एनएसटी निर्वाचन र महासचिव पदमा मेरो उम्मेदवारी

– रामकृष्ण यादव
नेपाली समाज टेक्ससको नयाँ नेतृत्व चयनका लागि आगामी डिसेम्बर १३ मा निर्वाचन हुँदैछ । विदेशमा रहेका नेपालीहरूको संस्थामध्ये सबैभन्दा ठूलो सदस्य संख्या, व्यवस्थित संरचना र सुदृढ कार्यशैलीकै कारण नेपाली समाज टेक्ससको निर्वाचनले समुदायमा विशेष चासो पाएको छ । अमेरिकाको कानुनअनुसार दर्ता भएको सामाजिक संस्था भएकाले यसको विश्वसनीयता, पारदर्शिता र उत्तरदायित्वप्रति सदस्यहरू गर्व गर्छन् । संस्था सिर्जना कालदेखि नै प्रवासमा रहेका नेपाली समुदायको अभिभावकको भूमिकामा रहँदै आएको छ ।
अमेरिकाको सामाजिक र सरकारी निकायहरूसँग पनि नेपाली समाज टेक्ससले एक सकारात्मक पहिचान बनाउन सफल भएको छ, जुन सम्पूर्ण प्रवासी नेपाली समुदायका लागि गर्वको विषय हो । साधारण सदस्यदेखि कार्यसमितिसम्म सबैको सक्रिय सहभागिताले यस संस्थालाई मजबुत बनाएको छ । निर्वाचन, साधारण सभा, योजना निर्माण तथा कार्यान्वयन लगायतका गतिविधिले संस्था आफ्नो लोकतान्त्रिक संरचनामा दृढ रहेको प्रमाणित गर्छ । विशेषगरी एनएसटीले मतदान केन्द्रमा उपस्थित भएर प्रत्यक्ष मतदान गर्ने प्रणालीलाई निरन्तरता दिँदै आएको छ, जसले नेतृत्व परिवर्तनलाई अझ पारदर्शी र विश्वसनीय बनाएको छ ।
एनएसटी निर्वाचनमा महासचिव पदका लागि मेरो उम्मेदवारी
यस पटकको निर्वाचनमा मैले जनक भण्डारी टिमबाट महासचिव पदका लागि उम्मेदवारी दर्ता गरेको छु । यसअघि सन् २०२३ देखि २०२५ सम्म कोषाध्यक्ष पदमा रहँदा काम गर्ने अवसर पाएँ । दुई वर्षे कार्यकाल मेरो लागि एक महत्वपूर्ण सिकाइको अवधि बन्यो । यसअघि मैले समाजलाई नजिकबाट बुझ्ने, संस्थाका सीमितता, समुदायका समस्या, चुनौती, अवसर तथा अधूरा रहेका महत्वपूर्ण कामहरूको बारेमा मूल्यवान् अनुभव हासिल गर्ने मौका पाएँ ।
मले सामाजिक सेवालाई सामूहिक कार्यका रूपमा बुझ्ने गरेको छु । सामाजिक सेवा त्यहीँ सम्भव हुन्छ, जहाँ सेवा गर्ने मनोभूमि, जाँगर, समय व्यवस्थापन गर्न सक्ने क्षमता भएको बलियो टिम हुन्छ । अघिल्लो कार्यकालमा पनि उत्कृष्ट टिमवर्क थियो ।
मैले कोषाध्यक्ष पद सम्हालेको बेला संस्थाको खातामा २ लाख ३१ हजार डलर थियो  । आजको मितिसम्म आउँदा करिब ६ लाख डलर जम्मा भइसकेको छ। यो उपलब्धि व्यक्तिगत होइन, समूह–मुखी कार्यशैलीकै परिणाम हा । यसमा टेक्ससमा बसोबास गर्ने नेपाली समुदायको श्रम, पसिना र विश्वासको मूल्य समावेश छ ।
संस्थामा फण्ड जम्मा हुनु मात्र ठूलो कुरा होइन, त्यो फण्ड कसरी खर्च हुन्छ ? दस्तावेजिकरण कस्तो हुन्छ ? पारदर्शिता कत्तिको हुन्छ ? यी कुराले महत्व राख्दछ । हामीले आफ्नो कार्यकालमा आर्थिक पारदर्शिता कायम राख्न विभिन्न पहल गर्यौँ । आम्दानी–खर्चका सम्पूर्ण प्रक्रियालाई व्यवस्थित र पारदर्शी बनाउन काम गर्यौँ। रसीदबिनाको रकम लिन–दिनेजस्ता अव्यवस्थित परिपाटीलाई पूर्ण रूपमा अन्त्य गर्न सफल भयौँ ।
कोषाध्यक्षका रूपमा २ वर्ष काम गर्दा संस्थाका पदहरूका जिम्मेवारी र कार्यक्षेत्र बारे गहिरो बुझाइ प्राप्त भयो । प्रत्येक पदका आफ्नै भूमिका हुन्छन्, तर तीमध्ये महासचिव पदको भूमिका विशेष रूपमा महत्वपूर्ण हुन्छ । अध्यक्षले नेतृत्वदायी भूमिका खेल्छन् भने महासचिवले संस्थामा समन्वयकारी भूमिका वहन गर्छन्। महासचिव संस्थाको ‘पुल’ जस्तै हो, टिमका सबै पदाधिकारीलाई सक्रिय बनाउने, सहकार्य गर्ने, संस्थामा ऊर्जा प्रवाह गर्ने मुख्य जिम्मेवारी यही पदले वहन गर्छ ।
कोषाध्यक्षका रूपमा कार्यरत रहँदा अध्यक्ष र महासचिवसँग नजिक हजार काम गर्न पाएकाले संस्थाको सुधारका लागि के गर्न सकिन्छ, के गर्न सकिँदैन भन्ने विषयमा मैले गहिरो सिकाइ पाएँ। यही अनुभव, ज्ञान र सीप का आधारमा आफूलाई योग्य ठानी महासचिव पदमा उम्मेदवारी दिएको हुँ ।
मेरो उम्मेदवारी जनक भण्डारी टिमबाट हो । यस टिममा विभिन्न क्षेत्रका दक्ष, अनुभवी र समर्पित व्यक्तिहरू समावेश छन् । हाम्रो टिम सक्षम छ, लक्ष्य–केन्द्रित छ, र समुदायलाई अझ प्रभावकारी रूपमा सेवा गर्न सक्ने सामथ्र्य राख्छ भन्ने दृढ विश्वास मलाई छ ।
सामाजिक संस्थामा मेरो संलग्नता
मेरो घर नेपालका रौतहट जिल्ला हो । मैले सिभिल इन्जिनियरिङमा स्नातक सकेपछि सन् २०१३ मा अमेरिका आएको हुँ । अमेरिका आएपछि इन्जिनियरिङमा मास्टर्स तहको अध्ययन पनि सम्पन्न गरिसकेको छु । समाजसेवा मेरो सानैदेखि रुचिको विषय हो । नेपालमा रहँदा पनि विभिन्न सामाजिक संस्थामा आवद्ध भई समाजसेवा तथा स्वयंसेवकको रूपमा काम गरिसकेको छु ।
म हाल टेक्ससको अर्लिङटनस्थित भेरिडियन कम्युनिटीमा बसोबास गर्छु । मैले ४ वर्ष ६ महिना अमेरिकी सेनामा सेवा गरेको अनुभव छ । सोही अवधिमा अफगानिस्तान र युरोपमा समेत सेवा गर्ने अवसर पाएँ । हाल म विगत ४ वर्षदेखि टेक्ससस्थित फेडरल एभियसन अथोरिटीमा परियोजना इन्जिनियरको रूपमा कार्यरत छु ।
अमेरिका आएपछि पनि समाजसेवा गर्ने उत्साह मभित्र यथावत् रह्यो । त्यसपछि मधेसी समुदायले स्थापना गरेको अमेरिका मधेसी समाज र माँ मा आवद्ध भएर सामाजिक कार्यमा सक्रिय भएँ । म मधेसी मूलको बासिन्दा भएकाले पनि यी संस्थामा आवद्ध भई मधेसी समुदायका कला–संस्कृतिको संरक्षण, संवद्र्धन तथा पुस्तान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छु ।
हामी विदेशमा आएपछि सबैभन्दा पहिले हामी नेपाली हौँ । सबै नेपालीलाई समेट्ने संस्थामा आवद्ध भएर काम गर्ने इच्छा मेरो मनमा सधैँ थियो । त्यसैले म नेपाली समाज टेक्ससमा आवद्ध भई सामाजिक कार्यमा संलग्न भएको हुँ । नेपाली समाज टेक्सस विशुद्ध सामाजिक संस्था हो । समाजसेवामा रुचि भएका, समय व्यवस्थापन गर्न सक्ने र योगदान दिन इच्छुक व्यक्तिहरूका लागि यो उपयुक्त प्लेटफर्म हा े। यसमा समुदायकै लागि समुदायद्वारा मिलेर काम गर्ने अवसर प्राप्त हुन्छ ।
नेपाली समाज टेक्सस आफैँमा हाम्रो समुदायलाई सुदृढ, सबल र सशक्त बनाउने अभियान हो । यसले गर्ने गतिविधिहरू समुदायकै आवश्यकतासँग सम्बद्ध छन्, र यसको मुख्य स्रोतसमेत समुदाय स्वयं हो । त्यसैले “पहिले नै यसो गर्छौँ” भन्दा पनि समुदायसँग बसेर समस्याको पहिचान, योजना निर्माण, र व्यापक सहभागितामा कार्यक्रम कार्यान्वयन गर्नु नै हाम्रो प्रमुख उद्देश्य हा । समाजको नेतृत्वमा रहनेहरू सहजकर्ताको भूमिकामा काम गर्छन् ।
हाम्रा प्राथमिकता र धारणा
१. समाज सेवा प्रतिस्पर्धा होइन, टिमवर्क हो । विदेशमा बसेर २४ सै घण्टा समाज सेवा गर्छु भन्ने कुरा वास्तविक छैन। विदेशमा पहिलो प्राथमिकता घर–परिवार हो । परिवारलाई कमजोर पारेर समाजसेवा गर्नु हुँदैन भन्ने हाम्रो स्पष्ट मान्यता छ । त्यसपछि बचेको समय सामाजिक क्षेत्रमा दिनुपर्छ । सामाजिक काममा आवश्यकता परेपछि समय निकाल्ने र समस्याको समाधानका लागि पहल गर्नेतर्फ ध्यान दिनुपछ ।
२. समाज सेवामा प्रचारभन्दा काम महत्वपूर्ण हो । समाज सेवाको उद्देश्य ‘सानो काम गरेर सामाजिक सञ्जाल रंग्याउने’ होइन । समुदायका समस्याहरू पहिचान गरी योजना बनाएर परिणाम देखिने काम गर्नुपर्छ । यदि समुदायका लागि सही ढंगले काम गरियो भने हामीले आफैं प्रचार गर्नुपर्दैन, समुदायले नै हाम्रो कामको मूल्यांकन र प्रचार गरिदिन्छ ।
३. टेक्ससमा बढ्दो नेपाली समुदायसँगै चुनौतीहरू पनि बढिरहेका छन् । नेपाली समुदायको बसोबास बाक्लो हुँदै गएको छ । त्यससँगै सही सूचना र जानकारीको अभाव जस्ता समस्या देखिन्छन् । हामीले सामाजिक सन्जाललाई बढी प्रयोग गर्दै आई रहेका छौं । सामाजिक सञ्जालले मिडियाको रूप लिएको भए पनि व्यवस्थित सूचना प्रवाह गर्न पर्याप्त हुँदैन । समुदायलाई आबश्यक पर्ने सूचना जानकारी व्यवस्थित रुपमा प्रवाह गरि सचेतिकरण गर्न आम सन्चार प्रयोग गर्नु पर्दछ । त्यसैले स्थानीय पत्रकार र सञ्चार माध्यमसँग सहकार्य र समन्वय आवश्यक छ । हामीसँग यसका लागि योजना छ । नेपाली समुदायलाई सशक्त बनाउन मिडियासँग साझेदारी गर्नुपर्छ।
४. युलेशमा निर्माणाधीन पशुपतिनाथ तथा बौद्ध बिहार नेपाली समुदायको सबैभन्दा ठूलो सामुदायिक परियोजना हो । यो परियोजना नेपाली पहिचानसँग जोडिएको छ । यसलाई सफल बनाउन नेपाली समुदायको व्यापक समर्थन, सहयोग र सहभागिता आवश्यक छ । “हाम्रो मन्दिर हामी नै बनाउँछौँ” भन्ने अभियान सुरु गर्नुपर्छ । समुदायको सहभागिता र स्रोतसंकलनका लागि योजनाबद्ध पहल अनिवार्य छ ।
५. नेपाली समाज टेक्सस—सबैभन्दा बढी सदस्यता भएको सामाजिक संस्था हो । सदस्यता निश्चित समयमा मात्र होइन, सधैं खुला राखिनुपर्छ । सबै नेपालीलाई समेट्ने उत्कृष्ट छातामूलक संस्था बनाउने हाम्रो उद्देश्य छ ।
६. नेपालीको बढ्दो जनसंख्या संगै आपतकालीन तथा दीर्घकालीन सहयोग आवश्यक देखिएको छ । त्यसका लागि पदाधिकारीहरूसँग सम्पर्क सहज बनाउन अलग–अलग टोल–फ्री नम्बरको व्यवस्था गर्न आवश्यक छ । समाजका पदाधिकारी सदस्यहरुसंग समुदायको पहुँच सहज हुनुपर्छ ।
७. अमेरिकामा आएपछि नेपालीले भोग्ने समस्या समाधानका लागि योजना आवश्यक छ । समुदायभित्र रहेका विज्ञहरूको पहिचान गरी उनीहरूको सीप सदुपयोग गर्नुपर्छ । ड्राइभिङ लाइसेन्स, स्वास्थ्य बीमा, अपार्टमेन्ट, रोजगारी जस्ता दैनिक समस्याका समाधानका लागि हेल्प डेस्क स्थापना गर्नुपर्छ ।
८. नेपाली समाज टेक्ससले सन्चालन गर्दै आएको कानूनी परामर्श सेवा प्रभावकारी छ । यसबाट नेपाली समुदाय प्रत्यक्ष रुपमा लाभान्वित पनि भएका छन । यसलाई अझै व्यवस्थित र परिस्कृत र अझ विस्तार आवश्यक छ । यसलाई अझ राम्रो बनाउन प्रचार–प्रसार, पहुँच विस्तार र नियमित कार्यक्रम आवश्यक छन् ।
९. नेपाली मन्दिरस्थित हिमालयन हेल्थ क्लिनिक—बिमाहीन नेपालीका लागि वरदान बनेको छ । यसलाई दीगो बनाउन सहयोग, समन्वय र सहजीकरणको आवश्यकता छ । समुदायको पहुँच थप विस्तार गर्न समुदायसँग छलफल गरी दीर्घकालीन योजना बनाइनुपर्छ । यसलाई प्राथमिकतामा राख्नु पर्दछ ।
१०. नेपाली समाज टेक्सस एक्लै सबै समस्या समाधान गर्न सक्दैन । त्यसैले टेक्ससमा रहेका नेपाली समुदायका जातीय र क्षेत्रीय संस्थासँग सञ्जाल निर्माण, समन्वय, साझेदारी र सहकार्य आवश्यक छ । समुदायका लागि सबै संस्था मिलेर अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता छ ।
११. खेलकुद विकास—युवालाई प्रोत्साहन ः टेक्ससमा नेपाली खेलाडीको विकास र प्रोत्साहनका लागि भइरहेको प्रयास निरन्तर जारी राख्नुपर्छ । खेलकुद टास्क–फोर्सलाई सक्रिय, सहयोग र सहजीकरण गर्नु जरुरी छ।
१२. टेक्ससमा नेपाली बिद्यार्थीहरुको आकर्षणका कारण चाप बढी रहेको छ । नेपाली बिद्यार्थीलाई सहयोग गर्न विशेष योजना आवश्यक छ । आवास, काम, संक्रमणकालीन सहयोगका लागि विशेष योजना बनाई प्रभावकारी रूपमा कार्यान्वयन आवश्यक छ ।
१३. संस्थागत इतिहास, दस्तावेजिकरण र पारदर्शिता ः नेपाली समाज टेक्ससले २५ वर्षको इतिहास समेटेर स्मारिका प्रकाशित गरेको प्रशंसनीय छ । तर तथ्यांक व्यवस्थितरूपमा सुरक्षित छैन । अगामी दिनमा दस्तावेजिकरणलाई प्राथमिकता, वेबसाइटलाई समाचारमुखी, प्रवक्तालाई सक्रिय र तथ्यांकलाई अद्यावधिक गर्न आवश्यक छ ।
१४. ड्यालसस्थित महाबाणिज्य दूतावास स्थापनामा नेपाली समाज टेक्सस लगायत समुदायको ठूलो भूमिका छ । दूतावासको सेवामा सहजता ल्याउन, जानकारी प्रवाह गर्न र आवश्यक सहजीकरण गर्न निरन्तर सहकार्य आवश्यक छ ।
१५. टेक्ससमा नेपाली पहिचान औपचारिक रूपमा स्थापित हुँदै छ । टेक्ससका सिटी र काउन्टीहरूले नेपाली चाडपर्वहरूलाई मान्यता दिएका छन् । यो उपलब्धिको निरन्तरताका लागि निरन्तर पहल आवश्यक छ । राज्य सरकारले घोषणा गरेका नेपाल डे, लुम्बिनी डे, बुद्ध डे लाई समुदायको व्यापक सहभागितामा भव्य रूपमा मनाउनुपर्छ ।
१६. बढ्दो समुदायसँगै नयाँ पुस्तामा नेपाली भाषा, कला, संस्कृति पुस्तान्तरण चुनौती बन्दैछ । त्यसैले अमेरिकामा जन्मेका र हुर्केका बालबालिकालाई नेपाली संस्कृति पुस्तान्तरण गर्न राष्ट्रिय तथा क्षेत्रीय चाडपर्वहरू बालबालिका सहित सामूहिक रूपमा मनाउने प्रयासलाई अझ मजबुत बनाउनुपर्छ ।
नेपाली समाज टेक्सस हामी सबै नेपालीको साझा घर हो । म यस संस्थालाई थप सुदृढ, पारदर्शी, सक्षम र समुदायमुखी बनाउन म र हाम्रो टीम प्रतिबद्ध छ । आगामी जिम्मेवारीलाई पनि म ईमानदारी, पारदर्शिता र कर्तव्यनिष्ठाका साथ पूरा गर्ने दृढ विश्वास राख्छु । हाम्रो टिम सक्षम छ, लक्ष्य–केन्द्रित छ, र समुदायलाई अझ प्रभावकारी रूपमा सेवा गर्न सक्ने सामथ्र्य राख्छ भन्ने दृढ विश्वास मलाई छ ।

१७. नेपाली समाज टेक्ससको पहिचान र लोकप्रियताको प्रमुख कारण ग्लोबल नेपाली पाठशाला हो । यसलाई थप प्रभावकारी र बिस्तार गर्न आबश्यक छ । यसको लागि हामीले समुदायसंगै मिलेर योजना बनाउनु पर्दछ ।

महासचिबका उम्मेदवार यादवद्धारा तयार गरिएको यो सामग्री सशुल्क प्रकाशित गरिएको हो ।

Leave A Reply

Your email address will not be published.