घण्टेश्वर अनलाइन
ड्यालस, टेक्सस
डा. अर्जुन बन्जाडे अध्यक्ष रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिका अन्तर्गत राष्ट्रिय समन्वय परिषद् (एनसीसी) र च्याप्टरहरूको नयाँ नेतृत्व चयन गर्न यही आउँदो अगस्ट १६ र १७ तारिखमा निर्वाचन हुँदैछ । बासु फुलाराको अध्यक्षतामा रहेको निर्वाचन आयोगले गराउन लागेको निर्वाचनमा करिब ३०० जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
उक्त निर्वाचनमा पाँच जना सुदूरपश्चिमेली उम्मेदवारले राष्ट्रिय समन्वय परिषद्का विभिन्न पदमा उम्मेदवारी दिएका छन् । विगतको तुलनामा यसपटक अमेरिकामा रहेका सुदूरपश्चिमेलीहरुका एनआरएनए निर्बाचनमा चासो र सहभागिता बढेको दाबी गरिएको छ । सन २०२३–२५ कार्यकालको निर्वाचनमा तीन जना मात्र प्रतिस्पर्धी रहेका थिए भने यसपटक पाँच जनाको उम्मेदवारी परेको हो ।
यस पटकको राष्ट्रिय समन्वय परिषद् (एनसीसी) निर्बाचनमा बैतडीका बासुदेव भट्टले खुला सचिव पदमा उम्मेदवारी दिएका छन् । सन् २०१३ देखि अमेरिकाको नर्थ क्यारोलिनामा बसोबास गर्दै आएका भट्ट १२ वर्षदेखि एनआरएनएमा सक्रिय छन् । उनले यसअघि नर्थ क्यारोलिना च्याप्टरका सचिव (२०१९–२१) र अध्यक्ष (२०२१–२३) को जिम्मेवारी सम्हालिसकेका छन् । अघिल्लो कार्यकालमा भट्टले राष्ट्रिय समन्वय परिषद् (एनसीसी) को बोर्ड अफ डाइरेक्टर पदमा काम गरिसकेका छन् ।
डोटीका रामबहादुर देउवाले बोर्ड अफ डाइरेक्टर पदमा उम्मेदवारी दिएका छन् । नेपालमा कानून विषयमा स्नातक गरेका देउवा न्यूयोर्कमा व्यवसायमा सक्रिय छन् र सुदूरपश्चिम नेपाली समाज न्यूयोर्कका पूर्व अध्यक्ष समेत हुन् । “गैरआवासीय नेपाली संघ अमेरिकालाई हाम्रो मात्र होइन, संस्थाकौ छविलाई सुधारका लागि सहयोग गर्न उम्मेदवारी दिएको हुँ,“ देउवाले बताएका छन् ।
उनले एनआरएनए सबै गैरआवासीय नेपालीको साझा संस्था भएको उल्लेख गर्दै संस्थामा एकता, सहमति र जवाफदेहिता कायम राखी सबल र समावेशी नेतृत्व निर्माणमा योगदान दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
बोर्ड अफ डाइरेक्टर पदमा उम्मेदवारी दिएका अछामका हेमबहादुर ठकुल्ला क्यालिफोर्नियाको लस एन्जलसमा बसोबास गर्दै आएका छन् । उनी सुदूरपश्चिम नेपाली समाज क्यालिफोर्नियामा लामो समयदेखि आबद्ध रही सामाजिक सेवामा सक्रिय छन् ।
ठकुल्लाले गैरआवासीय नेपाली संघ सबैको साझा संस्था हो भन्ने विश्वास स्थापित गर्दै संस्था प्रति गैरआवासीय नेपालीहरुको आकर्षण बढाउन योगदान दिन उम्मेदवारी दिएको बताएका छन् ।
ठकुल्लाले सन् २०२१–२०२३ कार्यकालमा क्यालिफोर्निया च्याप्टरमा उत्कृष्ट योगदान पु¥याएका थिए । सामाजिक क्षेत्र र संस्थागत नेतृत्वमा उनले देखाएको इमानदारी, अनुभव र क्षमताले आफ्नो उम्मेदवारीलाई थप सशक्त बनाएको उनी बताउँछन् ।
कञ्चनपुरका युवा सुरेन्द्रप्रसाद अवस्थीले पनि बोर्ड अफ डाइरेक्टर पदमा उम्मेदवारी दिएका छन् । नेपालमा रहँदा उनी नेपाल विद्यार्थी संघ तथा जुनियर रेडक्रस सर्कलमार्फत सामाजिक क्रियाकलापमा सक्रिय थिए ।
हाल उनी टेक्ससको सेन्ट्रल अस्टिनमा बसोबास गर्दै छन् र सुदूरपश्चिम नेपाली समाज टेक्ससको दोस्रो कार्यकालको लागि बोर्ड सदस्यका रूपमा कार्यरत छन् ।
अवस्थीले प्रवासमा रहँदा पनि समुदायप्रति जिम्मेवार भूमिका खेल्ने उद्देश्यले उम्मेदवारी दिएको जनाएका छन् । उनले एनआरएनएको सुदृढ, जवाफदेही, समावेशी र पारदर्शी नेतृत्व निर्माणमा योगदान पु¥याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
यस्तै गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अन्तरगत आईसिसि सदस्य पदमा उम्मेदवारी दिएका सुदूरपश्चिमका हरिप्रसादजोशी निर्बिरोध भईसकेका छन् ।