घण्टेश्वर अनलाईन
ड्यालस, टेक्सस
नेपालको पर्यटन प्रर्वद्धनमा टेवा पुर्याउने उद्देश्यले गैर–आवासीय नेपाली संघ, अमेरिकाद्वारा “भिजिट नेपाल–२०२५” नामक पर्यटन पत्रिका प्रकाशन गरिएको छ ।
उक्त पत्रिकाको आगामी २९ अगस्ट, २०२५ मा एक समारोह आयोजना गरि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले काठमाण्डौंमा लोकार्पण गर्ने कार्यक्रम रहेको छ ।
करिब एक वर्षको तयारीपछि सार्वजनिक हुन लागेको यस पत्रिकामा नेपाल भ्रमण गरेका विभिन्न अमेरिकी नागरिकहरूको संस्मरण, नेपालको पर्यटन उद्योगमा महत्वपूर्ण योगदान पुर्याएका व्यक्तिहरूका विचार तथा पर्यटन क्षेत्रका विज्ञद्वारा तयार पारिएका विशेष लेखहरू समावेश गरिएको गैरआवासीय नेपाली संघ अमेरिकाका पर्यटन बिभाग प्रमुख नेत्र पाण्डेले बताउनु भयो ।
पत्रिका प्रकाशन समितिका प्रमुख प्रो. प्रभात दीक्षितका अनुसार, अमेरिकी पर्यटक संख्या बढाउने, नेपालको पर्यटन क्षेत्रमा अमेरिकी सरकारी तथा निजी लगानीका अवसरहरू जुटाउने र दुई देशबीचको पर्यटन सहयोगलाई मजबुत बनाउने उद्देश्यले पत्रिका प्रकाशन गरिएको हो ।
अंग्रेजी भाषामा तयार गरिएको यो पत्रिकालाई अमेरिकी राज्य व्यवस्थाका विभिन्न तहका जनप्रतिनिधि, अमेरिकी शुभचिन्तक, पर्यटन व्यवसायी, सामाजिक अभियन्ता र सर्वसाधारण अमेरिकी नागरिकसम्म र अमेरिकाका विभिन्न राज्यका पुस्तकालयहरूमा पनि पत्रिका उपलब्ध गराइने गैरआवासीय नेपाली संघ अमेरिकाले जनाएको छ ।