विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा अमेरिकाको वासिङ्टन डिसीमा अन्तरक्रिया कार्यक्रम

घण्टेश्वर अनलाईन
ड्यालस टेक्सस

यस बर्षको बिश्व प्रेस स्वतन्त्रता दिवस २०२६ नेपाली दूताबास वासिङटन डिसिको सभाकक्षमा आईतबार अन्तरक्रिया कार्यक्रमको आयोजना गरि मनाईएको छ । अमेरिका स्थित नेपाली दूताबास र नेपाल अमेरिका पत्रकार संघ(नेजा)को संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा “प्रेस स्वतन्त्रता, लोकतन्त्र, सुशासन र समृद्धि” तथा नेपाल र अमेरिकामा प्रेस स्वतन्त्रताको पछिल्लो अवस्थाबारे छलफल र अन्तरक्रिया गरिएको थियो ।
कार्यक्रममा सहभागीहरूले लोकतन्त्र, सुशासन र समृद्धिका लागि प्रेस स्वतन्त्रता अपरिहार्य रहेको उल्लेख गर्दै कुनै पनि बहानामा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न नहुने धारणा व्यक्त गरे । वक्ताहरूले प्रेस स्वतन्त्रता अधिकार मात्र नभई जिम्मेवारीसमेत भएको उल्लेख गर्दै सत्य, सन्तुलन र उत्तरदायित्वका साथ यसको प्रयोग हुनुपर्नेमा जोड दिएका थिए ।
सो अवसरमा अमेरिकी मिडियाका जानकार प्रा. डा. च्याड स्टिभेन तथा नेपाली मिडियाका विश्लेषक एवं नेजाका पूर्व कार्यवाहक अध्यक्ष कृष्णप्रसाद शर्माले दुवै देशमा प्रेस स्वतन्त्रताको पछिल्लो अवस्थाबारे प्रस्तुति दिएका थिए ।
अमेरिकाको मिजौरी विश्वविद्यालयका प्राध्यापक तथा अमेरिकी मिडियाका जानकार प्रा. डा. च्याड स्टिभेनले ट्रम्प प्रशासन आएपछि अमेरिकामा प्रेस स्वतन्त्रताको अवस्था सन्तोषजनक नरहेको धारणा व्यक्त गरे।
नेपाली मिडियाका जानकार तथा नेजाका पूर्व कार्यवाहक अध्यक्ष कृष्णप्रसाद शर्माले नेपालमा पछिल्लो समय सामाजिक सञ्जालको बढ्दो दुरुपयोग, फेक न्यूजको प्रभाव तथा मिडियाप्रति सरकारको अनुदारता प्रेस स्वतन्त्रताका अवरोधका रूपमा रहेको बताए।
नेपालमा पछिल्लो समय लोकतन्त्र र प्रेस स्वतन्त्रताको पक्षमा बोल्ने तथा लेख्ने पत्रकारहरूलाई सामाजिक सञ्जालमार्फत आक्रमण तथा मानसिक यातना दिने क्रम बढिरहेकाले अझै पनि संविधान प्रदत्त स्वतन्त्र रूपमा बोल्न र लेख्न पाउने अधिकारका लागि संघर्ष गर्नुपर्ने कुरामा पत्रकार शर्माले जोड दिए ।

कार्यक्रममा अमेरिकाका लागि कार्यवाहक नेपाली राजदूत शरदराज आरनले दूतावासले गरिरहेका कामहरूको बारेमा जानकारी गराउँदै नेपालको समृद्धि र विकासमा जिम्मेवार प्रेसको भूमिका महत्वपूर्ण रहेको विचार व्यक्त गरे ।
नेपालमा नयाँ सरकारसँगै सुशासन, आर्थिक सुधार, पूर्वाधार विकास र समावेशीतातर्फ अग्रसर रहेको उल्लेख गर्दै यी लक्ष्य हासिल गर्न नागरिक, संस्था तथा विश्वभर रहेका नेपाली समुदायको सक्रिय सहभागिता आवश्यक रहेको कार्यवाहक राजदूत आरनको भनाई थियो ।
उनले स्वतन्त्र र जिम्मेवार प्रेस लोकतन्त्रको जीवनरेखा भएको उल्लेख गर्दै यसले नागरिकलाई सूचित गर्ने, संस्थाहरूलाई उत्तरदायी बनाउने तथा पारदर्शिता र सहभागिताको संस्कृतिलाई सुदृढ गर्ने धारणा व्यक्त गरे ।
यस्तै, नेपाल अमेरिका पत्रकार संघका संस्थापक अध्यक्ष गिरिश पोखरेलले नेपालमा पछिल्लो समय प्रेस स्वतन्त्रताको अवस्था सन्तोषजनक नरहेकाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने षड्यन्त्रका विरुद्ध सबै एकजुट हुनुपर्ने बताए।
नेपाली दूतावासका काउन्सेलर अरुणा घिसिङको सञ्चालनमा सम्पन्न कार्यक्रममा बोल्दै नेपाल अमेरिका पत्रकार संघ (नेजा) का अध्यक्ष सुरज भण्डारीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता केवल पत्रकारहरूको मात्र अधिकार नभएको बताउँदै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता बिना लोकतन्त्र बलियो हुन नसक्ने बिचार व्यक्त गरे ।
कार्यक्रममा अमेरिकाका विभिन्न राज्यबाट सहभागी करिब पाँच दर्जन नेपाली पत्रकार, दूतावासका कर्मचारी तथा नेपाली समुदायका अगुवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

Leave A Reply

Your email address will not be published.