ड्यालस, टेक्सस
नेपाली समाज टेक्सस (एनएसटी) को नयाँ नेतृत्व चयन प्रक्रियाअन्तर्गत फोर्टवर्थ निवासी गुन्जन भण्डारी खुलातर्फको उपाध्यक्ष पदमा उम्मेदवार बनेकी छन्। महिलालाई प्रायः आरक्षित पदमै सीमित गर्ने प्रवृत्तिका बीच उनले “सक्षमता र अनुभवका आधारमा खुला प्रतिस्पर्धामा उत्रिएकी” बताइन्।
सन् २०१५ मा अमेरिका आएकी भण्डारीले प्रवासमा महिला तथा नेपाली समुदायसँग सम्बन्धित समस्याहरू नजिकबाट अनुभव गरेकी कारण ती समस्याको समाधानमा सहयोग र सहजीकरण गर्न आफू उम्मेदवार बनेको स्पष्ट पारिन्।
नेपालमा मात्रै होइन, विदेशमा पनि महिलाहरू नेतृत्व तहमा पुग्ने क्रममा विभिन्न बाधा रहने उल्लेख गर्दै अमेरिकास्थित नेपाली समुदायभित्र समेत घरेलु हिंसा तथा धेरै चुनौतीहरू अझै कायम रहेको बताउँदै उनले महिलाको नेतृत्व अपेक्षाकृत बलियो र प्रभावकारी हुन आवश्यक रहेको धारणा राखिन् ।
अमेरिका आएदेखि नै भण्डारी सुदूरपश्चिम नेपाली समाज टेक्सस, नेपाली समाज टेक्सससहित विभिन्न संघ–संगठनमार्फत निरन्तर सामाजिक सेवामा सक्रिय रहिआएकी छन्।
पदमा नरहँदा पनि उनले अमेरिकामा भर्खरै आएका नेपालीहरूलाई बसोबासको व्यवस्था, रोजगार खोजिदिने, ड्राइभिङ लाइसेन्स प्रक्रिया बुझाइदिने, आवश्यक कागजात तयारीमा सहयोग गर्ने तथा विभिन्न समस्यामा परेकालाई निरन्तर साथ दिँदै आएकी छन्। समुदायका धेरै नयाँ आगन्तुकहरूलाई उनले महिनौँसम्म निःशुल्क आवास उपलब्ध गराएको उल्लेखनीय छ, जसको व्यापक रूपमा सराहना हुँदै आएको छ ।
सन् २०२३÷२४ कार्यकालमा नेपाली समाज टेक्ससको महिला संयोजकका रूपमा निर्वाचित भएपछि उनको पहलमै संस्थाले पहिलोपटक अन्तर्राष्ट्रिय नारी दिवस औपचारिक रूपमा मनाउन सुरु गरेको थियो, जुन परम्परा अहिले पनि निरन्तर जारी छ।
“सेवामा प्रचार होइन, समर्पण महत्वपूर्ण हो” भन्ने धारणा राख्ने भण्डारीकै सक्रियतामा प्रवासमा हरितालिका तीजलाई सांस्कृतिक संरक्षणको रूपमा स्थापित गर्दै भव्य कार्यक्रमहरूको आयोजना गरिएको थियो। त्यस्तै, महिला हिंसा तथा घरेलु हिंसा सम्बन्धी घटनामा सहजीकरण, कानुनी तथा मनोसामाजिक सहयोग, तथा आवश्यक परे स्थानीय प्रशासनसँग समन्वय गरी पीडित महिलालाई न्याय दिलाउने कार्यमा पनि उनी निरन्तर संलग्न रहिन्।
सुदूरपश्चिम बैतडीमा जन्मिएकी भण्डारी बाल्यावस्थादेखि नै समाजसेवाप्रति आकर्षित थिइन्। बुवाको सामाजिक सक्रियता नजिकबाट अवलोकन गर्दै हुर्किएकी उनले एसएलसीपछि तीन महिनाको बिदामा परिवार नियोजन संघ, बैतडीमा स्वयंसेवकका रूपमा औपचारिक सेवा यात्राको सुरुवात गरेकी थिइन्।
नेपालमा करिब ११ वर्षसम्म सामाजिक क्षेत्रमा कार्यरत रहँदा उनले युएनडीपी, युनिसेफलगायतका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थामा महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै देशभरका समुदायहरूमा महिला, बालबालिका, युवा तथा सामाजिक सचेतना सम्बन्धी कार्यक्रमहरू प्रभावकारीरूपमा सञ्चालन गरेकी थिइन्।