घण्टेश्वर अनलाईन’
ड्यालस, टेक्सस
अमेरिकाको भर्जिनिया राज्यमा रहेका सुदूरपश्चिमेलीहरूले आइतबार एकै स्थानमा भेला भई तिज तथा गौरा पर्व उत्साहपूर्वक मनाएका छन्। सुदूरपश्चिम नेपाली समाज, भर्जिनियाले स्थानीय मार्सल पार्कमा आयोजना गरेको तिज तथा गौरा मिलन कार्यक्रममा सुदूरपश्चिमेलीहरूले डेउडा, तिज गीत, नाचगान र विभिन्न सांस्कृतिक प्रस्तुति गर्दै पर्वको शुभकामना आदान–प्रदान गरेका थिए ।
कार्यक्रममा सहभागी सुदूरपश्चिमेलीहरूले डेउडा खेल्दै, फाग गीत गाउँदै, हुड्केउली र छलिया नृत्यमा रमाउँदै परम्परागत संस्कृतिको रंगीन झल्को प्रस्तुत गरेका थिए। कार्यक्रममा सुदूरपश्चिमका चर्चित कलाकार शंकरसिंह बिष्टको हुड्केउली तथा छलिया नृत्य र कलाकार चाँदनी मल्लको गौरा फागसहितका प्रस्तुति कार्यक्रमका मुख्य आकर्षण रहेको थियो । त्यस्तै, चर्चित गायिका सिन्धु मल्ल तथा सुदाम थापाको सहभागिताले कार्यक्रमलाई अझ आकर्षक बनाएको थियो ।कार्यक्रममा सुरेश खड्का र देवराज जोशी लगायतका बिभिन्न बालबालिकाहरुले कबिता,नृत्य लगायतका प्रस्तुती प्रस्तुत गरेका थिए ।
तिज तथा गौरा मिलन कार्यक्रम आयोजना गरेर भर्जिनियाका विभिन्न शहरमा बसोबास गर्ने सुदूरपश्चिमेलीहरूलाई सुदूरपश्चिम नेपाली समाज, भर्जिनियाले एकै स्थानमा जमघट गराएको थियो । कार्यक्रममा सुदूरपश्चिमका प्रमुख बाजा दाईन दमाह, झ्यालीहरुको प्रदर्शनी तथा बाजाहरु बजाएर सुदूरपश्चिमको झल्को मेटाउने प्रयास गरिएको थियो । हामी भर्जिनियाका विभिन्न स्थानमा बसोबास गर्ने सुदूरपश्चिमेलीहरूलाई समाजमा आबद्ध गराउने अभियानमा छौं । आगामी वर्ष समाजलाई अझ संस्थागत र व्यवस्थित बनाउँदै, सुदूरपश्चिमको पहिचानका रूपमा रहेको गौरा पर्वलाई अझ प्रभावकारी रूपमा मनाउने योजनामा रहेको सुदूरपश्चिम नेपाली समाज, भर्जिनियाका अध्यक्ष कल्याण कार्कीले बताए ।
नेपाली चाडपर्व नजिकिँदा प्रवासी नेपालीहरूलाई आफ्नो गाउँ–ठाउँ र समाजको सम्झनाले सताउने भएकाले प्रवासमा रहेका नेपालीहरूले तिज, गौरा जस्ता सांस्कृतिक पर्वहरू सामूहिक रूपमा मनाउने परम्परा बस्दै आएको छ।
सुदूरपश्चिमेलीहरूको आत्मा र भावनासँग गाँसिएका गौराजस्ता सांस्कृतिक पर्वहरू अमेरिकामा रहेका दोस्रो पुस्तालाई हस्तान्तरण गर्नु आवश्यक रहेको भर्जिनियाका समाजसेवी अमन भाटले बताउनुभयो ।
भर्जिनियामा रहेका सुदूरपश्चिमेलीहरूले भने सामूहिक रूपमा तिज र गौरा जस्ता पर्वहरू मनाउँदा आफ्नो सांस्कृतिक पहिचान मात्र जोगिने नभई आपसी एकता, सहकार्य र भावनात्मक सम्बन्ध पनि थप बलियो बन्ने समाजसेवी भाटको धारणा रहेको छ ।
अमेरिकामा नेपाली चाडपर्बहरुको तिथिको दिन बिदा नपरे दशैं तिहार बाहेक अन्य चाडपर्बह शनिबार आईतबार बिदाको दिन पारेर मनाउने गरिन्छ ।





