
घण्टेश्वर अनलाईन
ड्यालस, टेक्सास
मधेशी एशोसियशन ईन अमेरिका “माँ” ले सर्लाही जिल्लाका बाढी पीडित दलित घर परिवारलाई त्रिपाल सहयोग गरेको छ । गत दशैंको केही दिन अघि आएको बाढीका कारण सर्लाही जिल्लाका दलित परिवार प्रभावित भएको समाचार बाहिर आएपछि त्रिपाल सहयोग गरिएको मधेशी एशोसियशन ईन अमेरिका “माँ” का केन्द्रिय अध्यक्ष डा. संगीत रौनियारले बताउनु भयो ।
अध्यक्ष रौनियारका अनुसार मधेशी एशोसियशन ईन अमेरिका “माँ” ले स्थानीय प्रगतिशिल सामुदायिक सँस्था मार्फत सर्लाही जिल्ला बलरा नगरपालिकाका बाढी पीडित दलित घर परिवारलाई ८० थान त्रिपाल नोभेम्बर ४ मा बितरण गरेको हो । बाढीका कारण बिस्थापित दलित घरपरिवारलाई तत्काल राहात पुर्याउने उद्देश्यले त्रिपाल बितरण गरिएको मधेशी एशोसियशन ईन अमेरिका “माँ” ले जनाएको छ ।
मधेशी एशोसियशन ईन अमेरिका “माँ” ले बिगतमा बाढी पहिरो तथा हावा हुरीबाट प्रभावित दलित घर परिवारलाई राहात बितरण गर्दै आएको छ । मधेशी एशोसियशन ईन अमेरिका “माँ” ले प्राकृतिक प्रकोप पीडितलाई राहात बितरण गर्न “माँ” का बरिष्ठ उपाध्यक्ष मनोज सिंहको अध्यक्षतामा प्राकृतिक प्रकोप राहात कमिटी समेत निर्माण गरेको छ ।
सर्लाही जिल्लाका बलरा नगरपालिकाका बाढी पीडित दलित घर परिवारलाई त्रिपाल बितरण गर्नका लागि सदस्यहरुका बिचमा अर्थ सँकलन अभियान सन्चालन गरेको थियो । त्रिपाल खरिद गर्नका लागि आर्थिक सहयोग गर्ने सबैलाई मधेशी एशोसियशन ईन अमेरिका “माँ” ले धन्यवाद समेत दिएको छ ।