युलेशमा रक्तदान कार्यक्रम, ३३ पिन्ट रगत संकलन

घण्टेश्वर अनलाइन
ड्यालस, टेक्सस।

यस वर्षको दशैं–तिहारको अवसर पारेर अर्भिड नेपाली समाज टेक्ससले रक्तदान कार्यक्रम आयोजना गरेको छ। नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र, युलेश परिसरमा आज सम्पन्न उक्त कार्यक्रममा कुल ३३ पिन्ट रगत संकलन गरिएको आयोजक संस्थाले जानकारी दिएको छ।

ब्लड डोनर्स अफ अमेरिका टेक्ससको सहयोग तथा समन्वयमा आयोजना गरिएको कार्यक्रममा ड्यालस–फोर्टवर्थ क्षेत्रका अगुवा नेपालीहरू स्वेच्छिक रूपमा सहभागी भएका थिए। रक्त संकलनका लागि कार्टर ब्लड केयर नामक ब्लड बैंकले बस तथा दक्ष जनशक्ति उपलब्ध गराएको थियो।

रक्तदान अघि योग्य र स्वस्थ व्यक्तिहरूको स्वास्थ्य परीक्षण गरी मात्र रक्तदान गरिएको थियो। बिरामीको उपचारमा रगतको अभाव हुन नदिन टेक्ससका विभिन्न क्षेत्रमा सक्रिय नेपाली समुदायका संस्थाहरूले निरन्तर रूपमा रक्तदान कार्यक्रम आयोजना गर्दै आएका छन्।

कार्यक्रमले  अमेरिकास्थित नेपाली समुदायकाबीच मानवता, सहयोग र सामाजिक उत्तरदायित्वको सन्देश फैलाउन महत्वपूर्ण भूमिका खेलेको आयोजकहरूले बताएका छन्।

    

Leave A Reply

Your email address will not be published.