एनएसटी निर्वाचनमा सुदूरपश्चिमबाट तीनजना उम्मेदवार
घण्टेश्वर अनलाईन
ड्यालस, टेक्सस
आगामी डिसेम्बर १३, शनिबारका दिन हुने नेपाली समाज टेक्सस (एनएसटी) को नयाँ नेतृत्व चयनका लागि तीन जना सुदूरपश्चिमेलीले उम्मेदवारी दर्ता गरेका छन्।
जनक भण्डारी नेतृत्वको टिमबाट गुन्जन भण्डारीले खुला उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेकी छन्। त्यस्तै, बिजय भुसाल टिमबाट तारामान धामीले सदस्य पदमा उम्मेदवारी दिएका छन् भने हेम भट्टले स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गरेका छन्।
तीनै उम्मेदवार लामो समयदेखि अमेरिकासहित प्रवासका सामाजिक गतिविधिमा सक्रिय रूपमा संलग्न रहँदै आएका छन्। हालका वर्षहरूमा सुदूरपश्चिमका नेपालीहरूले प्रवासमा सामाजिक अभियान, संस्थागत विकास र सामुदायिक नेतृत्वमा उल्लेखनीय चासोका साथ सक्रिय सहभागिता जनाउँदै आएका छन्।
अघिल्लो कार्यकालमा सुदूरपश्चिमका गोविन्दराज जोशी सह–कोषाध्यक्ष पदमा निर्वाचित भएका थिए । एनएसटीको निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारहरूले प्रचार–प्रसार तीव्र पारेका छन् भने समुदायले पनि आगामी नेतृत्वप्रति चासो र सक्रिय सहभागिता देखाइरहेको छ।