हाम्रो चाहना ः सबै प्रवासी नेपाली अट्ने सशक्त “बाना”

All time tax

⁃ दमनबिक्रम शाह (बाना सल्लाहकार)
मानिस प्राणी जगतमा उत्कृष्ट सामाजिक प्राणी हो । मानिस मात्र एउटा यस्तो प्राणी हो, जो समाजमा एकताबद्ध भएर बस्न चाहान्छ । घुलमिल हुन चाहान्छ । एक आपसमा सहयोग आदान प्रदान गर्न चाहान्छ । नेपालीहरु भौतिक रुपमा जहाँ गएपनि समाज निर्माण गरेका छन । आफ्नो भाषा, कला र सँस्कृतिको संरक्षणमा योगदान दिईरहेका छन । नेपालीहरु समाजमा एकताबद्ध भएर आफ्नो भाषा, कला र सँस्कृति पुस्तान्तरण गरिरहेका छन ।
अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा बसोबास गर्ने प्रवासी नेपालीहरुले सन् २००५ मा Baltimore Association of Nepalese in America (BANA) बाना स्थापना गरेका थिए । अमेरिकी कानून अनुसार दर्ता भएको बाना स्थापनाको दुई दशक पुरा भईसकेको छ । बाना अमेरिकी नेपाली समुदायमा उत्कृष्ट सामाजिक संस्थाको रुपमा स्थापित भईसकेको छ । करिब ३० हजार नेपाली बसोवास गर्ने मेरिल्याण्ड राज्यको बाल्टिमोरमा बानाले अमेरिकी नेपाली समुदायमा नेतृत्वदायी तथा अभिभावकको भूमिका खेलिरहेको छ । बानाले सामाजिक क्षेत्रमा उत्कृष्ट काम गर्नुका साथै अमेरिकी मूलधारको राजनीतिमा नेपाली समुदायको पहुँच बिस्तार गर्न समेत सफल भएको छ । बानालाई यो स्तरमा स्थापित गराउनमा नेपाली समुदायका अगुवा सामाजिक अभियन्ताहरुको उल्लेखनिय योगदान रहेको छ ।
बानाको शुरुवाती चरण ः  अमेरिकी कानूनमा दर्ता भएर सामाजिक संस्थाको मान्यता प्राप्त गरिसकेपछि क्रमस बानाले शुरुवातका दिनमा प्रवासी नेपालीहरुलाई एकताबद्ध बनाउने काममा बाना केन्द्रित रह्यो । शुरुका दिनमा बानाको कार्यालय नेपालीहरु भेटघाट गर्ने थलोको रुपमा रह्यो । त्यसपछि क्रमस प्रवासी नेपालीहरुको सल्लाह सुझावको आधारमा नेपाली चाडपर्वहरु सामुहिक रुपमा मनाउने काम भए । जसले गर्दा परदेशमा रहेकाहरुलाई घरदेशको न्याश्रो मेट्ने काममा सहयोग पनि पुग्यो ।
संस्थागत बिकासमा बाना ः सामाजिक संस्था भईसकेपछि संस्थाले सामाजिक र संस्थागत स्वरुप पनि धारण गर्नु पर्छ । त्यसको लागि संस्थागत बिकास हुन आबश्यक छ । बानामा नेपालीहरुको आकर्षण बढेसँगै आफ्नै कार्यालय हुनुपर्ने सल्लाह सुझावका साथै आबश्यकता पनि महसुस पनि भयो । सन् २०११ मा बानाको भवन खरिद गर्ने अभियान शुरु भयो । त्यसका लागि आर्थिक श्रोत जुटाउन पुराण पनि आयोजना गरियो । भवनको लागि श्रोत जुटाउन झण्डै ५⁄६ वर्ष लाग्यो । अहिले बानाको आफ्नै कार्यालय भवन रहेको छ । बाना संस्थागत रुपमा अगाडी बढेको छ । हरेक गतिबिधिहरु आफ्नै कार्यालयबाट संचालित छन । अमेरिकामा स्थापित नेपालीहरुका संस्था मध्य आफ्नो भवन भएको पहिलो संस्था नै बाना हो भन्ने हाम्रो दावी छ ।
नेपाली समुदायको आकर्षण बाना ः  कुनैपनि सामाजिक संस्था स्थापना भईसकेपछि समाजलाई आकर्षित गर्न सक्नु पर्दछ । त्यसका लागि सामाजिक संस्थामा नीति तथा कार्यक्रम हुनु आबश्यक छ । बानाले समुदायसंगै बसेर आफ्ना नीति तथा कार्यक्रमहरु तर्जुमा गर्ने काम गर्यो । जसले नेपाली समुदायलाई बानामा आकर्षित गर्यो ।
नेपाली समुदायलाई आकर्षित गर्ने कार्यक्रमहरुमा अमेरिकामा जन्मेका र हुर्केका दोश्रो पुस्तालाई नेपाली भाषा, कला संस्कृति हस्तान्तरण गर्ने कार्यक्रमहरु जस्तै नेपाली भाषा कक्षा, नृत्य कक्षा, बिभिन्न जातीय तथा क्षेत्रीय स्तरमा मनाईने नेपाली चाडपर्बहरुको आयोजना, नेपाली बालबालिकाहरु तथा युवाहरुलाई खेलकुद प्रति आकर्षित गराउन खेलकुद कार्यक्रम तथा अमेरिका स्थित नेपाली राजदुतावासलाई समाजसँग प्रत्यक्ष जोड्न समेत बाना र नेपाली राजदुतावास बिच वार्षिक फुटबल खेलको आयोजना गर्ने, नेपालको पर्यटन प्रबद्र्धन गर्ने कार्यक्रमहरु जस्तै बर्षको एक पटक नेपाली सडक महोत्सब आयोजना प्रमुख कार्यक्रम हुन् ।
बानाले नेपाली समुदायका बिचमा अभिभावकीय भूमिका निर्बाह गर्दै आएको छ । अमेरिकाको मेरिल्याण्डमा करिब ४० भन्दा बढी नेपाली समुदायका बिभिन्न जातीय तथा क्षेत्रीय सँस्थाहरु रहेका छन । बानाले यि सबै संघ संस्थाहरुका कार्यक्रमहरुमा सहयोग गर्नुका साथै नेपाल र नेपालीलाई सहयोग गर्ने सन्दर्भमा नेतृत्वदायी भुमिका खेल्दै आएको छ ।
कोरोना महामारीको समयमा सबै जना ढोकाको चुकुल लगाएर बसेको अवस्थामा बानाको पहलमा सबैभन्दा बढि आवश्यक बस्तु मास्क, ग्लोब्स, स्यानिटाईजर र खाद्यान्नहरु जोहो गरि समुदायमा वितरण गर्न सकिएको थियो । करिब ६५०० नेपालीहरुको बेरोजगार भत्ता फाराम भर्नुका साथै हजारौं जनालाई डाक्टरको प्रेस्किप्सन मार्फत अत्यावश्यक दवाई उपलब्ध गराईएको थियो । यो उत्कृष्ट कार्यले पनि बाना नेपाली समुदायका बिचमा लोकप्रिय बन्न सफल बनेको हो ।
बानाले कोरोना महामारीको समयमा गरेको मानविय सेवामूलक कार्यबाट बाल्टिमोरका स्थानिय निकाय, राज्यस्तरिय निकाय तथा केन्द्रिय निकायहरु अत्यन्त प्रभावित भएका छन । यसैको फलस्वरुप बानालाई नेपालीहरुको मात्र नभई सम्पूर्ण नेपालीभाषीहरुको प्रतिनिधि संस्थाको रुपमा आधिकारिक रुपमा स्वीकार गरेका छन ।
बानाले यिनै राज्य र स्थानिय सरकारहरुको आर्थिक सहयोगमा विभिन्न समुदायमुखी कार्यक्रमहरु संचालन गर्दै आईरहेका छ । छोरा छोरीहरु भेट्न आउनु भएका बुवा आमाहरुलाई बाआमासँग बाना भन्ने कार्यक्रममार्फत मनोरञ्जन र अन्य सेवा सुविधाहरु बनाले उपलब्ध गराउँदै आएको छ ।

अहिले Baltimore Association of Nepalese in America (BANA) बानामा निर्बाचनको माध्यमबाट नयाँ नेतृत्व चयन हुँदैछ । बानालाई हाम्रोका साथै अझ राम्रो बनाउनु पर्ने र सबै प्रवासी नेपाली अट्ने साझा संस्था बनाउने दायित्व हामी सबैको सामु आएको छ । त्यसका लागि बानाले  Membership Drive सन्चालन गरिरहेको छ । बानाको सदस्य बनेर बानालाई नेपाली समुदायको उत्कृष्ट र अभिभावक सँस्था बनाउने काममा सहभागि बनौं । बानामा आबद्ध भएर प्रवासमा मिनि नेपाल निर्माणको अभियानमा अगाडी बढौं ।

Leave A Reply

Your email address will not be published.