Prem

कन्सुलर अफिसको माग गर्दै टेक्ससका नेपालीहरुले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने

घण्टेश्वर अनलाईन
ड्यालस, टेक्सस
सँयुक्त राष्ट्रसंघको महासभामा सहभागि हुन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली अमेरिकाको न्यूयोर्क आउदै हुनु हुन्छ । प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी ओली तथा पराराष्ट्र मन्त्री डा. आरजु राणाको आसन्न अमेरिका भ्रमणका क्रममा अमेरिकामा रहेका गैरआवासीय नेपाली समुदायसँग भेटघाट गर्ने कार्यक्रम तय भएको छ ।
न्यूयोर्कको Gulshan Terrace   मा सेप्टेम्बर २२ आईतबारका दिन आयोजना हुने बृहत कार्यक्रममा टेक्सासका नेपाली समुदायले टेक्सासको ड्यालसमा दूताबास सेवा कार्यालय स्थापनाको माग गर्दै प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी ओली तथा पराराष्ट्र मन्त्री डा. आरजु राणालाई ज्ञापन पत्र बुझाउने भएका छन ।
टेक्सासको ड्यालसमा सकृय नेपाली समुदायका करिब ८ दर्जन सँस्थाको हस्ताक्षर सहितको ज्ञापन पत्र बोकेर नेपाली समुदायका अगुवाहरु न्यूयोर्क पुगिसकेका छन । हामीले टेक्सासको ड्यालसमा कन्सुलर अफिस स्थापनाको विषयमा बिगत लामो समय देखि बहस, पैरवी र माग गर्दै आएका हौं । सम्माननिय प्रधानमन्त्री तथा माननिय परराष्ट्र मन्त्रीको अमेरिका भ्रमणको सन्दर्भ पारेर टेक्सासबासी नेपाली समुदायको तर्फबाट ध्यानाकर्षण सहित ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको नेपाली समाज टेक्सासका अध्यक्ष राजेन्द्र वाग्लेले बताउनु भयो ।
टेक्सासको ड्यालसमा कन्सुलर अफिस स्थापनाको लागि नेपाली समाज टेक्सासका महासचिब बिजय भुसालले दुई महिना अघि प्रधानमन्त्री केपी ओली, अर्थ मन्त्री बिष्णु पौडेल र परराष्ट्र सचिब सेवा लम्साललाई भेटेर टेक्सासका नेपाली समुदायको तर्फबाट ज्ञापन पत्र बुझाउनु भएको थियो ।
अमेरिकाको टेक्सासमा नेपाली समुदायको बसोवास बाक्लिदै र आकर्षण पनि बढ्दै गएको छ । नेपाली राजदूताबासबाट प्रदान गरिने सेवा लिनका लागि वासिङटन डिसी जानु पर्ने बाध्यता रहेको छ । जनसंख्या, आबश्यकता र औचित्यताको दृष्टिकोणले टेक्सासको ड्यालसमा कन्सुलर कार्यालय स्थापना गर्न आबश्यक रहेको टेक्सासका रहेका नेपाली समुदायको भनाई रहेको छ ।
अमेरिका भ्रमणमा आउने नेपाल सरकारका मन्त्री, साँसद तथा राजनैतिक दलका नेताहरुलाई टेक्सासबासीहरुले कन्सुलर अफिस स्थापनाको लागि प्रतिबद्धता पनि लिदै आएका छन । तर कार्यान्वयनमा भने आउन सकेको छैन ।
नेपाल सरकारले टेक्ससको ड्यालसमा कन्सुलर अफिस स्थापनाको निर्णय गरोस । हामी टेक्सासबासी नेपाली समुदायको तर्फबाट कन्सुलर कार्यालयलाई आबश्यक सहयोग र सहजिकरण गर्न तयार रहेको नेपाली समाज टेक्सासका अध्यक्ष वाग्लेले बताउनु भयो ।

केही समय अघि अमेरिका भ्रमणबाट फर्कि सकेपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका साँसद तथा नेता ज्ञानेन्द्र शाहीले पराराष्ट्र मन्त्री डा. आरजु राणालाई भेटेर टेक्सासको ड्यालसमा कन्सुलर अफिस स्थापनाको लागि लिखित रुपमा ज्ञापन पत्र बुझाउनु भएको थियो ।

 

Leave A Reply

Your email address will not be published.