घण्टेश्वर अनलाइन
ड्यालस, टेक्सस
अमेरिकामा रेकर्ड गरिएको कलाकार चाँदनी मल्लको “खोली रैशले” बोलको नयाँ डेउडा गीत चाँदनी मल्ल युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ। अमेरिकाको भर्जिनिया निवासी कलाकार तथा चर्चित डेउडा गायिका चाँदनी मल्लले गौरा पर्वको अवसर पारेर “खोली रैशले” बोलको डेउडा गीत बजारमा ल्याएकी हुन् । उक्त गीत गत जुलाई ११ मा अमेरिकाको बाल्टिमोरस्थित रागा एलआर स्टुडियोमा रेकर्ड गरिएको हो।
गीतमा गायक तथा सर्जक महेन्द्र शाही रास्कोटी, शंकर सिंह बिष्ट, चाँदनी मल्ल र आशा शाहीको स्वर रहेको छ। गीतका शब्दहरू महेन्द्र शाही र शंकर सिंह बिष्टले लेखेका हुन्।
“भौतिक रूपमा प्रवासमा भए पनि आफ्नै कला र संस्कृतिले बेला(बेला झक्झक्याइरहेको हुन्छ। त्यसैले यो व्यस्त जीवनबाट केही समय निकालेर डेउडा गीत रेकर्ड गर्ने जमर्को गरेकी हुँ।”, गायिका चाँदनी मल्लले भनिन्
उनका अनुसार, “खोली रैशले” अमेरिकामा रेकर्ड गरिएको पहिलो डेउडा गीत हो। कलाकार मल्लले यसअघि पनि दर्जनौं डेउडा गीतमा स्वर दिएकी साथै विभिन्न म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन्। “अमेरिकामा रहेका सुदूरपश्चिमेली दाजुभाइ दिदीबहिनीहरूको साथ, समर्थन र सहयोग प्राप्त भएमा उक्त गीतको म्युजिक भिडियो पनि अमेरिकामै निर्माण गर्ने कलाकार मल्लले आफ्नो योजना सुनाईन ।