घण्टेश्वर अनलाइन
ड्यालस, टेक्सस ।
यस वर्षको भानु जयन्तीको अवसरमा टेक्ससको ड्यालसमा “सरु–मुरारी सांगीतिक साँझ” कार्यक्रम आयोजना हुने भएको छ।
सर्वोदय फाउण्डेसन नेपालले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) सँगको सहकार्यमा यही जुलाई १३ तारिख, आइतबारका दिन ड्यालसको अर्भिङमा कार्यक्रम आयोजना गर्न लागेको हो।
ड्यालसको अर्भिङस्थित ‘भेटघाट रेस्टुरेन्ट’मा हुने उक्त कार्यक्रममा सरु गुरागाई र मुरारी गुरागाईले विशेष सांगीतिक प्रस्तुति दिनेछन्। अमेरिकाको भर्जिनियामा बसोबास गर्दै आएका सरु र मुरारी गुरागाई भानुभक्तीय रामायण वाचनका कारण नेपाली समुदायमा परिचित र चर्चित जोडी हुन्।
आयोजकका अनुसार कार्यक्रममा सहभागी हुन टिकट खरिद गर्नु पर्नेछ। कार्यक्रमबाट संकलित रकम नेपालमा सार्वजनिक पुस्तकालय सञ्चालनका लागि खर्च गरिने जनाइएको छ।