
घण्टेश्वर अनलाईन
अस्टिन, टेक्सास
ग्रेटर अस्टिन नेपाली समाज अस्टिन टेक्सासद्वारा आयोजना गरिएको देउसिरे कप फुटबल प्रतियोगिता २०२४ को उपाधि फ्रेन्ड्स क्लब डालसले जितेको छ । अस्टिनको नर्थ वेष्ट मेट्रो पोलिटियन पार्क फुलगर्भिलमा सन्चालन भएको उक्त प्रतियोगितामा टेक्सासका बिभिन्न स्थानका १४ वटा फुटबल क्लबको सहभागिता रहेकोमा ड्यालसको युथ फुटबल क्लब दोस्रो भएको ग्यान्सका उपाध्यक्ष अशोक शाहीले जानकारी दिनु भयो ।
दशैं तिहारका अवसर पारि आयोजना गरिएको देउसिरे कप फुटबल प्रतियोगिताको सम्पन्न भएपछि ग्रेटर अस्टिन नेपाली समाज (ग्यान्स) को प्राङ्गणमा पुरस्कार बितरण कार्यक्रमको आयोजना गरिएको थियो ।
ग्रेटर अस्टिन नेपाली समाजका अध्यक्ष बिदुर खतिवडाको अध्यक्षता तथा सपना रावत तथा सूर्य कार्कीको सन्चालनमा भएको उक्त कार्यक्रममा ग्यान्सका अध्यक्ष बिदुर खतिवडा बिदुर खतिवडा र प्लाटनियम डोनर राजाराम गौतमले प्रतियोगितामा प्रथम हुने फ्रेन्ड्स क्लब डालसलाई ५ हजार डलर तथा दोस्रो हुने युथ फुटबल क्लब डालसलाई २ हजार डलर प्रदान गर्नु भएको थियो ।
उक्त अवसरमा बडा दशैं तथा दिपावलीको अवसरमा शुभ कामना आदान प्रदान गरिएको थियो । कार्यक्रममा चर्चित कलाकार तथा गैरआवासीय नेपाली संघ अमेरिकाकी आईसिसि सदस्य देबिका केसीले मनोरन्जन गराउनु भएको थियो भने नेपालको मध्य पश्चिम क्षेत्रमा प्रसिद्ध मयुर नाच प्रस्तुत गरिएको ग्यान्सले जनाएको छ । ग्रेटर अस्टिन नेपाली समाज अस्टिनले हरेक बर्ष दशैं तिहारको अवसरमा देउसिरे कप फुटबल प्रतियोगिता आयोजना गर्दै आएको छ ।