घण्टेश्वर अनलाईन
ड्यालस टेक्स
गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) अन्तर्गत छुट्टाछुट्टै गतिविधि सञ्चालन गर्दै आएका बद्री केसी र महेश श्रेष्ठ समूहबीच एकताको प्रक्रिया अगाडि बढेपनि राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकामा भने आधिकारिकता सम्बन्धी विवाद थप चर्किएको छ ।
हाल अमेरिकामा सतेन्द्र साह र विकास उप्रेतीको नेतृत्वमा छुट्टाछुट्टै राष्ट्रिय समन्वय परिषद् सक्रिय छन्। दुवै पक्षले आफूहरू नै वैधानिक तथा आधिकारिक संस्था भएको दाबी गर्दै सामाजिक सञ्जाल तथा विज्ञप्तिमार्फत एक–अर्कामाथि आरोप–प्रत्यारोप गरिरहेका छन् ।
विकास उप्रेती नेतृत्वको राष्ट्रिय समन्वय परिषद् अमेरिकाले टेक्ससको ड्यालसमा यही जनवरी १७ मा आयोजना गर्न लागेको ‘जेन–जी आन्दोलनपछिको राष्ट्रिय परिप्रेक्ष्यमा युवाको भूमिका’ विषयक युवा सम्मेलनमा नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री बलराम गुप्तालाई प्रमुख अतिथिका रूपमा आमन्त्रण गरेपछि विवाद थप चर्किएको हा े।
यही जनवरी १७ मा ड्यालसमा आयोजना हुन लागेको युवा सम्मेलनमा मन्त्री गुप्तालाई औपचारिक रूपमा आमन्त्रण गरिएको विषयलाई अनावश्यक रूपमा विवादित बनाइएको विकास उप्रेती नेतृत्वको राष्ट्रिय समन्वय परिषद् अमेरिकाले जनाएको छ ।
एनसीसीको विधान तथा नेपाल सरकार परराष्ट्र मन्त्रालयको निर्देशन–परिपत्रअनुसार निर्वाचन प्रक्रिया मार्फत नेतृत्व चयन गरेको स्थापित एउटा मात्र आधिकारिक संस्थाले आयोजना गरेको युवा सम्मेलनमा आमन्त्रण गरिएका युवा तथा खेलकुद मन्त्री बलराम गुप्ताको भ्रमणलाई विवादित बनाउनु बदनियतपूर्ण रहेको विकास उप्रेती नेतृत्वको राष्ट्रिय समन्वय परिषद् अमेरिकाका प्रवक्ता द्रोण गौतमले विज्ञप्तिमार्फत बताएका छन्। प्रवक्ता गौतमका अनुसार अमेरिका भ्रमणका क्रममा हुने सम्पूर्ण खर्च आयोजक संस्थाले नै व्यहोर्ने गरी मन्त्रीलाई आमन्त्रण गरिएको हो ।
उता सतेन्द्र साह नेतृत्वको राष्ट्रिय समन्वय परिषद् अमेरिकाले आफूहरू नै अमेरिकामा एक मात्र आधिकारिक एनसीसी भएको र युवा सम्मेलनको नाममा कुनै पनि कार्यक्रम आयोजना नगरेको भन्दै बिहीबार विज्ञप्ति प्रकाशित गरेको छ ।
सतेन्द्र साह नेतृत्वको परिषद्का प्रवक्ता सन्देश उप्रेतीले संस्थाको नाम, लेटरहेड, छाप तथा लोगो प्रयोग गरी कार्यक्रम आयोजना गर्नु र नेपाल सरकारका मन्त्रीलाई आमन्त्रण गर्नु गैरकानुनी हुने विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।
युवा तथा खेलकुद मन्त्रीको अमेरिका भ्रमण बिबादित बनेपछि यही जनवरी १७ मा आयोजना हुने भनिएको युवा सम्मेलनमा मन्त्री गुप्ता सहभागी हुने नहुने एकीन भईसकेको छैन ।
आईसीसी तहमा एकताको प्रयास भइरहे पनि अमेरिकामा रहेका दुई एनसीसीबीचको आधिकारिकता विवाद समाधान नहुँदा गैरआवासीय नेपाली समुदायमा अन्योल र विभाजन बढ्दै गएको छ ।
