ओएनएफ अमेरिकाले कर दाखिला र आप्रवासन कानूनसम्बन्धी समुदायलाई जानकारी गराउने

घण्टेश्वर अनलाईन
ड्यालस टेक्सस

प्रवासी नेपाली मञ्च अमेरिका (ONF, USA) ले कर दाखिला (Tax Filing) तथा वर्तमान अमेरिकी आप्रवासन (Immigration) सम्बन्धी विषयमा प्रवासी नेपाली समुदायलाई जानकारी गराउने उद्देश्यले अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको छ।

मञ्चले आगामी फेब्रुअरी १, २०२६ का दिन बिहान १०:०० बजे जूम प्रविधि (अनलाइन) मार्फत उक्त कार्यक्रम आयोजना गर्न लागेको जानकारी संघका प्रचार विभाग प्रमुख भुवन अधिकारी ले दिएका छन्। उक्त कार्यक्रम निःशुल्क रहने जनाउँदै ओएनएफ अमेरिकाले अमेरिका स्थित सम्पूर्ण नेपाली समुदायलाई सहभागिता जनाई लाभ लिन आग्रह गरेको छ।

कार्यक्रममा करसम्बन्धी विषयमा कर सल्लाहकार राजेन्द्र सिवाकोटी तथा आप्रवासनसम्बन्धी विषयमा आप्रवासन कानुन व्यवसायी केशब राज सेढाई ले सहजीकरण गर्दै समुदायका विभिन्न जिज्ञासाहरूको उत्तर दिने कार्यक्रम तय गरिएको छ।

प्रवासी नेपाली समुदायलाई कर दाखिला प्रक्रिया, कानुनी दायित्व, आप्रवासन नीतिमा आएका पछिल्ला परिवर्तन तथा व्यवहारिक पक्षबारे स्पष्ट जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ। कार्यक्रममा सहभागीहरूले प्रत्यक्ष रूपमा प्रश्न राखी सम्बन्धित विषयका विज्ञहरूबाट समाधान प्राप्त गर्न सक्ने व्यवस्था मिलाइएको छ।

Leave A Reply

Your email address will not be published.