घण्टेश्वर अनलाईन
टेक्सास, अमेरिका
बिभिन्न जटिल रोगहरुबाट पीडित भई आर्थिक अभाबका कारण उपचारमा कठिनाई भोगिरहेका डोटीका ३ जना बिरामीहरुलाई अमेरिकामा बसोवास गर्ने नेपालीहरुले ३ लाख २० हजार आर्थिक सहयोग गरेका छन ।
नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द बिष्टको पहलमा अमेरिकाको न्यूयोर्क तथा टेक्सासमा बसोवास गर्ने सुदूरपश्चिमेली तथा अन्य सहयोगी नेपालीहरुबाट सँकलन गरिएको थियो । उक्त सहयोग रकम सम्बन्धित बिरामीलाई हस्तान्तरण गरिएको सभापति बिष्टले बताउनु भयो ।
नेपाली काँग्रेसका नेता तथा नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द बिष्टका अनुसार संकलन गरिएको सहयोग रकम मध्य डोटी शिखर नगरपालिका कपल्लेकीका कृष्ण नेगी, बडिकेदार गाउँपालिका वडा नं. १ बेरबाटा निबासी खेमबहादुर बम तथा जोरायल गाउँपालिका ५ गडसेरा निबासी बमबहादुर चोखाललाई जनही १ लाख १ सय ४ रुपैया तथा लामो समयदेखि अपाङ्ग जीवन बिताई रहनु भएका लालबहादुर कलेललाई २० हजार रुपैयाँ सम्बन्धित ब्यक्तिको खातामा जम्मा हुने गरि पठाइएको छ ।
बिष्टले सामाजिक सन्जालमा सहयोगीहरुको विवरण प्रस्तुत गर्दै सहयोगी सबैलाई धन्यवाद पनि दिनु भएको छ । नेता बिष्टले बिभिन्न समयमा सहयोग संकलन अभियान सन्चालन गरि जटिल रोगहरुबाट पीडित भई आर्थिक अभाबका कारण उपचारमा कठिनाई भोगिरहेका नेपालीहरुलाई सहयोग गर्दै आएका छन ।