Prem

अमेरिकामा गौरा पर्बको रौनक शुरु, उत्सबको रुपमा मनाईदै

घण्टेश्वर अनलाईन
ड्यालस, टेक्सास
गैरा पर्ब सुदूरपश्चिमेली समुदायको प्रमुख साँस्कृतिक चाड हो । यतिबेला सुदूरपश्चिम प्रदेशमा गौरा पर्बको रौनक शुरु भईसकेको छ । सुदूरपश्चिमेलीहरु भौतिक रुपमा जहाँ भएपनि गौरा पर्बलाई मनाउन छाडेका छैनन ।
अमेरिकामा बसोवास गर्ने सुदूरपश्चिमेली समुदायलाई गौरा पर्बको तयारी गर्न भ्याई नभ्याई छ । अमेरिकामा रहेका सुदूरपश्चिमेलीहरुले यस बर्षको गौरा पर्बलाई उत्सबको रुपमा मनाउने भएका छन । अमेरिकाको न्यूयोर्क, मेरिल्याण्ड र टेक्सासमा यही भदौ ९ गते (अगस्ट २५) का दिन गौरा महोत्सब आयोजना गर्न लागेका हो । राज्य स्तरमा स्थापना भएका सुदूरपश्चिम नेपाली समाजहरुको अगुवाईमा गौरा उत्सब कार्यक्रमको तयारी गरिएको छ ।
सुदूरपश्चिम प्रदेशमा साताव्यापी रुपमा मनाउने गरिएपनि अमेरिकाको न्यूयोर्क, मेरिल्याण्ड र टेक्सासमा एक दिन उत्सबको रुपमा मनाउन लागिएको मेरिल्याण्डका समाजसेवी तथा समाजका पूर्ब अध्यक्ष दमनबिक्रम शाहले बताउनु भयो ।
समाजसेवी शाहका अनुसार सुदूरपश्चिमेलीको बसोवास रहेका हरेक राज्यमा गौरा देबीको पूजाआजा गर्ने, गौरा देबीको प्रसाद बितरण गर्ने लगायतका कार्यक्रम त हुन्छन नै, तर सुदूरपश्चिमेलीको बढी बसोबास रहेका मध्य न्यूयोर्क, मेरिल्याण्ड र टेक्सासमा उत्सबको रुपमा गौरा पर्ब मनाउन लागिएको हो ।
आयोजकका अनुसार गौरा महोत्सबको दिन सुदूरपश्चिमको प्रमुख बाजा दाईन, दमाहा, झ्याली सहित साँस्कृतिक झाँकीहरुको प्रदर्शनी, डेउडा, छलिया, हुड्केली तथा गौरा नाचका साथै सुदूरपश्चिमका चर्चित कलाकारहरुको प्रस्तुती रहने छ ।
टेक्सास राज्यमा भौगोलिक बनावटका अनुसार ड्यालस र अस्टिन गरि दुई स्थानमा गौरा उत्सब कार्यक्रमको आयोजना गरिने छ । सुदूरपश्चिम नेपाली समाज टेक्सासका अध्यक्ष गगन केसीका अनुसार गौरा महोत्सवमा गौरादेबीको पुजाआजा, बिभिन्न साँस्कृतिक झाँकीहरुको प्रदर्शनी, डेउडा खेल, छलिया तथा हुड्केली नाच तथा सुदूरपश्चिमका चर्चित कलाकार नन्दकृष्ण जोशी, शंकरसिंह बिष्ट लगायतका कलाकारहरुको प्रस्तुती रहने छन ।
सुदूरपश्चिममा भएका पौराणिक सभ्यतामध्ये गौरा सभ्यता सबैभन्दा प्राचीन मानिन्छ । गौरा पर्ब सुदूरपश्चिम प्रदेशको बिशेष पर्ब भएकाले सुदूरपश्चिमेलीहरुले जहाँ भएपनि गौरा पर्बलाई महत्वका साथ मनाउँदै आएका छन । अमेरिकामा बिभिन्न स्थानमा रहेका सुदूरपश्चिमेलीहरुलाई एकै स्थानमा जम्मा गरेर गौरा पर्ब मनाउदा सँस्कृतिको संरक्षण हुने सुदूरपश्चिमेली अगुवाहरुको धारणा रहेको छ । प्रवासमा गौरा पर्ब मनाउँदा सुदूरपश्चिमको कला सँस्कृतिको सँरक्षणमा टेवा पुग्नुका साथै अमेरिकामा जन्मेका र हुर्केका नयाँ पुस्तामा संस्कृति पुस्तान्तरण हुने सुदूरपश्चिम नेपाली समाज न्यूयोर्कका पूर्ब अध्यक्ष रामबहादुर देउवा बताउनु हुन्छ ।

महादेव वर पाउन देवी पार्वतीले गरेको कठिन तपस्या र व्रतको सम्झना गर्दै सुदूरपश्चिममा पौराणिककालदेखि मनाइँदै आएको पर्वका रुपमा गौरालाई लिइन्छ । गौरा विसर्जन गरिने मठ मन्दिरमा भाद्र सङ्क्रान्तिका दिन पुरुष जम्मा भएर देवी–देवताको ठाडो (डेउडा) खेल लगाउँदै गौरापर्व शुरु भएको सन्देश दिने गरिन्छ । पञ्चमीका दिन महिलाले सामूहिक रुपमा बिरुडा (५ प्रकारका अन्न मिसाएर बनाइने) स्थानीय जलाशयमा गएर भिजाउने, अर्को दिन परम्परागत कुवाँ र नाउलामा गौरा पुज्ने र अमुक्ताभरण सप्तमीका दिन गौरा भित्र्याउने चलन छ । एक साता मनाइने गौरापर्व धार्मिक मात्र नभएर सुदूरपश्चिमको सांस्कृतिक र सामाजिक महत्व बोकेको प्रमुख पर्व भएको टेक्सासको अस्टिनका समाजसेबी भोजराज भट्टको धारणा रहेको छ ।
एकातिर देवीदेउताका चैत, फाग, धुमारी, ठाडो खेल र डेउडा गाएर धार्मिक लोककाव्य जीवन्त राख्ने परम्परा छ  भने अर्कोतिर नेपाल एकीकरणका वीरगाथा डेउडाका रूपमा गाएर राष्ट्रिय एकतालाई पनि गौरा पर्वले संरक्षण गरेको हुन्छ । सामाजिक अनुशासन, धार्मिक अनुशासनसँगै पारिवारिक अनुशासनसँग पनि पर्वको महत्व जोडिएको छ, “रामायणकाल, महाभारतकाल र आधुनिक कालखण्डलाई जोड्ने गौरापर्वले विगतलाई सम्झिने, वर्तमान र भविष्यलाई सुखद बनाउने लक्ष्यअनुरूप मनाउने गरेको पाइन्छ ।”

Leave A Reply

Your email address will not be published.