घण्टेश्वर अनलाइन
ड्यालस, टेक्सस
नेपालका चर्चित कलाकार दुर्गेश थापाको पहिलो लाइभ कन्सर्ट ड्यालसमा हुने भएको छ। बिजुली इन्टरटेन्मेन्ट, साझा इभेन्ट्स र फेम नेपालको संयुक्त आयोजनामा यहि १५ नोभेम्बर, शनिबार युलेसस्थित सफायर इभेन्ट हलमा कन्सर्ट आयोजना हुन लागेको हो।
उक्त कन्सर्टमा दुर्गेश थापासँगै चर्चित कलाकारहरू राजेश पायल राई, किरण गजमेर, इन्द्र शाह, छवि राज सुनार र डीजे राईले पनि प्रस्तुति दिने कार्यक्रम रहेको आयोजकले जनाएका छन्।
आयोजक आकाश अधिकारीका अनुसार लाइभ कन्सर्ट दिउँसो ४ बजेदेखि राति १२ बजेसम्म सञ्चालन हुनेछ। कार्यक्रमका लागि प्रवेश टिकट ड्यालसका विभिन्न स्थानबाट बिक्री भइरहेको पनि जानकारी दिइएको छ।
कार्यक्रममा श्रोता तथा दर्शकले अत्यधिक रुचाएका थापाका लोकप्रिय गीतहरू ‘दुश्मन हेरेको हेरै’, ‘रातो रातो खुर्सानी पिरो छ’, ‘बिचबिचमा’ लगायतका दर्जनौँ हिट गीत प्रस्तुत गरिनेछन्।
यसअघि थापाले अमेरिकाको अस्टिन, न्युयोर्क सिटी, ह्यारिसबर्ग, पिट्सबर्ग, भर्जिनियाको मनसास, बाल्टिमोर र स्यान फ्रान्सिस्कोमा सफल प्रस्तुति दिइसकेका छन्।
आफूलाई गायकभन्दा “परफर्मर” भन्न रुचाउने थापा युवामाझ अत्यन्त लोकप्रिय छन्। उनको ऊर्जा, करिश्मा र स्टेज–प्रेजेन्सका कारण दर्शकले भरपुर मनोरञ्जन पाउने विश्वास आयोजकहरूले व्यक्त गरेका छन्।