक्ल पूर्णिमाका दिन जनैपूर्णिमा सामुहिक रुपमा मनाउने गरिएको छ ।

 

Leave A Reply

Your email address will not be published.