महावाणिज्य दूतावास कार्यालयका उच्च अधिकारीलाई ड्यालसमा भव्य स्वागत

घण्टेश्वर अनलाईन

 ड्यालस, टेक्सस

नेपाल सरकारले अमेरिकाको टेक्सस राज्यको ड्यालसमा स्थापना गर्न लागेको महावाणिज्य दूतावास कार्यालयमा पदस्थापन भई आएका उच्च अधिकारीहरूलाई मंगलबार एक भव्य समारोहका बीच ड्यालसमा स्वागत गरिएको छ।

नेपाली समाज टेक्ससद्वारा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा सहसचिव तथा महावाणिज्यदूत सुरेश अधिकारी र उपसचिव धना जोशीलाई नेपाली समुदायका अगुवाहरूले हार्दिक स्वागत गरेका थिए। युलेशस्थित नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रमा आयोजित सो कार्यक्रममा महावाणिज्यदूत अधिकारीले नेपाली डायस्पोराप्रतिको सेवा र सहयोगका विषयमा देखिएको एकता तथा सहकार्यको मुक्तकण्ठले प्रशंसा गर्नुभयो।

उहाँले नेपाली समुदायको साझा पहलले नेपाल सरकारले ड्यालसमा महावाणिज्य दूतावास कार्यालय स्थापना गर्न अघि बढेको उल्लेख गर्दै सो कार्यका लागि औपचारिक प्रक्रिया थालिएको जानकारी दिनुभयो।

“हाल कार्यालय रहने स्थानको छनोटको तयारीमा छौं। अमेरिकी सरकारबाट स्वीकृति प्राप्त भएपश्चात कार्यालय व्यवस्थापन तथा सेवाको सुरुवात गरिनेछ,” अधिकारीले बताउनुभयो।

महावाणिज्यदूत कार्यालय टेक्सससहित ओक्लाहोमा, अर्कान्सास, लुजियाना, न्यू मेक्सिको, कन्सास, मिसिसिपी र कोलोराडो राज्यका नेपाली समुदायलाई सेवा प्रदान गर्नेछ। परराष्ट्र मन्त्रालयबाट चार जनाको पदस्थापन गरिएकोमा महावाणिज्यदूत सुरेश अधिकारी र उपसचिव धना जोशीले हाल ड्यालसमा रहेर नेपाली समुदायका अगुवासँग छलफल तथा समन्वय गरिरहनुभएको छ।

कार्यक्रममा नेपाली समुदायका अगुवाहरूले महावाणिज्य दूतावास कार्यालय नेपाली समुदायकै सम्पत्ति भएको महसुस गर्दै कार्यालयको स्थापनाका लागि पूर्ण समर्थन र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

नेपाली समाज टेक्ससका महासचिव विजय भुसालको सञ्चालनमा सम्पन्न कार्यक्रमको अध्यक्षता गर्दै अध्यक्ष राजेन्द्र वाग्लेले ड्यालसमा नेपाल सरकारको महावाणिज्य दूतावास कार्यालय स्थापनामा साथ दिने सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो। “उक्त अवसरमा महावाणिज्य दूतावासका उच्च अधिकारीलाई टेक्ससमा नेपाली समुदायले गरेका विविध गतिविधि र योगदान समेटिएको स्मारिका नेपाली समाज टेक्ससका अध्यक्ष राजेन्द्र वाग्लेले हस्तान्तरण गर्नुभएको थियो।”

उक्त अवसरमा युलेश सिटीका उपप्रमुख टिका पौडेल, नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रकी अध्यक्ष सिता सापकोटा, नेपाली समाज टेक्ससका पूर्वअध्यक्ष प्रेम अधिकारी, गैरआवासीय नेपाली संघ अमेरिकाका वरिष्ठ उपाध्यक्ष विकास उप्रेती, पानस अमेरिकाका अध्यक्ष रवि रावल, प्रवासी नेपाली मञ्च अमेरिकाका सचिव विजय भट्टराई, ग्रेटर अष्टिन नेपाली समाजका कोषाध्यक्ष धिरेन्द्र यादव, नेपाली जनसम्पर्क समिति ड्यालसका अध्यक्ष ज्ञानेन्द्र कार्की, जनप्रगतिशील मञ्च अमेरिकाका ओम लामिछाने र नेपाल अमेरिका पत्रकार संघ (नेजा) का अध्यक्ष सुरज भण्डारीले समेत मन्तव्य व्यक्त गर्नुभएको थियो।

Leave A Reply

Your email address will not be published.