टेक्सासको ड्यालसमा दशैं तिहार साँस्कृतिक मेला हुने

घण्टेश्वर अनलाईन
ड्यालस, टेक्सास
टेक्सासको ड्यालसमा दशैं तिहार साँस्कृतिक मेला आयोजना हुने भएको छ । नेपाली समाज टेक्सास तथा नेपाली साँस्कृतिक तथा अध्यात्मिक केन्द्रको आयोजनामा यही अक्टोबर २६ शनिबारका दिन ड्यालसको युलेशमा मेला हुन लागेको हो ।
नेपाली समाज टेक्सासका महासचिब बिजय भुसालका अनुसार ड्यालस फोर्टवर्थ क्षेत्रमा सकृय नेपाली समुदायका सँस्थाहरुको समेत सहभागितामा बृहत दशैं तिहार साँस्कृतिक मेला आयोजना गर्न लागिएको हो ।
मेलामा नेपाली समुदायहरु एकै स्थानमा जम्मा भएर दशैं तिहारको शुभकामना आदान प्रदान त हुने नै भयो । त्यसमा पनि ड्यालस फोर्टवर्थ क्षेत्रमा रहेका नेपाली समुदायका जातीय तथा क्षेत्रीय सँस्थाहरुले मौलिक साँस्कृतिक झाँकीहरु प्रदर्शन गर्ने कार्यक्रम तय भएको छ ।
कार्यक्रममा चर्चित कलाकार छबिराज सुनार, निरु घिमिरे, भिम चापागाई र नविन शर्मा लगायतका कलाकारहरुको समेत प्रस्तुती रहने छ ।
दशैं तिहार नेपाली समुदायको मौलिक चाडपर्बहरु हुन । दशैं तिहारले हरेक नेपालीलाई आफ्नो घर परिवार, छरछिमेक गाउँबस्तीको सम्झना गराउने गर्दछ । नेपालीहरु भौतिक रुपमा प्रवासमा रहेपनि नेपाली मौलिक चाडपर्बहरु, कला सँस्कृति प्रतिको अपनत्व नटुटोस भनेर बृहत दशैं तिहार साँस्कृतिक मेला आयोजना गरिएको महासचिब भुसालले बताउनु भयो ।
दशैं तिहार साँस्कृतिक मेला नेपाली समुदायको आफ्नो कार्यक्रम रहेकाले मेलामा सपरिवार सहभागि हुन आयोजकहरुले नेपाली समुदायलाई आग्रह गरेका छन ।

Leave A Reply

Your email address will not be published.