अन्तर्राष्ट्रिय नेपाली गीतकार संघद्वारा विभिन्न स्रष्टालाई सम्मान गरिने

अर्जुन प्रधान
पेन्सल्भेनिया, अमेरिका

अन्तर्राष्ट्रिय नेपाली गीतकार संघ (INLA) ले विभिन्न विधामा उल्लेखनीय योगदान पुर्‍याएका नेपाली स्रष्टाहरूलाई सम्मान गर्ने भएको छ। संघको दोस्रो राष्ट्रिय सम्मेलनको अवसरमा सात विधाका स्रष्टालाई विशेष सम्मान प्रदान गरिने संघले जनाएको छ।

आगामी मार्च २९, २०२६ मा अमेरिकाको पेन्सल्भेनिया राज्यस्थित ल्यांकास्टर मा आयोजना हुन लागेको दोस्रो राष्ट्रिय सम्मेलनका अवसरमा गीत संगीत क्षेत्रमा दीर्घकालीन योगदान पुर्‍याएका स्रष्टाहरूलाई सम्मान गरिन लागेको हो।

संघका संस्थापक अध्यक्ष डा. हरि उप्रेती का अनुसार सम्मेलनका क्रममा दिनेश अधिकारी लाई INLA ज्ञानेन्द्र गदाल गीत सम्मान प्रदान गरिनेछ।

त्यसैगरी, नेपालतर्फबाट पुरू लम्साल लाई गीतकार सम्मान, तृप्ति खड्का लाई संगीत सम्मान तथा यसोधा पराजुली लाई गायन सम्मान प्रदान गरिनेछ।  डायसपोरा श्रेणी अन्तर्गत अमेरिकाबाट सबु गदाल कार्की लाई डायसपोरा गीतकार सम्मान, डम्बर खापुङ सुब्बा लाई डायसपोरा गायन सम्मान तथा अगम गुरुङ लाई डायसपोरा लोक संगीत सम्मान प्रदान गरिने संघले जानकारी दिएको छ।

सम्मेलन नेपाली गीत संगीत, साहित्य तथा कलाको संरक्षण र प्रवर्द्धनलाई केन्द्रमा राखेर आयोजना हुन लागेको हो। सम्मेलनले विश्वभर छरिएर रहेका नेपाली सर्जकहरूलाई एउटै साझा मञ्चमा जोड्ने विश्वास अध्यक्ष उप्रेतीले व्यक्त गरे।

संघका महासचिव रन खड्का का अनुसार सम्मेलन स्थानीय साहित्यिक संस्था साहित्य कला संगम को संयोजनमा आयोजना हुनेछ। सम्मेलनमा विभिन्न विषयगत सत्र, सांगीतिक प्रस्तुति, साहित्यिक संवाद तथा स्रष्टाहरूबीच अनुभव आदान–प्रदानका कार्यक्रमहरू समावेश गरिनेछन्।

अध्यक्ष डा. उप्रेतीका अनुसार संघको मुख्य उद्देश्य विश्वभर रहेका नेपाली गीतकार, संगीतकार तथा साहित्यिक सर्जकहरूलाई एउटै मञ्चमा समेट्नु, नेपाली कला र संस्कृतिको प्रवर्द्धन गर्नु तथा मौलिक सांस्कृतिक पहिचानलाई नयाँ पुस्तामा हस्तान्तरण गर्नु हो।

यसअघि आप्रवासी गीतकार नेपाली संघ को नामबाट गतिविधि सञ्चालन गर्दै आएको संस्थाले सन् २०२६ देखि कानुनी रूपमा “अन्तर्राष्ट्रिय नेपाली गीतकार संघ (INLA)” का रूपमा दर्ता भई आफ्ना कार्यक्रमहरू अघि बढाएको अध्यक्ष उप्रेतीले जानकारी दिए। कोष संकलन र संगठन सुदृढीकरणलाई प्राथमिकतामा राख्दै संस्थालाई आर्थिक रूपमा दिगो बनाउने लक्ष्य रहेको उनले बताए।

Leave A Reply

Your email address will not be published.