घण्टेश्वर अनलाइन
ड्यालस, टेक्सस
गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषदअन्तर्गत टेक्सस च्याप्टरको निर्वाचनमा अध्यक्ष बाहेक सबै पदमा उम्मेदवारी निर्विरोध भएको छ।
निर्वाचन आयोगद्वारा तोकिएको आइतबारसम्मको मनोनयन दर्ता अवधिमा अध्यक्ष पदबाहेक अन्य सबै पदमा एक/एक मात्र उम्मेदवारी परेपछि ती पदहरूमा उम्मेदवारहरू निर्विरोध घोषित भएका हुन्।
आयोगले सार्वजनिक गरेको विवरणअनुसार अध्यक्ष पदका लागि ईश्वर ढकाल, निलेश श्रेष्ठ र गोविन्द गौतम गरी तीन जनाले उम्मेदवारी दिएका छन्।
त्यस्तै, उपाध्यक्ष पदमा रामप्रसाद अधिकारी, महिला उपाध्यक्षमा गौरी बुर्लाकोटी, सचिवमा रोचक गौतम र कोषाध्यक्षमा राहुल झा निर्विरोध उम्मेदवार बनेका छन्।
महिला संयोजक पदमा इन्दु लामा, युवा संयोजकमा लक्ष्मण थापा र बिओडी सदस्यमा महेन्द्र पुनको मात्र उम्मेदवारी परेको निर्वाचन आयोगका सचिव रबिनराज बज्राचार्यले जानकारी दिएका छन्।
यसैगरी, राष्ट्रिय समन्वय परिषद अमेरिका (एनसीसी अमेरिका) को अध्यक्ष पदका लागि टेक्ससका विकास उप्रेतीको मात्र उम्मेदवार बनेका छन्। निर्विरोध उम्मेदवारहरूलाई निर्वाचन आयोगले आधिकारिक रूपमा निर्वाचित घोषणा गर्न बाँकी रहेको छ।
संघका राष्ट्रिय तथा च्याप्टरस्तरीय पदहरूमा सहमति नभएका पदहरूका लागि यही जुलाई २७ र २८ तारिखमा निर्वाचन हुने जनाइएको छ।
अन्तर्राष्ट्रिय समन्वय परिषद (आईसीसी) सँगको आबद्धता र परराष्ट्र मन्त्रालयको निर्देशनअनुसार जुलाई महिनाभित्र निर्वाचन गराउनुपर्ने सन्दर्भमा विवाद उत्पन्न भएपछि आईसीसीले एनसीसी अमेरिकाको निर्वाचन गराउन विशेष निर्वाचन समिति गठन गरेको थियो। “आईसीसीसँगको संस्थागत सम्बन्ध जोगाउन तथा नेपाल सरकारको परराष्ट्र मन्त्रालयको निर्देशनको पालना गर्न जुलाई महिनाभित्र निर्वाचन आवश्यक भएको र संस्थाको छवि जोगाउन यही समयसीमाभित्र प्रक्रिया सम्पन्न गर्नु परेको उक्त पक्षको तर्क छ।”
यता, बासु फुलाराको नेतृत्वमा रहेकोअर्को पक्षीय निर्वाचन आयोगले भने आगामी अगस्ट १७ र १८ तारिखमा निर्वाचन मिति घोषणा गरिसकेको छ।
संघ अमेरिकाको कानुनी संरचनाअनुसार सामाजिक संस्था स्वरूपमा दर्ता भएकाले आईसीसीसँगको आबद्धता र परराष्ट्र मन्त्रालयको निर्देशन बाध्यकारी नभएको भन्दै उक्त पक्षले छुट्टै निर्वाचन प्रक्रियाको तयारी गरेको छ।
यसरी दुई पक्षीय मतभेदका कारण गैरआवासीय नेपाली संघ अमेरिकाको निर्वाचन छुट्टाछुट्टै मितिमा हुन लागेको छ। आईसीसीको विवाद र गुटबन्दीको असर एनसीसी अमेरिकाको निर्वाचन प्रक्रियामा समेत स्पष्ट रूपमा देखिएको छ।