घण्टेश्वर अनलाइन
हासलेट, टेक्सस
यस वर्षको होली पर्व टेक्ससको ड्यालस–फोर्टवर्थ क्षेत्रमा बसोबास गर्ने नेपालीहरूले शनिबार र आइतबार गरी दुई दिन मनाउने भएका छन्। आफ्नो अनुकूल समय मिलाएर विभिन्न नेपाली संघ–संस्थाहरूले होली मनाउने सम्बन्धी जानकारी सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिरहेका छन्।
नेपालीहरूको बाक्लो बसोबास रहेको हासलेट सिटीको ब्रिजभ्यू कम्युनिटीका नेपालीहरूले यस शनिबार स्थानीय कम्युनिटी पार्कमा सामूहिक रूपमा होली पर्व मनाउने तयारी गरेका छन्। ब्रिजभ्यू कम्युनिटीमा नेपालका हिमाल, पहाड र तराई क्षेत्रका नेपालीहरूको उल्लेखनीय बसोबास रहेको छ।
सबै नेपालीहरू एउटै स्थानमा भेला भएर नेपालको झल्को दिने गरी होली पर्व मनाउने योजना बनाइएको अग्रज समाजसेवी उत्सव अर्यालले जानकारी दिनुभयो। समुदायका सदस्यहरूको समय र सहजतालाई ध्यानमा राख्दै कम्युनिटीमै होली आयोजना गरिएको उहाँले बताउनुभयो।
होली पर्वको अवसरमा रंग लगाएर शुभकामना आदान–प्रदान, विविध सांस्कृतिक कार्यक्रम तथा होली नृत्य प्रस्तुत गरिने कार्यक्रम तय गरिएको छ। आयोजकहरूले आसपासमा रहेका सबै नेपालीहरूलाई कार्यक्रममा सहभागिता जनाई होली पर्वलाई भव्य रूपमा सफल पार्न आग्रह गरेका छन्।