घण्टेश्वर अनलाईन
टेक्सास, अमेरिका
गैर आवासिय नेपाली सँघ अमेरिकाको टेक्सास शाखाले राज्यका प्रमुख शहरहरुमा अभियानको रुपमा भ्रमण गरि समुदायसँग अन्तरकृया गर्ने भएको छ । नेपालीका नेपाली भन्ने नाराका साथ टेक्सास शाखाले समुदायसँगको सम्बन्धलाई थप बिस्तार गर्ने र सँघले खेल्नु पर्ने भूमिकाको बारेमा सुझाव सँकलन गर्ने उद्देश्यका साथ समुदाय भ्रमण तथा अन्तरकृया गर्न लागिएको गैर आवासिय नेपाली सँघ अमेरिकाको टेक्सास शाखाले जनाएको छ ।
समुदाय भ्रमणका क्रममा गैर आवासिय नेपाली सँघ अमेरिकाको विविध पक्षको वारेमा जानकारी गराउने, स्थानीय नेपाली समुदायका साझा सवालहरु र सँघले खेल्नु पर्ने भूमिका, आगामी दिनमा सँघको लागि सुझाव सँकलन लगायतका बिषयमा छलफल गरिने अध्यक्ष सोफिन थापाले जानकारी दिनु भयो ।
टेक्सास शाखाको आयोजनामा आईतबार प्रमुख शहर ह्युस्टनमा समुदाय भ्रमण तथा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । ह्युस्टनबाट शुरु भएको समुदाय भ्रमण कार्यक्रमले समुदाय र सँघ बिचको सम्बन्ध अझ फराकिलो भई अपनत्व बढाएको भन्दै सहभागिहरुले प्रशँसा गरेका थिए ।
टेक्सास शाखाका अध्यक्ष सोफिन थापाको अध्यक्षता तथा सचिब चण्डी भण्डारीको सँचालनमा सम्पन्न अन्तरकृया कार्यक्रममा सहभागि सामाजिक अभियन्ता तथा अगुवा नेपालीहरुले गैर आवासिय नेपाली सँघ अमेरिकाले समुदायसँगको सम्बन्धलाई दिगो राख्नका लागि बेलाबेलामा समुदाय भ्रमण तथा अन्तरकृया कार्यक्रम गर्नुपर्ने, सँघले समग्र नेपाली समुदायको अभिभावकको भूमिका खेल्नु पर्ने, नेपालीहरुका साझा सवालमा नेतृत्व लिनु पर्ने र नेपाल सरकार तथा टेक्सास राज्य सरकारसँग सहजिकरण तथन समन्वयकारी भूमिका खेल्नु पर्ने, समुदायमा आधारित कार्यक्रम सन्चालन गर्नु पर्ने, नेपाली भाषा सँस्कृतिको सँरक्षण गर्न र दोश्रो पुस्तालाई हस्तान्तरण गर्नका लागि सँघले बिशेष योजना बनाउनु पर्ने, नेपालीहरुको सीप तथा दक्षता अभिबृद्धि गर्नका लागि बिभिन्न कार्यक्रम सन्चालन गर्नु पर्ने तथा सँघमा सबै नेपालीहरुलाई समेट्नका लागि पहल गर्नुपर्ने, सँघलाई राजनीतिक प्रभावबाट टाढा राख्नु पर्ने लगायतका सुझाव दिएका थिए ।
कार्यक्रममा सामाजिक अभियन्ता तथा अगुवा नेपाली विष्णु नेपाल, द्रोण गौतम, नेपाली ईन्जिनियर सतिश त्रिपाठी, अन्जु अर्याल, डा. राजेन्द्र श्रेष्ठ, डा. मधु ज्ञवाली, लक्ष्मण भण्डारी, देवेन्द्र शर्मा तथा बरिष्ठ पत्रकार तारा बराल, सुजन पण्डित लगायतका सहभागीहरुले गैर आवासिय नेपाली सँघ अमेरिकाको टेक्सास शाखाले आगामी दिनमा गर्नु पर्ने कामको वारेमा सुझाव सहित आफ्नो धारणा राख्न्ु भएको थियो ।
कार्यक्रममा बिशिष्ट अतिथी गैर आवासिय नेपाली सँघ अमेरिका राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष सुमन थापाले गैर आवासिय नेपाली सँघ नेपालीका लागि नेपालीहरुद्वारा स्थापना गरिएको सँस्था भएकाले सँघलाई हाम्रो र राम्रो बनाउने काम पनि नेपालीहरुकै भएको बिचार ब्यक्त गर्नु भयो । उपाध्यक्ष थापाले सँघद्वारा सन्चालन गरिएको समुदाय अन्तरकृया कार्यक्रमले सँघ र समुदाय बिचको दूरी कम भई रचनात्मक काम गर्नका लागि सहयोग पुग्ने बिश्वास ब्यक्त गर्नु भयो । उहाँले स्थानीय संघ संस्थाहरुसंगको सहकार्यलाई जोड दिएर नेपाली समुदायका लागि काम गर्नु पर्नेमा उपाध्यक्ष थापाले जोड दिनु भएको थियो । कार्यक्रममा गैर आवासिय नेपाली सँघ राष्ट्रिय समन्वय परिषदका क्षेत्रीय सँयोजक बादल भुजेलले पनि बोल्नु भएको थियो ।
कार्यक्रममा बोल्दै गैर आवासिय नेपाली सँघ अमेरिकाको टेक्सास शाखाका अध्यक्ष सोफिन थापाले सँघका गतिबिधीहरुको जानकारी गराउदै सँघलाई टेक्सासमा रहेका नेपाली समुदायहरुको सहभागितामा उत्कृष्ट शाखाको रुपमा बिकास गर्ने अभियान थालिएको बताउनु भयो ।
कार्यक्रममा नेपाली समुदायको उल्लेखनिय योगदान पुर्याउने ह्युस्टनमा कृयाशिल नेपाली सँघ, सिर्जनशिल नेपाली समाज, नेपाली सम्पदा सँघ, अन्तराष्ट्रिय साहित्य सँघ, नेपाली ईन्जिनियर एशोसियशन र गुल्मी समाज तथा नेपाल अमेरिका पत्रकार सँघ (नेजा) लाई टेक्सास शाखाको तर्फबाट कदर पत्र सहित सम्मान गरिएको थियो ।
कार्यक्रममा गैर आवासिय नेपाली सँघ टेक्सास शाखाको तर्फबाट ह्युस्टन स्थित पशुपतिनाथ मन्दिरलाई १ हजार ५१ डलर सहयोग रहमको चेक अध्यक्ष सोफिन थापाले सामाजिक अभियन्ता डा. बिष्णु नेपाल मार्फत हस्तान्तरण गर्नु भएको थियो । पशुपतिनाथ मन्दिरको ट्रष्टी हुनको लागि निर्धारण गरिएको २ हजार ५ सय डलरमा अपुग रकम निकट भबिष्यमा टेक्सास शाखाको तर्फबाट हस्तान्तरण गरिने अध्यक्ष थापाले जानकारी दिनु भयो ।
सोही कार्यक्रममा एनआरएनए टेक्सस च्याप्टरको २०२१–२०२३ कार्यकालका लागि गत साल निर्वाचित कार्यसमितिका प्राय सबै पदाधिकारी तथा सदस्यहरुलाई परिचय समेत गराइएको थियो ।