अमेरिकामा आज धन्यवाद दिने दिवस, नेपाली समुदायले पनि धुमधामसंग मनाउदै
घण्टेश्वर अनलाईन
ड्यालस टेक्सस
संयुक्त राज्य अमेरिकाभर आज ‘थ्याङ्क्सगिभिङ डे’ अर्थात् धन्यवाद दिने दिवस विशेष उत्साहका साथ मनाइँदैछ । हरेक वर्ष नोभेम्बर महिनाको चौथो बिहीबार मनाइने यो पर्व अमेरिकाको सांस्कृतिक तथा पारिवारिक परम्परामध्ये एक महत्वपूर्ण दिन मानिन्छ ।
सरकारले सार्बजनिक बिदा दिने भएकाले पनि ‘थ्याङ्क्सगिभिङ डे’ लाई अमेरिकनहरुले उत्सबका रुपमा मनाउने गर्दछन । अब ‘थ्याङ्क्सगिभिङ डे’ नेपाली अमेरिकनहरुको पनि महत्वपूर्ण पर्ब भई सक्यो । सरकारले सार्बजनिक बिदा दिने गर्दछ । बिद्यालय, बजार, सरकारी तथा निजी क्षेत्रका सबै कार्यालय बन्द हुने भएकाले यो पर्ब सबैको सामुहिक पर्ब भई सक्यो, युलेश सिटीका प्रो मेयर टीका पौडेलले बताए । ‘थ्याङ्क्सगिभिङ डेमा अमेरिकामा रहेका नेपाली समुदायले पनि परिवार तथा साथीहरूसँग भेटघाट, सांस्कृतिक जमघट तथा सामूहिक भोजमार्फत यो दिवस मनाइरहेका छन् । थ्याङ्क्सगिभिङ डे अमेरिकामा मात्र होइन, परिवार, कृतज्ञता र सहानुभूतिको सन्देश फैलाउने पर्वको रूपमा विस्तार भैरहेको छ ।
‘थ्याङ्क्सगिभिङ डे’ मा मुख्य रुपमा टर्कीको मासुकौ परिकार नै खाने गरिन्छ । यो वर्ष अमेरिकामा ३० मिलियन (३ करोड) पूरा टर्की (whole turkey Thanksgiving ) का लागि खपत हुने अनुमान गरिएको छ । सर्वेक्षणअनुसार यस बर्षको ‘थ्याङ्क्सगिभिङ डे’ मा ८७ प्रतिशत अमेरिकी परिवारले यस वर्षको भोजमा टर्की खाने योजना बनाएका छन् ।
तीमध्ये ७४ प्रतिशतले “पूर्ण टर्की” नै पकाएर परोस्ने तयारी गरेको रिपोर्ट छ । २०२५ मा अमेरिकाको वार्षिक टर्की उत्पादन करीब २०० मिलियन पक्षीको हाराहारीमा रहेको अनुमान गरिएको छ । थ्याङ्क्सगिभिङको एक दिनका लागि मात्र ३० मिलियन टर्की खपत हुने अनुमानले यो पर्व अमेरिकी टर्की बजारका लागि सबैभन्दा महत्वपूर्ण अवसर भएको पुष्टि गर्छ ।
देशभरका सहर–सहरमा परेड, सामुदायिक कार्यक्रम र च्यारिटी गतिविधिहरू आयोजना भइरहेका छन ्। यस बिदालाई अवसर मान्दै लाखौँ मानिस घर परिवार भेट्न लामो दूरीको यात्रा गर्ने भएकाले एयरपोर्ट र राजमार्गहरूमा चाप बढेको छ ।
के हो ‘थ्याङ्क्सगिभिङ डे’ अर्थात् धन्यवाद दिने दिवस ?
आधुनिक थ्याङ्क्सगिभिङ परम्परा प्रायः सन् १६२१ मा Plymouth Colony (हालको म्यासाचुसेट्स) का Pilgrims र स्थानीय Wampanoag समुदायबीच आयोजित ‘फसल काटेको उपलक्ष्यमा कृतज्ञता व्यक्त गर्ने भोज’ बाट सुरु भएको मानिन्छ ।
यद्यपि त्यो समयको भोजलाई आजको Thanksgiving को “पहिलो आधार” मानिए पनि त्यो बेला यसलाई Thanksgiving भनेर चिनिने परम्परा थिएन र भोजमा परोसेका परिकारहरूबारे पनि ठ्याक्कै ऐतिहासिक तथ्य उपलब्ध छैन ।
पछिल्ला दशकहरूमा विभिन्न उपनिवेश, राज्य र समुदायहरूले युद्ध जित, सफल फसल वा अन्य उपलब्धिका अवसरमा “thanksgiving days ” मनाउने परम्परा विकास गरे ।
संघीय रूपमा भने प्रथमपटक १७८९ मा Thanksgiving घोषणा गरिएको थियो । त्यसपछि अमेरिकाको गृहयुद्धको कठिन समयमा ३ अक्टोबर १८६३ मा राष्ट्रपति अब्राहम लिंकनले देशलाई एकताबद्ध गर्ने उद्देश्यले “राष्ट्रिय धन्यवाद दिने दिवस” घोषणा गरेपछि यो पर्वले आधुनिक रूप लिएको मानिन्छ ।
१९४२ मा अमेरिकी कांग्रेसले कानूनी रूपमा “नोभेम्बर महिनाको चौथो बिहीबार”लाई स्थायी मिति तोकेसँगै आजको थ्याङ्क्सगिभिङ डे आधिकारिक रूपमा स्थापित भएको हो ।