नेपाली समाज टेक्सासले नेतृत्वदायी भूमिका खेल्नु पर्ने कुरामा जोड

घण्टेश्वर अनलाईन
टेक्सास, अमेरिका
टेक्सासमा रहेका अगुवा नेपाली अभियन्ताहरुले नेपाली समाज समस्त टेक्सासमा रहेका नेपालीहरुको नेतृत्वदायी तथा साझा सँस्था बन्नुपर्ने कुरामा जोड दिएका छन ।
नेपाली समाज टेक्सासद्वारा आईतबार आयोजना गरिएको कार्यशाला गोष्ठिमा सहभागि नेपाली अगुवाहरुले बिगतमा नेपाली समाज टेक्सास सबै नेपालीहरुको साझा सँस्था बन्न नसकेको गुनासो आउने गरेको बताएका थिए । उनीहरुले सबै नेपालीहरुलाई समाजमा आबद्ध गराउदै टेक्सासमा रहेका सबै नागरिक समाज सँस्थाहरुको अभिभावकिय भूमिका खेल्न सके हाम्रो र राम्रो समाज बन्न सक्ने धारणा राखेका थिए ।
आगामी दुई वर्षका लागि कार्ययोजना निर्माणका लागि सुझाव सँकलन गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यशाला गोष्ठिमा सहभागिबाट  टेक्सासमा रहेका नेपालीहरुको तथ्याँक सँकलन गर्न प्रयास गर्नु पर्ने, नेपाली समाज टेक्सासलाई शाखाको रुपमा टेक्सासका प्रमुख शहरमा विस्तार गर्नु पर्ने , एसियन स्थानिय संघ/संस्थासँग सहकार्य गर्दै स्थानीय संघ/ संस्था, स्थानिय सरकार, सिटि, तथा स्टेट सरकारसँग समन्वय गर्नुपर्ने, नेपाली भाषामा ड्राइभिङ्ग लरनर परमिट तथा इ.एस.एल कक्षा संञ्चालनको लागि पहल गर्नु पर्ने, पेशागत विभाग निर्माण गर्नुपर्ने, नेपालको गणतन्त्र दिवसका दिन अमेरिका भर ‘नेपाल डे’ भनेर मनाउन समन्वय र पहल गर्ने, अमेरिकि राजनीतिमा आउन चाहानेहरुलाई नेपाली समाजको तर्फबाट सहयोग र हौसला दिनुपर्ने लगायतका सुझावहरु आएको नेपाली समाज टेक्सासका मिडिया संयोजक पुण्य पाण्डेले जानकारी दिनु भयो ।
कार्यक्रममा बोल्दै नेपाली समाज टेक्सासका अध्यक्ष राजेन्द्र वाग्लेले कार्यशालामा आएका सुझावहरुलाई कार्ययोजना बनाई कार्यान्वयन गरिने प्रतिबद्धता ब्यक्त गर्नु भयो । सहभागितामूलक योजना तर्जुमाबाट नै सँस्था सबल, एकताबद्ध र सुदृढ हुने भएकाले नेपाली समाज टेक्सासको योजना तर्जुमा, कार्यान्वयनमा समेत सबै नेपालीहरुको सहयोगको अपेक्षा गरिएको बताउनु भयो । सहभागिहरुबाट आएका सुझावहरुलाई समेटेर कार्ययोजना निर्माण गर्नका लागि पाँच सदस्यीय समिति निर्माण भएको जानकारी दिदै अध्यक्ष वाग्लेले नेपाली समाज टेक्सासलाई थप सल्लाह सुझाव दिन चाहनेले प्रत्यक्ष, फोन तथा ईमेलबाट पनि सम्पर्क गर्न आग्रह गर्नु भयो । नयाँ कार्य समिति निर्बाचित भएपछि सबैको भावना, सल्लाह सुझावको आधारमा योजना निर्माण गर्न सहभागितामूलक कार्य योजना निर्माण गर्ने पहिलो प्रयास गरिएको नेपाली समाज टेक्सासले जनाएको छ ।
कार्यशाला गोष्ठिमा संस्थाका सल्लाहाकारहरु, विभिन्न विभागका सदस्यहरु, र संस्थाका पुर्व अध्यक्षहरु तथा अगुवा अभियन्ताहरुको सहभागिता रहेको थियो । अनौपचारिक रुपमा सन्चालन गरिएको सो कार्यशालाको अध्यक्षता समाजका अध्यक्ष राजेन्द्र वाग्ले र सन्चालन महासचिब सन्देश उप्रेतीले गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.