क्यालिफोर्नियाका पत्रकार वाग्लेको उपचारका लागि नेजाद्वारा सहयोग अभियान सुरु
नेजाद्वारा १ हजार डलर सहयोग
घण्टेश्वर अनलाइन
ड्यालस, टेक्सस
नेपाल–अमेरिका पत्रकार संघ (नेजा) ले ‘ब्रेन ट्युमर’को समस्याबाट पीडित भई गम्भीर अवस्थाका क्यालिफोर्नियाका वरिष्ठ पत्रकार तथा संस्थाका आजीवन सदस्य जिवन्त वाग्लेको उपचारका लागि सहयोग अभियान सुरु गरेको छ ।
नेजाले एक प्रेस विज्ञप्ति जारी गर्दै पत्रकार वाग्लेको उपचारका लागि “गो फण्ड मी” अभियान सञ्चालन गरिएको जानकारी दिएको हो। अमेरिकामा रहेका नेपाली समुदायलाई उक्त खातामार्फत सहयोग गर्न समेत आग्रह गरिएको छ ।
वाग्लेलाई गत जुलाई ७ मा सान फ्रान्सिस्कोस्थित वालनट क्रिकको जोन म्युएर अस्पतालमा ‘ब्रेन ट्युमर’को शल्यक्रिया गरिएको थियो। तर उनी अझैसम्म पूर्ण होसमा आइसकेका छैनन्। अस्पतालले लामो समयसम्म उपचार आवश्यक पर्ने जनाएपछि नेजाले सहयोग अभियान थालेको हो
हाल वाग्लेको स्वास्थ्यमा उल्लेखनीय सुधार देखिएको छैन। उनको स्वर गुमेको छ भने मुखबाट खाना खान नसक्ने अवस्था भएका कारण पेटमार्फत पाइपको सहायताले खाना खुवाउने गरिएको छ। चिकित्सकका अनुसार उनलाई अझै कति समय अस्पतालमै राख्नुपर्ने हो भन्ने यकिन भइसकेको छैन। उनी पूर्ण रूपमा निको हुने नहुने भन्नेबारे पनि हाल भन्न नसकिने अस्पतालले जनाएको छ ।
वाग्ले विगत एक वर्षदेखि अस्वस्थ रहेका कारण नियमित काम गर्न सकेका थिएनन्। हाल उनका साथमा उनकी श्रीमती र १० वर्षे छोरा छन्। श्रीमतीले रातको समयमा आंशिक रोजगारी गरी घर धान्दै आएकी थिइन्। तर अहिले श्रीमानको उपचार जटिल बन्दै गएकाले उनले जागिर छाडेर श्रीमान र छोराको हेरचाह गरिरहेकी छन् ।

नेजाले गो फण्ड मी अभियानको लिङ्कमार्फत पत्रकार वाग्लेको उपचारमा सहयोग गर्न सबै नेपाली समुदायलाई अपिल गरेको छ ।