
घण्टेश्वर अनलाईन
ड्यालस, टेक्सास
यस बर्षको माघे सँक्रान्ती पर्ब टेक्ससमा रहेका थारु समुदायहरुले धुमधामका साथ मनाएका छन । माघे संक्रान्ती पर्ब मनाउन टेक्सासको ड्यालस फोर्टवर्थका साथै टेक्सासका बिभिन्न स्थानका रहेका थारु समुदायहरु ड्यालसको ह्रस्ट पुगेका थिए ।
टेक्सास थारु समाजको आयोजनामा भएको माघे संक्रान्ती पर्ब कार्यक्रममा थारु समुदायहरु एकै स्थानमा जम्मा भएर शुभकामना आदान प्रदान, थारु परिकारहरु खानुका साथै थारु सँस्कृति झल्किने बिभिन्न साँस्कृतिक कार्यक्रम गरेको समाजका अध्यक्ष रामकुमार चौधरीले बताउनु भयो ।
माघे संक्रान्ती पर्ब थारु समुदायको लोकप्रिय र मौलिक पर्ब हो । भौतिक रुपमा जहाँ भएपनि थारु संस्कृतिको जगेर्ना गर्ने, दोश्रो पुस्तालाई थारु संस्कृति पुस्तान्तरण गर्न टेक्सासमा हरेक बर्ष माघे संक्रान्ती पर्ब मनाउदै आएको टेक्सास थारु समाजले जनाएको छ ।
हामी कुनै कलाकारलाई नेपालबाट बोलाएर नाचगान गराएर अर्थ संकलन गर्ने पक्षमा छैनौं । प्रवासमा थारु कला संस्कृतिको प्रस्तुतीबाट थारु संस्कृतिको संरक्षण गर्न चाहान्छौं, अध्यक्ष चौधरीले बताउनु भयो ।
माघे कार्यक्रममा कतिपय आफ्नो थारु परम्पारगत भेषभुषामा सहभागि भएका थिए । प्रवासमा पनि थारु परिकारहरु तथा थारु साँस्कृतिक कार्यक्रममा सहभागि हुन पाउँदा थारु समुदायहरु खुशी देखिन्थे ।
अमेरिकामा काममा व्यस्त हुनु पर्ने तथा टेक्सासको भौगोलिक बनावट ठूलो भएकाले पनि धेरै थारु समुदाय चाहेर कार्यक्रममा सहभागि हुन नसकेको आयोजकले जानकारी दिएका थिए । आगामी बर्ष माघी पर्बमा थारु लगायत अन्य समुदायको पनि सहभागिता बढाउन पहल गरिने थारु अगुवाहरुले बताए ।