घण्टेश्वर अनलाइन
ड्यालस, टेक्सस
पूर्वमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का उपमहासचिव गिरिराजमणि पोखरेलले प्रवासी नेपालीहरूलाई आफूले अध्ययन गरेको विद्यालयसँग पुनः सम्बन्ध जोड्न आग्रह गरेका छन्।
नेपाली समाज टेक्ससले बिहीबार आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै पोखरेलले भने, “हामी जहाँ भए पनि हाम्रो आधार भनेको हामीले अध्ययन गरेको विद्यालय नै हो। त्यसैले कुनै न कुनै रूपमा आफ्नो पुरानो विद्यालयसँग जोडिनु आवश्यक छ।”
प्रवासी नेपालीहरूले प्रवासमा नेपाली भाषा र संस्कृति जोगाउन गरेको प्रयास सराहनीय रहेको उल्लेख गर्दै उनले प्रवासमा जन्मेका र हुर्केका दोस्रो पुस्तालाई नेपाली भाषा र संस्कृतिबाट टाढा नराख्न सुझाव दिए।
पूर्व शिक्षा तथा स्वास्थ्य मन्त्रीसमेत रहेका पोखरेलले मन्त्री रहेका बेला आफूले शिक्षा र स्वास्थ्य क्षेत्रमा गरेका कामहरू तथा ती क्षेत्रको वर्तमान अवस्थाबारे समेत जानकारी गराएका थिए।
कार्यक्रममा सहभागी प्रवासी नेपाली अगुवाहरूले राप्रपा नेता ज्ञानेन्द्र शाहीले प्रवासी नेपालीका समस्याबारे संसदमा आवाज उठाएको स्मरण गर्दै, तर नीति निर्माणमा प्रभावशाली दलका नेताहरूले प्रवासीको मुद्दालाई बेवास्ता गरेको गुनासो गरेका थिए।
कार्यक्रममा नेपाली समाज टेक्ससका अध्यक्ष राजेन्द्र वाग्ले र ग्लोबल नेपाली पाठशालाका प्रिन्सिपल डा. भोजबहादुर बलायरले संस्थाले प्रवासमा नेपाली भाषा र संस्कृति जोगाउन गरेका पहलबारे प्रकाश पारे।
कार्यक्रमको सञ्चालन नेपाली समाज टेक्ससका महासचिव विजय भुसालले गरेका थिए।
