घण्टेश्वर अनलाईन
ड्यालस, टेक्सास
सुदूरपश्चिमका पत्रकार दीर्घराज उपाध्यायद्वारा लिखित ‘द्वन्द्व पत्रकारिताको एक दशक’ पुस्तकको आइतबार टेक्सासको ड्यालसमा समिक्षा गरिएको छ ।
सुदूरपश्चिम नेपाली समाज टेक्साससँगको सहकार्यमा नेपाल अमेरिका पत्रकार संघ (नेजा) द्वारा आयोजना गरिएको कार्यक्रममा टेक्सासका नेपाली समुदायका अगुवाहरु तथा पत्रकारहरुले पुस्तकका विषयमा चर्चा परिचर्चा गरेका हुन ।
पुस्तकका बिषयमा आफ्ना धारणा राख्दै लेखक तथा पत्रकार उपाध्यायले बि.सं. २०५२ देखि २०६२ सम्मको द्वन्द्वका अधिकाँश घट्नाक्रमलाई पुस्तकमा समेट्ने प्रयास गरिएको बताए । पत्रकारहरु द्वन्द्वका अधिकाँश घट्नाको प्रत्यक्ष साक्षी रहेकाले पुस्तकमा समेटिएका विषयबस्तुहरु सञ्चारकर्मीलाई आफ्नै कथा, आफ्नै व्यथा जस्तो लाग्न सक्छ, पत्रकार उपाध्यायले भने ।
नेपालमा १० बर्षे सशस्त्र द्वन्द्वका क्रममा नेपाली पत्रकारहरु राज्य र माओवादी पक्षको निसानामा परेको र उक्त अबधिमा २६ जना नेपाली पत्रकारहरुले ज्यान गुमाएको पुस्तकमा उल्लेख छ । पुस्तकमा पत्रकार उपाध्यायले द्वन्द्वका समयमा देखेका भोगेका घट्नाक्रमलाई क्रमबद्ध रुपमा चर्चा गरेका छन । समिक्षा कार्यक्रमका सहभागिहरुले पत्रकार उपाध्यायद्वारा लिखित ‘द्वन्द्व पत्रकारिताको एक दशक’ पुस्तक बिगतको सशस्त्र द्वन्द्वको बारेमा जान्न चाहने जो कोहीलाई सन्दर्भ सामग्री हुने बताएका थिए ।
नेपाल अमेरिका पत्रकार संघ (नेजा)का अध्यक्ष सुरज भण्डारीको अध्यक्षता तथा महासचिब बाबुराम दाहालको सन्चालनमा सम्पन्न पुस्तक समिक्षा तथा अन्तरक्रिया कार्यक्रममा समिक्षात्मक टिप्पणी राख्दै नेपालमा लामो समय पत्रकारिता गरेका पत्रकार सन्जय घिमिरेले केही समय ढिलो प्रकाशनमा आएपनि ‘द्वन्द्व पत्रकारिताको एक दशक’ पुस्तक महत्वपूर्ण दस्ताबेज भएको धारणा ब्यक्त गर्नु भयो । अर्का समिक्षक तथा पत्रकार गोपाल गड्तौलाले द्वन्द्वको समयमा आफू झापामा सकृय पत्रकारिता गरिरहेको बताउँदै त्यतिबेलाको घट्नाक्रम सम्झिदा आङ नै सिरिङ हुने गरेको अनुभव सुनाए ।
उक्त कार्यक्रममा नेपाल अमेरिका पत्रकार संघ (नेजा) का पूर्ब अध्यक्ष भोला आचार्य, निवर्तमान अध्यक्ष विकासराज न्यौपाने, पत्रकार विनय देवकोटा, नेपाली समाज टेक्ससका अध्यक्ष राजेन्द्र वाग्ले, सामाजिक अभियन्ता बाल जोशी, भक्तबहादुर भण्डारी, डा. भोजबहादुर बलायर लगायतले समाज र पत्रकारिता क्षेत्रको एउटै लक्ष समृद्ध समाज निर्माण भएकाले सहकार्य गरेर संगसँगै जानु पर्ने धारणा व्यक्त गरेका थिए । पत्रकारहरुका समाचारले द्वन्द्वका क्रममा बेपत्ता पारिएका व्यक्तिहरुको समेत ज्यान जोगिएको बताउँदै पत्रकारहरुले निष्पक्ष पत्रकारिताको माध्यमबाट समाजलाई बिभाजन होईन एकताबद्ध र सुदृढ बनाउन सहयोग गर्नु पर्ने बिचार व्यक्त गरेका थिए ।