घण्टेश्वर अनलाइन
ड्यालस, टेक्सास
अमेरिकाको न्यूजर्सीमा शनिबार आयोजित नेपाल डे परेड कार्यक्रममा नेपाली समुदायले उत्साहजनक सहभागिता जनाएका छन्।
नेपाली कला र संस्कृतिको प्रचार–प्रसार गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा नेपाली तथा अमेरिकी समुदाय दुवैको उल्लेखनीय उपस्थिति देखिएको थियो।
ग्रेटर जर्सी नेपाली समाज, न्यूजर्सी नेपाली समाज, गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिका न्यूजर्सी च्याप्टर, एआरसी फर नेपाल, कारणका लागि महिला, फ्रेन्ड्स अफ नेपाल तथा अन्य स्थानीय सामाजिक संघसंस्था र नेपाल सरकारका न्यूयोर्कस्थित पर्यटन प्रवर्द्धकको समन्वयमा कार्यक्रम सम्पन्न गरिएको हो।
पहिलोपटक आयोजना गरिएको नेपाल डे परेडमा विविध मौलिक सांस्कृतिक झाँकीहरू तथा नेपालका विभिन्न पर्यटकीय स्थलहरूको जानकारीमूलक सामग्री प्रदर्शनी गरिएको थियो। स्थानीय अमेरिकी समुदायले पनि नेपाल उत्सवलाई चासोका साथ अवलोकन गरेका थिए।
संयुक्त राष्ट्रसंघका लागि नेपाल सरकारका स्थायी प्रतिनिधि तथा राजदूत लोकबहादुर थापा र न्यूजर्सीस्थित फेरलन सिटीका उप–मेयर जोश रेईनिजले संयुक्त रूपमा कार्यक्रम उद्घाटन गरेका थिए।
उद्घाटन समारोहमा बोल्दै राजदूत थापाले विदेशमा आयोजना गरिने नेपाल उत्सव जस्ता कार्यक्रमहरूले नेपालको पर्यटन प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्याउने बताए। नेपाल पर्यटकका लागि सुरक्षित गन्तव्य रहेको उल्लेख गर्दै उनले प्रवासी नेपालीहरूलाई यसको बारेमा सकारात्मक सन्देश प्रवाह गर्न आग्रह गरे।
कार्यक्रमका दौरान नेपाल सरकारका न्यूयोर्कस्थित पर्यटन प्रवर्द्धक गोकुल श्रेष्ठले उप–मेयर जोश रेईनिजलाई नेपालको पर्यटनसम्बन्धी जानकारीमूलक पुस्तकहरू हस्तान्तरण गर्दै नेपाल भ्रमणको निमन्त्रणा दिए। उनले अमेरिकामा नेपाली समुदायको बसोबास बढ्दै गएको सन्दर्भमा सबैले आ–आफ्नो स्थानबाट पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउनु पर्नेमा जोड दिए।
सञ्चारकर्मी विक्की पुलामी र मिस नेपाल इन्टरनेशनल २०१२ सुवेक्षा खड्काले संयुक्त रूपमा सञ्चालन गरेको कार्यक्रममा स्थानीय कलाकारहरूले सांस्कृतिक प्रस्तुति दिएका थिए।
राजेन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सञ्जिव श्रेष्ठ इभेन्ट डाइरेक्टरका रूपमा र सतेन्द्र शाह कन्भेनरको भूमिकामा रहेका थिए। आयोजकहरूले नेपाल डे कार्यक्रम आगामी वर्षहरूमा पनि निरन्तर रूपमा आयोजना गरिने जानकारी दिएका छन्।