घण्टेश्वर अनलाईन
ड्यालस, टेक्सास
अमेरिकामा रहेका सुदूरपश्चिमेलीहरुले यस बर्षको गौरापर्ब उत्साहपूर्बक मनाएका छन । अमेरिकाको न्यूयोर्क, मेरिल्याण्ड र टेक्सासमा रहेको सुदूरपश्चिमेलीहरुले उत्सबका रुपमा गौरा पर्ब मनाए । टेक्सासको ड्यालस र अस्टिनमा सुदूरपश्चिमेलीहरुले आयोजना गरेको गौरा पर्ब कार्यक्रममा सुदूरपश्चिमका बरिष्ठ तथा चर्चित कलाकार नन्दकृष्ण जोशी र शँकरसिंह बिष्ठले बिभिन्न प्रस्तुती मार्फत उत्साह थपेका थिए । हरेक बर्ष टेक्सासमा आयोजना गरिने गौरा पर्ब कार्यक्रमले मातृभूमि सुदूरपश्चिमलाई सम्झाउने गरेको प्रतिकृया दिएका थिए ।
सुदूरपश्चिम नेपाली समाज टेक्सासले ड्यालस र अस्टिनमा आयोजना गरेको गौरा पर्ब कार्यक्रममा बालबालिका देखि बृद्धबृद्धाहरु सहभागि भएका थिए । उक्त अवसरमा सुदूरपश्चिमको प्रसिद्ध बाजाहरु दाईन दमाह, झ्याली तथा झाँकी सहित गौरालाई नचाउदै पशुपतिनाथको मन्दिर परिक्रमा गराईएको थियो । यसै गरि गौरा पर्ब कार्यक्रममा गौरादेबीको पूजाआजा गरिनुका साथै सुदूरपश्चिमको चर्चित र प्रसिद्ध गौरा नाच, छलिया, हुड्केली तथा डेउडा नाच प्रस्तुत गरिएको थियो । गौरा पर्बमा सहभागि सुदूरपश्चिमेलीहरु त्था अबलोकन गर्न आएका अन्य अतिथीहरुले पनि धित मरिन्जेल डेउडा खेलेका थिए । सुदूरपश्चिमको मौलिक पोशाक घाँघ्रा, छलिया तथा हुड्के पोशाकमा युवा युवतीको नृत्य कार्यक्रमको मुख्य आकर्षण थियो । नेपाली साँस्कृतिक तथा अध्यात्मिक केन्द्रको सभाकक्ष युलेशमा आयोजना गरिएको गौरा पर्ब कार्यक्रममा नेपाली साँस्कृतिक तथा अध्यात्मिक केन्द्रका अध्यक्ष सीता सापकोटा, नेपाली समाज टेक्सासका महासचिब बिजय भुसाल, युलेश सिटीका उप मेयर टीका पौडेल, सुदूरपश्चिम नेपाली समाज टेक्सासका पूर्ब अध्यक्ष भक्तबहादुर भण्डारीले गौरा पर्बको अबसरमा शुभकामना दिदै प्रवासमा नेपाली भाषा सँस्कृतिको सँरक्षण तथा पुस्तान्तरण गर्नु पर्ने आबश्यकतामा जोड दिएका थिए ।
उक्त अवसरमा सन २०२४ मा बिधा बारिधी गर्ने सुदूरपश्चिमेलीहरु डा. भोजबहादुर बलायर र डा. पृथ्बीदेब अवस्थीलाई सम्मान गरिएको थियो । यसै गरि सुदूरपश्चिम नेपाली समाज टेक्सासलाई बिभिन्न समयमा सहयोग गर्ने नेपाली समाज टेक्सास, नेपाली साँस्कृतिक तथा अध्यात्मिक केन्द्र तथा अन्य बिभिन्न ब्यक्तिहरुलाई मायाको चिनो सहित सम्मान गरिएको थियो ।
सुदूरपश्चिम नेपाली समाज टेक्सासका अध्यक्ष गगन केसीको अध्यक्षतामा भएको गौरा पर्ब कार्यक्रममा उपाध्यक्ष नवराज भट्टले कार्यक्रममा सहभागि सबैलाई स्वागत गर्नु भएको थियो ।