अमेरिकाको टेक्सासमा महाशिबरात्री पर्ब भब्य रुपमा मनाईयो

घण्टेश्वर अनलाईन
ड्यालस टेक्सस
यस बर्षको महाशिबरात्री पर्ब अमेरिकाको टेक्सासमा उत्सबको रुपमा मनाईएको छ । टेक्सासको ड्यालस, अस्टिन र ह्युस्टन लगायतका बिभिन्न स्थानमा रहेका पशुपतिनाथ तथा अन्य नेपाली मन्दिरहरुमा बुधबार बिहानैदेखि श्रद्धालु भक्तजनहरुको घुँईचो लागेको थियो ।
यस बर्षको महाशिबरात्री पर्ब बिदाको दिन नपरेपनि भक्तजनहरु कामको समय मिलायर राती अबेरसम्म लाईन लागेर पूजाआजा गरेका थिए । यस बर्षको महाशिबरात्री पर्बमा यहाँका पशुपतिनाथ तथा अन्य नेपाली मन्दिरहरुमा कलश यात्रा, महारुद्र अभिषेकम, बिशेष आरती,महाप्रसाद बितरण तथा भजनकिर्तन लगायतका धार्मिक कार्यक्रम आयोजना गरिएका थिए । पशुपतिनाथ मन्दिरमा नेपाली लगायत भारतीय मूलका हिन्दु धर्मालम्बीहरु समेत पूजाआजाको लागि आएका थिए ।
टेक्सासको ड्यालस स्थित पशुपतिनाथ तथा बौद्ध बिहार मन्दिरमा गत आईतबार देखि बुधबारसम्म महाशिबरात्री महोत्सब लागेको थियो । महाशिबरात्री महोत्सबको अबसरमा नेपाली समाज टेक्सासद्वारा सन्चालित ग्लोबल नेपाली पाठशालाले बिद्यार्थीहरुका बिचमा भजन गायन प्रतियोगिता नै आयोजना गरेको बिद्यालयमा प्रिन्सिपल डा. भोजबहादुर बलायरले बताउनु भयो । उक्त भजन प्रतियोगितामा २० जना नेपाली पाठशालाका बिद्यार्थीहरु सहभागि भएको नेपाली समाज टेक्सासले जनाएको छ ।
पशुपतिनाथ तथा बौद्ध बिहार मन्दिर युलेशमा लागेको शिबरात्री मेलामा १५ हजार बढीले दर्शन गरेको नेपाली समाज टेक्सासका अध्यक्ष राजेन्द्र वाग्लेले जानकारी दिनु भयो । युलेशमा पशुपतिनाथ तथा मन्दिर निर्माणको दोश्रो चरणको काम शुरु भईरहेको छ । भक्तजनहरुको सहभागिता र सहयोगले मन्दिर सम्पन्न भएपछि पशुपतिनाथ मन्दिर महत्वपूर्ण धार्मिक गन्तब्य बन्ने दावी नेपाली समुदायका अगुवाहरुले गरेका छन ।
यस्तै टेक्सासको राजधानी अस्टिनमा रहेको पशुपतिनाथ मन्दिरमा आयोजना गरिएको महाशिबरात्री महोत्सबमा भक्तजनहरुको उल्लेख्य सहभागिता रहेको ग्रेटर अस्टिन नेपाली समाजले जनाएको छ । शिबरात्री मेलामा अस्टिन लगायत आसपासका शहरबाट भक्तजनहरु पशुपतिनाथ मन्दिर पूजाआजा गरेका थिए । पशुपतिनाथ मन्दिरमा बुधबार बिहानै देखि भक्तजनहरुको भिड लागेको थियो । बेलुकी ५ बजेपछि त एक्कासी श्रद्धालु भक्तजनहरुको घुईचो लागेपछि स्वयंसेवकहरुलाई व्यवस्थापन गर्न हम्मेहम्मे परेको थियो । बुधबार मात्रै ३ हजार बढीले मन्दिरमा पूजाआजा गरेको ग्यान्सका अध्यक्ष बिदुर खतिवडाले बताउनु भयो । महाशिबरात्री पर्बमा आयोजना गरिएका धार्मिक कार्यक्रमले नेपालको झल्को दिएको भक्तजनहरुले बताएका थिए ।
टेक्ससको प्रमुख शहर ह्युस्टनका नेपाली समुदायले पनि यस बर्षको महाशिबरात्री पर्ब भब्य रुपमा मनाएका छन । महाशिबरात्री पर्बको अवसरमा ह्युस्टन स्थित पशुपतिनाथ मन्दिरमा पूजाआजा, महाप्रसाद, भजनकिर्तन लगायतका धार्मिक कार्यक्रम आयोजना गरिएका थियो ।

ड्यालस

अस्टिन

    

ह्युस्टन

Leave A Reply

Your email address will not be published.