
अर्जुन प्रधान
कोलम्बस, ओहायो
नेपाली साहित्यमा बहुप्रतीक्षित उपन्यास ‘भुसको आगो’ को ओहायो राज्यको कोलम्बसमा बिमोचन गरिएको छ ।
साहित्यकार रमेश दियालीद्वारा रचना गरिएको उक्त उपन्यासको २८ डिसेम्बरमा बिमोचन गरिएको हो । उपन्यासको गंगाराम लामिटारे, शिवलाल दाहाल, भोला शिवाकोटी “ पुरानाघरे”, खेम रिजाल, पुष्पा गजमेर, लिला निशाले सँयुक्त रुपमा विमोचन गरेका थिए भने उपन्यासको समिक्षा शिबलाल दाहालले गर्नु भएको थियो ।
बिश्वकर्मा सोसाईटी अफ अमेरिकाको आयोजनामा भएको पुस्तक समिक्षा कार्यक्रममा बोल्ने बक्ताहरुले उपन्यासका बिविध पक्षको बारेमा चर्चा गरेका थिए ।
अर्जुन रसाईलीको अध्यक्षता तथा अब्राहम दियालीको सन्चालनमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथी रहनु भएका साहित्य परिषद भुटानका अध्यक्ष गंगाराम लामिटारेले नेपाली भाषा तथा साहित्यलाई बिश्वभर फैलाउन साहित्यिक कार्यक्रमको बिशेष भूमिका रहने बिचार ब्यक्त गर्नु भयो । कार्यक्रममा उपन्यासका लेखक रमेश दियालीले उपन्यासको मेख्य सन्देशको बारेमा प्रकाश पारेका थिए ।
कार्यक्रममा नेपाली भाषी भुटानी तथा नेपाली साहित्यप्रेमीहरुद्वारा बिभिन्न गीत, कबिता, गजल, संगीत तथा नृत्य प्रस्तुत गरिएको थियो ।
यसैगरि हिमालयन म्युजिक एकेडमीका बिद्यार्थीहरू तथा योगिता समुहद्वारा मारुनी नृत्य तथा अर्जुन रसाइली र शीतल शर्माले गीत प्रस्तुत गर्नु भएको थियो ।
उक्त अवसरमा धर्मेन्द्र तिम्सिना, निल अधिकारी, गोमा अधिकारी, सुदर्शन अधिकारी, दुर्गा सुबेदी, केशव सुवेदी, ईन्दु सुवेदी, तिला फुयाल, राधिका धिमाल, द्रौपदी प्रधान, देव कोईराला, र तारा कडेलहरूलाई कदर पत्र तथा दोसालाले सम्मान गरिएको थियो । कार्यक्रममा बिश्वकर्मा सोसाईटी अफ अमेरिकाका अध्यक्ष अर्जुन रसाईलीले स्वागत गरेका थिए ।
‘भुसको आगो’ उपन्यास साहित्यकार रमेश दियालीको दोश्रो पुस्तक हो । दियालीद्वारा लिखित पहिलो पुस्तक छाप्रो नं. ५५ पनि निकै चर्चित बनेको थियो ।