घण्टेश्वर अनलाईन
ड्यालस, टेक्सस
अमेरिकामा रहेका मधेशी समुदायको सँस्था मधेशी एशोसियशन ईन अमेरिका “माँ” को चौथो महाधिबेशन आईतबार भर्जिनियाको म्यानसस शहरमा हुने भएको छ । सो महाधिबेशनले संस्थाका बार्षिक कार्यक्रम, संस्थागत तथा आर्थिक प्रगति प्रतिबेदन पारित गर्नुका साथै आगामी २ बर्षका लागि नयाँ नेतृत्व समेत चयन गर्ने केन्द्रिय अध्यक्ष डा. संगीत रौनियारले बताउनु भयो ।
चौथो महाधिबेशनको लागि “मधेशीको शान, आफ्नो सँस्कृति, आफ्नो पहिचान” भन्ने मूल नाराका तय गरिएको छ । नेपालका पूर्ब उप प्रधानमन्त्री राजेन्द्र महतो प्रमुख अतिथी रहनु हुने उक्त महाधिबेशनको सबै तयारी लगभग पुरा भएको माँ सँस्थाले जनाएको छ ।
मधेशी एशोसियशन ईन अमेरिका “माँ” को चौथो महाधिबेशनको उद्घाटन कार्यक्रममा नेपालबाट मधेशी नेताहरु, नेपाली दूताबास, गैरअवासीय नेपाली संघ अमेरिका, नेपाली समुदायका बिभिन्न संस्थाहरु तथा अमेरिकी समुदायका प्रतिनिधिहरुको पनि उपस्थिती रहने आयोजकले जानकारी दिएका छन ।
अमेरिकामा रहेका मधेशी समुदायको छाता संस्था माँ को चौथो महाधिबेशन ऐतिहासिक हुने बरिष्ठ उपाध्यक्ष मनोज सिंह बताउनु भयो । महाधिबेशनको लागि अमेरिकामा रहेका १९ वटा च्याप्टरबाट करिब ३ सय भन्दा बढी मधेशी समुदायको जमघट हुने उक्त महाधिबेशनमा साँस्कृतिक परेड, मधेशी कलाको प्रदर्शनी, मधेश पार्कको कार्य योजना समेत उद्घाटन गरिने छ ।
उक्त अवसरमा संस्थालाई बिभिन्न क्षेत्रबाट सहयोग गर्ने ब्यक्ति तथा संस्थाहरुलाई पनि सम्मान गर्ने कार्यक्रम रहेको छ ।