डायस्पोरा लगानीलाई प्रोत्साहन गर्न सरकार प्रतिबद्ध ः कार्यवाहक राजदूत आरन

घण्टेश्वर अनलाईन
ड्यालस टेक्सस
अमेरिकाका लागि कार्यवाहक नेपाली राजदूत शरदराज आरनले नेपाल सरकारले समृद्धि र विकासको यात्रामा नेपाली डायस्पोरालाई साथसाथै लैजाने नीति लिएको बताउँदै निर्धक्क रूपमा लगानीको योजना बनाउन आग्रह गरेका छन् ।
टेक्ससको ड्यालसस्थित नेपाली महावाणिज्य दूतावास र नेपाल अमेरिका पत्रकार संघ (नेजा)द्वारा संयुक्त रूपमा आयोजित “नेपालमा डायस्पोरा लगानी” विषयक संवाद कार्यक्रममा बोल्दै कार्यवाहक राजदूत आरनले नेपालमा राजनीतिक स्थिरता कायम रहेकाले लगानीको अनुकूल वातावरण बनेको उल्लेख गरे। उनले नेपाली डायस्पोराले नेपालमा लगानी गर्ने योजना बनाएमा दूतावासले सहजीकरणमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा उनले जहाँ बसे पनि नेपालीको योगदानबाटै देश समृद्ध हुने धारणा राख्दै प्रवासमा रहेका नेपालीहरूले आफूले कमाएको पूँजी, अनुभव, सीप र विश्वासलाई नेपालको आर्थिक रूपान्तरणमा उपयोग गर्नुपर्नेमा जोड दिए ।
“समुन्नत र समृद्ध नेपाल निर्माणका लागि डायस्पोरालाई आत्मसम्मानसहित बस्न सक्ने वातावरण निर्माण गरी उनीहरूको पुँजी र सीप आकर्षित गर्नुपर्छ,” उनले भने, “नेपाल मेरो भूमि हो, मेरा पुर्खाहरूको पनि हो र आगामी पुस्ताका लागि पनि हो भन्ने भावना जागृत गराउन आवश्यक छ ।”
राजदूत आरनले अन्तर्राष्ट्रिय समुदायको नेपालप्रतिको दृष्टिकोण सकारात्मक बन्दै गएको उल्लेख गर्दै नेपालमा अमेरिकी सहयोग परियोजना एमसिसीको कार्यान्वयनलाई त्यसको उदाहरणका रूपमा प्रस्तुत गरे ।
संवादका क्रममा सहभागीहरूले उठाएका जिज्ञासाको जवाफ दिँदै उनले गैरआवासीय नेपाली नागरिकतासम्बन्धी आवश्यक थप कानुन निर्माण गरी कार्यान्वयनमा देखिएका व्यवहारिक समस्या समाधान गर्नुपर्ने बताए ।
यसैगरी, ड्यालसस्थित महावाणिज्यदूत सुरेश अधिकारीले सरकारले डायस्पोराको ज्ञान, सीप र लगानीलाई विकास प्रक्रियासँग जोड्ने नीति अघि सारेको उल्लेख गर्दै नेपालको विकासका लागि डायस्पोराको लगानी अपरिहार्य रहेको बताए ।
उनले हालैको निर्वाचनपछि बनेको स्थिर सरकारले देशभर नयाँ आशा जगाएको उल्लेख गर्दै समृद्ध नेपाल निर्माणका लागि सबै प्रवासी नेपालीलाई लगानीमा सहभागी हुन आह्वान गरे ।
नेपाल अमेरिका पत्रकार संघ (नेजा)का अध्यक्ष सुरज भण्डारीको अध्यक्षता तथा महासचिव ईश्वरी न्यौपानेको सञ्चालनमा सम्पन्न कार्यक्रममा सहभागीहरूले नेपालमा डायस्पोरा लगानी आवश्यक भए पनि झन्झटिलो सरकारी प्रक्रिया र स्पष्ट नीतिको अभावका कारण लगानीकर्ताहरू उत्साहित हुन नसकेको धारणा राखेका थिए ।
कार्यक्रममा राष्ट्रिय सूचना आयोगकी पूर्व आयुक्त यशोदा तिम्सिनाले नेपालमा डायस्पोरा लगानी आकर्षित गर्न साना तथा ठूला दुवै प्रकारका लगानीलाई समान रूपमा प्रोत्साहन गर्नुपर्ने सुझाव दिइन् ।
सो अवसरमा महावाणिज्यदूतावास ड्यालसका उपमहावाणिज्यदूत धना जोशीले नेपालमा डायस्पोरा लगानीका सम्भावना र अवसरबारे प्रस्तुतीकरण गर्नु भएको थियो ।
कार्यक्रममा टेक्ससका विभिन्न नेपाली व्यवसायीहरू, नेपाली समुदायका अगुवाहरू, पत्रकारहरू तथा दूतावासका अधिकारीहरूको सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.