घण्टेश्वर अनलाईन
क्यालिफोर्निया (सान फ्रान्सिस्को)
क्यालिफोर्नियाको सान फ्रान्सिस्कोमा आयोजना गरिएको एक धार्मिक महोत्सवबाट ७ लाख अमेरिकी डलर संकलन गरिएको छ । नेपाली एसोसिएसन अफ नर्दन क्यालिफोर्निया (नान्स) द्वारा आयोजित श्रीमद् देवीभागवत नवाह ज्ञान महायज्ञ तथा बौद्ध शान्ति पूजा मा नेपाली समुदायले उत्साहपूर्वक आर्थिक सहयोग तथा प्रतिबद्धता व्यक्त गरेका छन् ।
आयोजक समितिका संयोजक घनप्रसाद दवाडीका अनुसार सान फ्रान्सिस्कोमा खरिद गरिएको नेपाली सामुदायिक केन्द्र भवनको बाँकी भुक्तानीका लागि आर्थिक स्रोत जुटाउने उद्देश्यले उक्त धार्मिक कार्यक्रम आयोजना गरिएको थियो ।
९ दिनसम्म सञ्चालन भएको महोत्सवमा नेपाली समुदायको उल्लेखनीय सहभागिता देखिएको थियो। कार्यक्रममा नेपालका चर्चित कथावाचक पंडित दिनबन्धु पोखरेलले देवीभागवत कथा वाचन गरेका थिए भने बौद्ध गुरु तेन्जिङ लामा शेर्पाले बौद्ध शान्ति पूजा सम्पन्न गरेका थिए ।
क्यालिफोर्नियामा नेपाली समुदायको बाक्लो बसोबास रहेको यस क्षेत्रमा गत वर्ष १९ लाख २० हजार ९ सय ४२ अमेरिकी डलरमा सामुदायिक केन्द्रको भवन खरिद गरिएको थियो। उक्त रकममध्ये हालसम्म १३ लाख १५ हजार डलर ऋण बाँकी रहेको नान्सले जानकारी दिएको छ ।
करिब १०,८०० वर्गफुट क्षेत्रफलमा फैलिएको उक्त भवनमा ५२८ सिट क्षमताको सुविधा सम्पन्न मुख्य सभाकक्ष, २०० सिट क्षमताको क्याफेटेरिया, ६ वटा अफिस कोठा, भान्सा, स्टोर कोठाहरू तथा शौचालयहरू रहेका छन्। साथै, ५४ हजार वर्गफुट क्षेत्रफलको पार्किङ क्षेत्रमा ११० भन्दा बढी सवारी साधन पार्किङ गर्न सकिने व्यवस्था पनि गरिएको छ ।
