क्यालिफोर्नियाको सान् फ्रान्सिस्कोमा कन्सुलर शिबिर, सेवाग्राहीको घुईचो

All time tax

घण्टेश्वर अनलाईन
सान्फ्रान्सिस्को, क्यालिफोर्निया
नेपाली राजदूताबास वासिङटन डिसिद्वारा आयोजना गरिएको ५ दिने कन्सुलर शिबिर बुधबारबाट क्यालिफोर्नियाको सान् फ्रान्सिस्कोमा शुरु भएको छ । राहदानी, वारेशनामा लगायतका सेवा प्रदान गरिने उक्त शिबिरमा क्यालिफोर्निया तथा आसपासका क्षेत्रबाट सेवाग्राहीहरुको घुईचो लागेको छ ।
दूताबासले शिबिरमा प्रदान गरिने सेवालाई व्यवस्थापन गर्न सेवाग्राहीले नाम दर्ता गराउन आग्रह गरेको थियो । क्यालिफोर्निया र आसपासका क्षेत्रमा बसोवास गर्ने ७ सय जना नेपालीहरुले दूताबासबाट प्रदान गरिने बिभिन्न सेवाको लागि नाम दर्ता गराएकोमा शिबिरको पहिलो दिन बुधवार २ सय बढीले सेवा लिएको नेपाली दूताबासले जनाएको छ । दूताबास कार्यालयका अनुसार सेवाको लागि नाम दर्ता गराउन छुटेकाहरुलाई समय थपेर भएपनि सेवा प्रदान गरिने छ ।
शिबिरको उद्घाटन गर्दै दूताबासका कार्यबाहक राजदूत एवं डिपुटी चिफ अफ मिसन शरदराज आरणले दूताबासबाट प्रदान गर्ने सेवा लिनका लागि समय र खर्चका दृष्टिकोणले झण्झटिलो भएकाले घर दैलोमा नै सेवा दिन कन्सुलर शिबिर सन्चालन गरिएको बताउनु भयो ।
नेपाली दूताबासका सेवाहरु सहज र सरल रुपमा प्रवाह गर्न परराष्ट्र मन्त्री आरजु राणा देउवा र सचिव अमृतबहादुर राईको प्रष्ट निर्देशन रहेको बताउँदै कार्यबहाक राजदूत आरणले घर दैलोमा नै गुणस्तरीय सेवा पुर्याउन प्रयास गरिने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
यसैगरि क्यालिफोर्नियाका अवैतनिक महावाणिज्य दुत ऋषि ढकालले क्यालिफोर्निया तथा आसपासका क्षेत्रमा नेपाली समुदायको बाक्लो बसोवास रहेकाले दूताबासले कन्सुलर शिबिर सञ्चालन गरेको बताउनु भयो ।
स्थानीय सहयोगी सँस्था नेपाली एशोशियसन अफ नर्थ क्यालिफोर्निया (नान्स) का अध्यक्ष प्रितेश कार्की र गैर आवासीय नेपाली संघ क्यालिफोर्निया च्याप्टरका अध्यक्ष हरी ओझाले वासिङटन डिसीबाट दूरदराजमा रहेको क्यालिफोर्नियामा कन्सुलर शिबिर सन्चालन गरेकोमा धन्यवाद दिनु भएको थियो ।
फोटो सौजन्य ः पत्रकार ईश्वरी न्यौपाने

  

Leave A Reply

Your email address will not be published.