“बाना” लाई नेपाली समुदायको उत्कृष्ट संस्था बनाउँछौं ⁃ दमनबिक्रम शाह, महासचिब पदका उम्मेदवार

मेरिल्याण्ड राज्यको बालटिमोर स्थित बालटिमोर एशोसियशन अफ नेप्लिज ईन अमेरिका(बाना) मुनाफा रहित बिशुद्ध सामाजिक संस्था हो । बानाको नयाँ नेतृत्वको लागि अप्रिल ६ तारेखका दिन निर्बाचन हुँदैछ । उक्त निर्बाचनमा बिभिन्न ३ वटा (प्यानल) समूहले उम्मेदवारी दर्ता गराएका छन । उम्मेदवारी दर्ता गराएका प्यानलहरुलाई नेपाली राजनैतिक दलको समर्थनमा बनेको समूह भन्ने आरोप पनि लाग्ने गरेको छ । बानाको निर्बाचन निकै खर्चिलो भएको र निर्बाचनको खर्च हेर्दा नेपालको प्रतिनिधि सभाको निर्बाचनको झल्को आएको भन्नेहरु पनि छन । यिनै बिषयहरुसंग केन्द्रित रहेर हामीले लक्ष्मी भारती समूहका महासचिब पदका उम्मेदवार दमनबिक्रम शाहसंग कुराकानी गरेका छौं । प्रस्तुत छ, महासचिबका उम्मेदवार शाहसंग गरिएको कुराकानी………..

घण्टेश्वर अनलाईन ः बानाको नयाँ नेतृत्वको लागि निर्बाचन हुँदैछ । नेपाली राजनैतिक दलको समर्थनमा छुट््टा छुट्टै प्यानल बनेको कुरा बाहिर आएको छ । तपाई कुन पार्टीद्वारा समर्थित प्यानलको उम्मेदवार हो ?
दमनबिक्रम शाह ः बाना नेपाली समुदायद्वारा स्थापित बिशुद्ध सामाजिक संस्था हो । राजनैतिक संस्था होईन । बानाको नयाँ नेतृत्वको लागि बिभिन्न ३ वटा प्यानलले उम्मेदवारी दर्ता गराएका छन । मलाई लाग्छ कुनै पनि प्यानल राजनैतिक आस्थाका रुपमा बनेका होईनन । यदि अन्य प्यानलहरु राजनैतिक दलको आस्थाका आधारमा बनेका हुन भने उहाँहरुलाई सोधेपछि जानकारी हुने कुरा भयो । म लक्ष्मी भारती प्यानलबाट महासचिब पदको उम्मेदवार बनेको छु । म महासचिब पदको उम्मेदवार बनेको लक्ष्मी भारती समूह बिशुद्ध सामाजिक अभियन्ताहरु, सामाजिक क्षेत्रमा लामो समय योगदान दिएका अनुभवीहरु र नेपाली समुदायले बिश्वास गरेको समुह हो । त्यसैले हामीले नारा पनि अघि सारेका छौं, “बानाको आगामी नेतृत्व अनुभव र बिश्वासको” ।

घण्टेश्वर अनलाईन ः भनेपछि बानामा नयाँ नेतृत्वको लागि हुन गईरहेको निर्बाचनमा राजनैतिक आस्थाको कुनै प्रभाव छैन ?
दमनबिक्रम शाह ः मैले अघि पनि भनिसके अन्य प्यानलहरु कुन राजनैतिक दलको समर्थनमा बनेका हुन उहाँहरुलाई नै सोध्नुस । लक्ष्मी भारती समूहको प्यानल राजनैतिक आस्था भन्दा माथी उठेर बनेको सामाजिक अभियन्ताहरुको साझा प्यानल हो । नेपालीका लागि नेपालीहरुले निर्माण गरेको प्यानल भन्दा पनि हुन्छ ।

घण्टेश्वर अनलाईन ः सामाजिक सन्जालमा हेर्दा राजनैतिक नेतृत्वमा रहेका व्यक्ति तथा सँस्थाहरुले खुलेरै आफुले समर्थन गरेको प्यानलको प्रचार तथा मत मागेको देखिन्छ तपाई के भन्नु हुन्छ ?
दमनबिक्रम शाह ः हामी प्रवासमा छौं । नेपालमा हामी कुनै एक राजनैतिक दलको नेता कार्यकर्ता थियौं । अमेरिकामा आईसकेपछि नेपालको राजनैतिक दलको नेता कार्यकर्ता बन्नुको कुनै अर्थ देखिदैन । यदि अमेरिकामा राजनीति गर्ने हो भने अमेरिकाको मूलधारको राजनीतिमा नेपाली समुदायको पहुँच बढाउने हो । प्रतिनिधित्व गराउने हो भन्ने हाम्रो स्पष्ट धारणा रहेको छ । नेपाली समुदायले स्थापना गरेको सामाजिक संस्थामा नेपाली राजनैतिक दलको आस्थाको कुरा गर्न लाग्यौं भने समाजलाई फाईदा गर्दैन र समाज प्रत्यक्ष रुपमा बिभाजन गर्छ । त्यसो हामीले गर्नु हुँदैन । हामीले गर्ने राजनीति भनेको समाज सेवाको राजनीति हो । बानामा हाम्रा भन्दा पनि राम्रा ब्यक्तिहरु नेतृत्वमा आउनु पर्दछ भन्नै कुरा गर्नु पर्दछ । आम मतदाताहरु बिभाजित होईन सुदृढ र एकताबद्ध बाना भएको देख्न चाहान्छन । त्यो कुरा राजनैतिक आस्थाको प्रभावबाट होईन, राजनैतिक आस्था भन्दा माथी उठेको समूहबाट मात्र सम्भव छ ।

घण्टेश्वर अनलाईन ः तपाई महासचिब पदको उम्मेदवार हुनु हुन्छ । निर्बाचन अभियान कसरी अघि बढाउँदै हुनु हुन्छ । मतदाताको धारणा कस्तो पाउनु भयो ?
दमनबिक्रम शाह ः बाना मेरिल्याण्ड राज्यमा बसोबास गर्ने नेपालीहरुको साझा र स्वतन्त्र सामाजिक संस्था हो । बाना प्रति नेपालीहरुको आकर्षण बढ्दैछ । बानामा बिगतमा करिब २३०० मतदाता रहेकोमा अहिले ४ हजार ८ सय १२ मतदाता रहेका छन । हामी सबै मतदाताको घरदैलोमा त पुग्न सकिने सम्भावना छैन । तर हामी बिभिन्न सामाजिक सन्जालहरुको प्रयोग गरेर आफ्ना चुनावी एजेन्डाहरुको प्रचार प्रसार, फोनबाट, प्रत्यक्ष भेटघाट, बिभिन्न अन्तरक्रियाहरुको माध्यमबाट मतदाताका बिचमा आफ्ना धारणाहरु राख्ने काम गरिरहेका छौं । अर्को कुरा हाम्रो प्यानलबाट उम्मेदवार बनेका साथीहरु व्यवसायिक, लामो समय देखि नेपाली समुदायमा भिजेका सामाजिक अभियन्ताहरु, सामाजिक कार्यकर्ताहरु हुनु हुन्छ । त्यो कुरा आम मतदाताहरुका बिचमा स्पष्ट छ । हामीले बिगतमा पदमा हुँदा वा नहुँदा समाजको लागि गरेका कामको बारेमा आम बानाका सदस्यहरु तथा अन्य नेपालीहरुलाई जानकारी नै छ । हामी मतदाताका बिचमा जाँदा पनि व्यक्तिगत स्वार्थ, राजनैतिक स्वार्थभन्दा माथी उठेका सामाजिक व्यक्तित्वहरु बानाको नेतृत्वमा आउनु पर्ने धारणा देखिन्छ ।

घण्टेश्वर अनलाईन ः तपाईको समूहको चुनावी एजेन्डाहरु के के रहेका छन ?
दमनबिक्रम शाह ः उम्मेदवार बनेका सबै व्यक्ति तथा समूहहरुले निर्बाचनका क्रममा आफु निर्बाचित भएपछि गर्ने कामको बारेमा मतदाताका बिचमा एजेन्डाहरु राख्ने गर्दछन । हामीले पनि चुनावी घोषणा पत्रहरु निर्माण गरेका छौं । हामीले आममतदाताका बिचमा राखेका घोषणा पत्रहरुमा बिभिन्न बिश्वबिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुका सवालहरु, अमेरिकामा जन्मेका र हुर्केका दोस्रो पुस्तालाई नेपाली भाषा संस्कृति पुस्तान्तरण गर्ने कुरा, युवाहरुलाई खेलकुद प्रति आकर्षित गर्ने कुरा, सीपमूलक तालिमका कुरा, नेपाली चाडपर्बहरु सामुहिक रुपमा मनाउने कुरा, नेपाली समुदायलाई अमेरिकी कानूनको बारेमा जानकारी दिने कुरा, नेपाली दूताबासका सेवाहरुको लागि सहयोग र सहजिकरण गर्ने कुरा, अमेरिकी सरकारद्वारा प्रदान गरिने सेवा सुबिधाहरुको लागि सहजिकरण गर्ने कुरा, सवारी चालक अनुमति पत्रमा सहयोग र सहजिकरण, बानालाई आर्थिक र सँस्थागत रुपमा सुदृढ बनाउने कुरा, नेपालीहरुलाई अमेरिकी मूलधारको राजनीतिमा पुहँच बिस्तार गर्ने कुरा, नेपालीहरुलाई आपतबिपद्मा सहयोग गर्ने लगायतका कुराहरु समाबेश रहेका छन ।  अबको बाना पुरानो शैलीबाट अगाडी बढ्न सक्दैन ।  बानालाई नेपाली समुदायको उत्कृष्ट र सशक्त सामाजिक संस्थाको रुपमा बिकास गर्न आबश्यक छ । त्यो हामी   गर्छौ ।

घण्टेश्वर अनलाईन ः तपाईको समूह निर्बाचनमा बिजयी हुने कुरामा कत्तिको आशाबादी हुनु हुन्छ ?
दमनबिक्रम शाह ः निर्बाचनमा सहभागि हरेक ब्यक्ति तथा समूह निर्बाचन जित्ने कुरामा आशाबादी नै हुन्छन । हामी पनि छौं । त्यसको आधार पनि रहेको छ । हाम्रो समूहमा लामो समय सामाजिक क्षेत्रमा परिचित व्यक्तिहरु हुनु हुन्छ । हामीले समाजमा पुर्याएको योगदान घाम जस्तै छर्लङ्ग छ । हाम्रो समूहको कुनै व्यक्तिगत र राजनैतिक स्वार्थ छैन । सामाजिक संस्था भएकाले सामाजिक स्वार्थ हाम्रो पहिलो प्राथमिकता हो । राजनैतिक आस्था भएका व्यक्तिहरु एक हौं भन्दा पनि नेपालीका लागि नेपाली भन्ने नारा नै हाम्रो जितको आधार हो ।

घण्टेश्वर अनलाईन ः तपाई महासचिब पदको उम्मेदवार, तपाई आफु व्यक्तिगत रुपमा कत्तिको बिश्वस्त हुनु हुन्छ ?
दमनबिक्रम शाह ः हामी सक्षम व्यक्तिहरुको प्यानलै बनाएर निर्बाचनमा गएकाले बिजयी हुने कुरामा बिश्वस्त नै छौं । म व्यक्तिगत रुपमा पनि बिश्वस्त छु । व्यक्तिगत रुपमा भन्ने हो भने म पनि लामो समय देखि सामाजिक क्षेत्रमा सकृय रहेको छु । नेपालीहरुको सुखदुःखमा साथी बनेको छु । सुदूरपश्चिम नेपाली समाज मेरिल्याण्डको स्थापनाकाल देखि सकृय र पूर्ब अध्यक्ष, बानामा लामो समय देखि सकृय र सल्लाहकार रहेको छु । आफुपनि अमेरिकामा जिरो अवस्था देखिनै संघर्ष गर्दै आफुलाई स्थापित गर्दै लगेकाले नेपालीहरुका समस्याहरुको बारेमा स्पष्ट रुपमा जानकार छु । बानाकौ नेतृत्व तहमा जिम्मेवारी पाएमा कुशलतापूर्बक कार्य सम्पादन गर्ने क्षमता राख्छु । यही हो जितको आधार ।

घण्टेश्वर अनलाईन ः निर्बाचनमा जित्ने समुहले पराजित समुहलाई पेलेर लैजाने र हार्ने समुहले पनि जित्ने समुहलाई बिभिन्न बाहनामा असहयोग गर्ने परिपाटी रहेको छ । तपाईहरु बिजयी भएमा अन्य समूहलाई कसरी समेटेर लैजानु हुन्छ ?
दमनबिक्रम शाह ः निर्बाचन एउटा ईभेन्ट हो । निर्बाचनको परिणाम घोषणा भएपछि सकिन्छ । निर्बाचनका क्रममा हामी प्रतिष्पर्धी भएपनि निर्बाचन सकिएपछि हामी पुरानै अवस्थामा फर्किनु पर्छ । निर्बाचनले सामाजिक एकता र सद्भावमा कुनै फरक पार्नु हुँदैन । बिजयी हुनेले संस्थाका काममा पराजित हुने समुहलाई पनि समेटेर लैजानु पर्दछ । पराजित हुने समुहले पनि समुदायको लागि गरिने हरेक काममा सहभागि भई सहयोग समर्थन गर्नु पर्दछ । हाम्रो समुह बिजयी भएमा हामी बानालाई एकताबद्ध, सुदृढ र नेपाली समुदायको साझा र उत्कृष्ट सँस्था बनाउँछौं । यो कार्यका लागि हामी बानाका आम सदस्यहरु तथा अन्य नेपालीहरुलाई पनि संगसंगै साथमा लिएर अगाडी बढ्छौं ।

घण्टेश्वर अनलाईन ः अन्तमा के भन्न चाहानु हुन्छ ?
दमनबिक्रम शाह ः मानिस सामाजिक प्राणी हो । मानिस भौतिक रुपमा जहाँ भएपनि समाजमा बस्न चाहान्छ । नेपालीहरु जहाँ भएपनि एकताबद्ध र सँगठित भएर समाजमा बसेको देखिन्छ । बाना पनि त्यसैको उदाहरण हो । समाजमा संगठित भएर बसेको व्यक्तिमा समाज सेवा गर्ने हुटहुटी हुन्छ । म र हाम्रो समुहलाई समाज सेवा गर्ने हुटहुटी भएका कारण बानाको नयाँ नेतृत्वको लागि हुन गईरहेको निर्बाचनमा सक्षम व्यक्तिहरुको टीमका साथमा बानाका आम मतदाताहरुका बिचमा आएका छौं । हामीलाई बिजयी बनाएर सहयोग गरिदिन हुन अनुरोध गर्दछु ।

 

Leave A Reply

Your email address will not be published.