ड्यालसबासीलाई तीजको चटारो, लुम्बिनी सेवा समाजको तीज कार्यक्रम अगस्ट १७ मा

घण्टेश्वर अनलाइन
ड्यालस, टेक्सस,
नेपाली महिलाहरूको महान् चाड हरितालिका तीज यस वर्ष भदौ १० गते अर्थात् अगस्ट २६ मा परेको छ । तर टेक्ससको ड्यालसमा रहेका नेपाली समुदायमा भने तीजको चटारो सुरु भइसकेको छ ।
टेक्ससमा क्रियाशील विभिन्न जातीय तथा क्षेत्रीय संस्थाहरूले तीज मनाउने तयारी थालेका छन् । सामाजिक सञ्जालहरूमा तीज तथा दरखाने कार्यक्रमका ब्यानर सार्वजनिक भइरहेको छ ।
यसैक्रममा लुम्बिनी सेवा समाज, अमेरिकाले यही अगस्ट १७ (आईतबार) का दिन तीज विशेष कार्यक्रम आयोजना गर्ने भएको छ । अर्भिङस्थित भेटघाट रेस्टुरेन्टमा हुने सो कार्यक्रम दिउँसो २ बजेदेखि राति १० बजेसम्म सञ्चालन हुनेछ ।
समाजकी महिला संयोजक राधिका खरालका अनुसार कार्यक्रममा संयुक्त दरखानेसहित मौलिक नेपाली लोकधुनमा आधारित तीज गीत र सांस्कृतिक प्रस्तुतीहरू रहनेछन् । उनले लुम्बिनी प्रदेशको मौलिकता झल्किने तीज गीत तथा नृत्य प्रस्तुत गरिने जानकारी दिइन्।
कार्यक्रममा सहभागी हुन १० वर्षभन्दा माथिका व्यक्तिका लागि ३० डलर प्रवेश शुल्क तोकिएको छ । लुम्बिनी सेवा समाजले हरेक बर्ष मौलिकता र सांस्कृतिक विविधता झल्किने तीज कार्यक्रम आयोजना गर्दै आएको छ ।
समाजले सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रममा उपस्थित भई तीजको सांगीतिक र सांस्कृतिक उत्सवमा सहभागी हुन आग्रह गरेको छ ।

Leave A Reply

Your email address will not be published.