घण्टेश्वर अनलाइन
बाल्टिमोर (मेरिल्याण्ड)
अमेरिकाको मेरिल्याण्ड राज्यमा बसोबास गर्ने सुदूरपश्चिमेलीहरूले यस वर्षको गौरा पर्व मनाउन भव्य तयारी गरेका छन् । सुदूरपश्चिम नेपाली समाज मेरिल्याण्डको आयोजनामा आउँदो अगस्ट ३१ आइतबारका दिन बाल्टिमोरस्थित हिन्दु तथा बुद्ध मन्दिरमा गौरा पर्व मनाइने गौरा व्यवस्थापन समितिले जनाएको छ ।
सुदूरपश्चिमको प्रमुख सांस्कृतिक पर्व गौरा पर्वलाई सुदूरपश्चिमकै झल्को आउने गरी मनाउने तयारी भइरहेको गौरा व्यवस्थापन समितिका मिडिया संयोजक रमेश भट्टराईले जानकारी दिए ।
उनका अनुसार, पर्वका लागि प्रतिमा बनाउने, बिरुडा (क्वाटी) तयार गर्ने, मन्दिर प्रांगणलाई ध्वजापतकाले सजाउने, प्रवेशद्वार निर्माण गर्ने, डेउडा नाचको तयारी गर्ने लगायतका काम धमाधम भइरहेको छ।
यस वर्षको गौरा पर्वमा मेरिल्याण्ड मात्र नभई आसपासका राज्यहरूबाट पनि सुदूरपश्चिमेलीहरूको ठूलो सहभागिता हुने अपेक्षा गरिएको सुदूरपश्चिम नेपाली समाज मेरिल्याण्डले जनाएको छ ।
समाजले मेरिल्याण्डमा विगत ४ वर्षदेखि गौरा पर्वलाई विशेष महत्वका साथ मनाउँदै आएको छ । सुदूरपश्चिमको सांस्कृतिक चाडपर्वको संरक्षण तथा प्रवद्र्धनका साथै अमेरिकामा जन्मेका र हुर्केका दोस्रो पुस्तालाई संस्कृतिसँग जोड्ने उद्देश्यले प्रवासमा यस किसिमका चाडपर्वहरू मनाउन आवश्यक रहेको गौरा व्यवस्थापन समितिका संयोजक तथा समाजसेवी तिर्थराज पाण्डेयले बताए ।
