प्रवासमा मधेशी चाडपर्व र संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड
घण्टेश्वर अनलाइन
ड्यालस (टेक्सास)
अमेरिकामा रहेका मधेशी समुदायका अगुवाहरूले प्रवासमा मधेशी चाडपर्व तथा संस्कृतिको संरक्षण र पुस्तान्तरण गर्नुपर्नेमा जोड दिएका छन्।
अमेरिका मधेसी संघ (माँ) ले गत सेप्टेम्बर २८ मा विजयादशमी, दीपावली र छठ पूजाको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा सहभागी मधेशी अगुवाहरूले अमेरिकामा जन्मिएका र हुर्केका दोस्रो पुस्तालाई मधेशी संस्कृति हस्तान्तरण गर्न प्रवासमै चाडपर्व र संस्कृतिको संरक्षण आवश्यक रहेको बताएका थिए।
संघका अध्यक्ष मनोज सिंहको अध्यक्षता तथा प्रवक्ता प्रमोद गुप्ताको सञ्चालनमा जुम प्रविधि मार्फत सम्पन्न कार्यक्रममा १९ वटा राज्य कमिटीका करिब ७० भन्दा बढी मधेशी अगुवाहरू सहभागी भएका थिए।
कार्यक्रमका प्रमुख अतिथि संघका बीओटी अध्यक्ष डा. विप्लव यादवले नेपाली संस्कृतिका चाडपर्वहरूमध्ये मधेशी चाडपर्व विशेष मौलिकता बोकेकाले विदेशमा अझै बढी महत्त्वका साथ मनाउनुपर्नेमा जोड दिए।
त्यस्तै, संघका अध्यक्ष सिंहले भावी पुस्ताका लागि मधेसी तथा नेपाली संस्कृति संरक्षण र प्रवद्र्धनमा चाडपर्व र सांस्कृतिक कार्यक्रमको भूमिका महत्वपूर्ण हुनेमा जोड दिएका थिए।
कार्यक्रमका विशेष अतिथिमा संघका पूर्व अध्यक्ष तथा वर्तमान बीओटी सदस्य रामनरेश पाण्डे र डा. संगीत रौनियार रहेका थिए।
संघले अमेरिकी भूमिमा रहेका नेपाली–मधेसी समुदायलाई आफ्नो मौलिक संस्कृतिसँग जोड्ने र बहुसांस्कृतिक समझदारीलाई प्रवद्र्धन गर्ने विभिन्न कार्यक्रमहरू निरन्तर आयोजना गर्दै आएको जनाएको छ ।