घण्टेश्वर अनलाईन
लस एन्जल्स, क्यालिफोर्निया
यस बर्षको तीज पर्ब क्यालिफोर्नियाको लस एन्जल्सबासी नेपाली समुदायले धुमधामका साथ मनाएका छन । सुदूर पश्चिम समाज लस एन्जल्सको आयोजनामा भएको तीज कार्यक्रममा सुदूरपश्चिमेलीहरुसंगै नेपालीहरु एकै स्थानमा जम्मा भएर तीज गीत तथा डेउडा गीतमा छमछमी नाचे । रमाईलो गरे र नेपालको झल्को मेट्ने प्रयास गरेका थिए । कार्यक्रम गत सेप्टेम्बर ४ मा ईन्डियन कुजिन, डाईमनबारमा आयोजना गरिएको थियो ।
सुदूर पश्चिम समाज लस एन्जल्सले हरेक बर्ष लसएन्जल्सबासी नेपाली महिलाहरुलाई एकै स्थानमा जम्मा गराएर तीज कार्यक्रम आयोजना गर्दै आएको छ । लसएन्जल्समा आयोजना हुने तीज कार्यक्रममा सुदूरपश्चिमेलीको डेउडा खेल बिशेष आकर्षण हुने गर्दछ ।
हिन्दु नेपाली महिलाहरुको साँस्कृतिक पर्ब तीजमा प्रवासमा रहेका नेपालीहरु नाचगान गरेर बर्षभरिको शारीरिक तथा मानसिक थकान मेट्ने प्रयास त गर्छन नै । त्यसमा पनि बिदेशमा जन्मिएका र हुर्किएका नयाँ पुस्तालाई नेपाली कला सँस्कृति हस्तान्तरण गर्न तीज कार्यक्रमको महत्वपूर्ण भूमिका रहने लसएन्जल्सका समाजसेवी हेमबहादुर ठकुल्ला बताउँछन ।
उक्त तीज कार्यक्रममा सामुहिक तीज तथा डेउडामा नाचगानका अतिरिक्त बिभिन्न महिलाहरुको समूहले तीज गीत प्रस्तुत गरेका थिए । बुऊमोन्टबाट एलिसा मल्ल(बिस्ट) र अनुपा भण्डारी, ईस्टभेलबाट कल्पना बोगटी,अन्जना सुबेदी र अञ्जना सपना मुडबरी तथा कोविनाबाट खुश्बु थापा र रन्जु धमलाले तीज गीतमा नृत्य प्रस्तुत गरेका थिए । यस्तै पमोनाबाट राधा धामी, भजन बोहरा, प्रेरणा भुल, कल्पना भुल, पार्वती बिस्ट र हिना बिस्टले तीज गीत प्रस्तुत गरेका थिए ।
सुदूर पश्चिम समाज लस एन्जल्सका अध्यक्ष कर्णबहादुर चन्दको अध्यक्षतामा सम्पन्न तीज कार्यक्रममा बोल्दै प्रमुख अतिथी नेपाल सरकारका अबैतनिक महाबाणिज्य दूत ऋषि ढकालले तीज नेपालीहरुको मौलिक पर्ब भएकाले यो पर्बले प्रवासी नेपालीहरुलाई नेपालसंग जोड्न सहयोग गर्ने बिचार व्यक्त गर्नु भयो ।
यसै गरि सुदूर पश्चिम समाज लस एन्जल्सकी महिला नेत्री तथा पद्म कन्या क्याम्पसकी भू.पू स्वबियू सभापति टिका चौधरीले प्रवासमा तीज पर्बको महत्वको वारेमा आफ्नो धारणा राखेकी थिईन ।
समाजकी जेष्ठ सदस्य मुनादेबी रिमालले पानसमा बत्ति बालेर उद्घाटन गर्नु भएको उक्त कार्यक्रममा समाजकी उपाध्यक्ष खेमु रेग्मीले स्वागत गर्नु भएको थियो ।