
घण्टेश्वर अनलाईन
ड्यालस, टेक्सस
अमेरिकाको टेक्सास राज्यमा बसोवास गर्ने तामाङ समुदायले यस बर्षको सोनाम ल्होछार पर्बको तयारी शुरु गर्न थालेका छन । यहाँका तामाङ समुदायले यस बर्षको सोनाम ल्होछार टेक्सासको ड्यालस स्थित अर्भिङमा एकै स्थानमा जम्मा भएर मनाउँने निर्णय गरेका छन । तामाङ समुदायको लोकप्रिय पर्ब सोनाम ल्होछार हरेक बर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने गरिए पनि प्रवासमा रहेका तामाङ समुदायले कामको व्यस्ततालाई हेरी बिदाको दिन सबैलाई पायक पर्ने मिति र स्थानमा सोनाम ल्होछार पर्ब मनाउँदै आएका छन ।
यस बर्षको सोनाम ल्होछार पर्ब टेक्सासका तामाङ समुदायले आगामी ८, फ्रेबुअरी शनिबारका दिन मनाउने तय भएको तामाङ समाज टेक्ससका अध्यक्ष कुमार तामाङले जानकारी दिनु भयो । अध्यक्ष तामाङका अनुसार Amber Hall, 3761 Irving Mall,75062 मा फ्रेबुअरी ८ बेलुकी ५ बजे देखि “सोनाम ल्होछार साँस्कृतिक साँझ” कार्यक्रम आयोजना गरिने छ । उक्त अवसरमा तामाङ समुदायको परम्परागत साँस्कृतिक गीतहरु, नृत्यहरु तथा बिभिन्न नेपाली गीत सँगीत प्रस्तुत गर्दै ल्होछारको शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरि मनाईने तामाङ समाज टेक्ससले जनाएको छ ।
नेपाली समुदायमा तामाङ सँस्कृति उत्कृष्ट सँस्कृतिका रुपमा चिनिन्छ । प्रवासमा दोश्रो पुस्तालाई भाषा तथा तामाङ सँस्कृति हस्तान्तरण गर्ने उद्देश्यले तामाङ समाज टेक्सासले सामुहिक रुपमा तामाङ समुदायका लोकप्रिय चाडपर्बहरु मनाउँदै आएको छ ।
ड्यालसको अर्भिङमा आयोजना गरिने सोनाम ल्होछार पर्बमा सहभागि भई तामाङ भेषभुषा तथा सँस्कृति अबलोकन गरिदिन तामाङ समाज टेक्सासले सबै नेपाली समुदायलाई आग्रह गरेको छ ।
के हो सोनाम ल्होछार पर्ब ?
ल्होछार अर्थात ल्हो भन्नाले साल अथवा सम्वत् अनि छार भन्नाले नयाँ भन्ने बुझाउँछ ।
तामाङ समुदायबारे लेखिएका विभिन्न पुस्तकहरु अनि शोधहरु अध्ययन गर्दा ’ता’ भन्नाले घोंडा अनि माङ भन्नाले लडाकुहरु भन्ने बुझिन्छ । यसअर्थमा साहसीहरुको समुदाय तामाङहरु वास्तवमै आफ्नो साहस, विरता अनि रण कौशलताका लागि नेपालमा मात्र नभई संसारभरि प्रचलित छन् । ल्होछार शब्द “ल्हो” अर्थात् वर्ष वा साल र “छार” वा “सार” अर्थात नयाँ भन्ने दुई शब्द मिलेर बनेको छ । यस दिन तामाङ समुदायले विशेष परम्परागत अनि साँस्कृतिक महत्वका साथ ल्होछार मनाउँद छन् । यसरी नेपालको उच्च पहाडी भेग र पहाडी भेगमा बसोवास गर्ने तामाङ समुदाय लगायत उत्तर छिमेकी मुलक चीन सहितका बौद्धमार्गीहरुको घनत्व रहेको क्षेत्रमा पनि हर्ष बढाई गर्दै नयाँ वर्ष मनाउने गर्दछन् ।
तामाङहरुलाई प्रकृतिप्रेमी समुदायका रुपमा चिनिन्छ, विशेषगरी नेपालमा तामाङ जातीले सोनाम ल्होछारका अवसरमा कुलपूजा र प्रकृतिको पूजा गर्ने गर्दछन् । यस समुदायमा छोरी चेलीलाई बोलाएर टिका लगाइदिने गरिन्छ ।
ल्होछार मनाउने समूदायमा ल्हो अर्थात् वर्षहरु बाह्रवटा हुन्छन् । ती वर्षका नामहरुलाई मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेंडा, बाँदर, चरा, कुकुर र सुँगुर जस्ता पशुपन्छी र जीवजन्तुका नामबाट राखिएको पाइन्छ, मुसाबाट शुरु हुने यि वर्षहरु जङ्गली बँदेल वर्षमा पुगेर सकिन्छ । यो वर्षपनि सर्पको वर्ष हो । बाह्र वर्गका वर्षहरुलाई बाह्र राशीका रूपमा पनि लिने गरिन्छ ।
सोनाम ल्होछारका अवसरमा घर बस्तीहरु सफा गरी वुद्धका चित्रहरु अंकित ध्वजापताकाहरु टाँगेर वुद्धको पूजाअर्चना गरिन्छ । कतिपय ठाउँमा जात अनुसारका गाउँका लामा र मुखियाको उपस्थितमा सबैजना एकै ठाउँमा भेला भई नाचगान रमाईलो पनि गरिन्छ । यसरी गाईने अनि नाचिने गीतहरूलाई तामाङ सेलो भनिन्छ, सुस्तरी तर वडो मधुररुपमा गाईने यस्ता सेलोहरुमा डाँडापाखा, कन्दरा अनि दैनिक जीवन भोगाई लगायत माया प्रेमका भावनाहरु पनि समावेश हुन्छ । डम्फु चाँही यस समूदायको हस्ताक्षर बाजा हो । डम्फु अनि सेलोको सुमधुर मिश्रण मनमोहक हुन्छ । धेरैजसो यस्ता सामुदायिक कार्यक्रमहरु खुला आकाशमुनि गरिन्छ, परम्परागत पहिरनमा सजिएका तामाङ समुदायका ब्यक्तिहरु लगायत अन्य सबै समुदाय अनि सबै धर्मका ब्यक्तिहरुलाई यस समुदायले खुल्ला हृदयले स्वागत गर्दछन् ।
सुँगुर, हाँस, कुखुरा, खसी लगायतका विभिन्न परिकारका मासुहरु तैयार पारिने यस विशेष उत्सवमा विभिन्न गुलिया मिठाईहरु बनाएर घरघरमा भोज गर्ने अनि आफन्त भेट्ने चलन रहेको छ । सामुदायिक रुपमा पनि समुदायका सबैजना एकैठाँउमा भेला भएर चाडबाड मनाउने अनि सरल अनि सभ्य रुपमा मिलनसार प्रवृत्तिको संस्कार अनि सन्देश दिने तामाङ समुदायहरु वास्तवमै एउटा अनुकरणीय समुदाय हो ।
फोटो तथा सन्दर्भ सामग्री ः बिभिन्न मिडिया तथा फायल फोटो