घण्टेश्वर अनलाइन
सान फ्रान्सिस्को (क्यालिफोर्निया)
अमेरिकाको क्यालिफोर्नियाको प्रमुख शहर सान फ्रान्सिस्कोमा रहेका नेपाली समुदायले बृहत धार्मिक महोत्सव आयोजना गर्न लागेको छ।
नेपाली एशोसिएसन अफ नर्दन क्यालिफोर्निया (नान्स) ले यही आउँदो जुन ७ देखि १५ गतेसम्म ९ दिनसम्म श्रीमद् देवीभागवत नवाह ज्ञान महायज्ञ तथा बौद्ध शान्ति पूजा आयोजना गर्न लागेको हो।
कार्यक्रमको प्रमुख उद्देश्य प्रवासमा नेपाली भाषा, कला, संस्कृति र नेपालीपनको प्रवर्द्धन गर्नु नै रहेको धार्मिक महोत्सव मूल आयोजक समितिका संयोजक घनप्रसाद दवाडीले जानकारी दिनुभयो।
नेपालका चर्चित कथावाचक पण्डित दिनबन्धु पोखरेलले कथा वाचन गर्ने यस कार्यक्रममा हिन्दू र बौद्ध धर्मसम्बन्धी विभिन्न पूजा–आजाका कार्यक्रमहरू सञ्चालन हुने आयोजकले जनाएका छन्।
महोत्सवको पहिलो दिन कलश यात्रा आयोजना गरिनेछ। महोत्सवका प्रत्येक दिन पितृमोक्ष संकल्प पूजा, सत्यनारायण पूजा, रुद्री (वास्तु) पूजा, ग्रहशान्ति पूजा, लाखबत्ती पूजा जस्ता धार्मिक क्रियाकलापहरू सञ्चालन हुनेछन्। बौद्ध पूजा भने बौद्ध गुरु तेन्जिङ लामा शेर्पाले सञ्चालन गर्नुहुने संयोजक दवाडीले जानकारी दिनुभयो।
महोत्सवबाट संकलन हुने रकम हालै खरिद गरिएको नेपाली कम्युनिटी सेन्टर को नयाँ भवनको ऋण चुक्ता गर्न खर्च गरिनेछ। नेपाली एशोसिएसन अफ नर्दन क्यालिफोर्निया (नान्स) ले सो भवन १९ लाख २० हजार ९ सय ४२ अमेरिकी डलरमा खरिद गरेको थियो, जसमा १३ लाख १५ हजार डलर ऋण बाँकी रहेको बताइएको छ।
करिब १०,८०० वर्गफुट क्षेत्रफलको उक्त भवनमा ५२८ जना क्षमताको सुविधा सम्पन्न मुख्य सभाकक्ष, २०० सिट क्षमताको क्याफेटेरिया, ६ वटा अफिस कोठा, भान्सा, साना स्टोर कोठाहरू र शौचालयहरू छन्। साथै, ५४ हजार वर्गफुट क्षेत्रफलको पार्किङ लटमा ११० भन्दा बढी सवारी साधन पार्किङ गर्न सकिने व्यवस्था रहेको छ।
